एमसीसीविरुद्ध नेकपा एसका विद्यार्थीद्वारा लालटिन जुलुस प्रदर्शन

एमसीसीविरुद्ध नेकपा एसका विद्यार्थीद्वारा लालटिन जुलुस प्रदर्शन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १२, २०७८

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ ।

संसद् भवनअगाडि अनेरास्ववियूले सिट्ठी फुकेर लालटिन जुलुस निकालेका छन् । अध्यक्ष सुदेश पराजुली नेतृत्वको आन्दोलनकारी समूहले एमसीसी खारेजीको माग गर्दै नाराबाजी गरेका छन् । उनीहरूले नेता तथा सांसदहरूलाई दिउँसै लालटिन बालेर सचेत गराएका छन् । 

आज बिहान मात्र गृहमन्त्री खाँणले पराजुलीलगायत आन्दोलनकारी संगठनका नेतृत्वलाई फोन गरेर गठबन्धनलाई असर नपर्ने गरी शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका थिए । 
अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा बानेश्वर क्षेत्र फेरि अशान्त बनेको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथि छलफल हुने बताइएपछि प्रदर्शनकारीले विरोध जनाएका थिए। प्रदर्शनकारीहरूले एमसिसी अनुमोदन गर्न नहुने भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको  ।

एमसिसीको विरोधमा रहेका दलहरूका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले भीडलाई नियन्त्रण गर्नका लागि रबरको गोली, अश्रुग्याँस र पानीको फोहरा प्रहार गरेको थियो । आक्रोशित प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरेका थिए । सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ ।