सशस्त्र प्रहरी परिवार महिला संघ: लुम्बिनी प्रदेशमा महिला स्वास्थ्य सम्बन्धी तालिम

सशस्त्र प्रहरी परिवार महिला संघ: लुम्बिनी प्रदेशमा महिला स्वास्थ्य सम्बन्धी तालिम

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १३, २०७८

काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल ए.पी.एफ.अस्पतालसँगको सहकार्यमा फागुन १२ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेमा महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम र भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार तालिम आयोजना गरेको छ ।

सो प्रशिक्षणमा नेपाल ए.पि.एफ.अस्पतालका गाईनोकोलोजी अन्कोलोजीष्ट प्रा.सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्माचार्य लगायतको टिमले रोगको उपचार विधि तथा महिलाको पाठेघर सम्बन्धी विविध समस्याको समयमा पहिचान नहुँदा आउन सक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा तथा भी.आई.ए., भी.आई.एल.आई. जाँच,सोको पहिचान र उपचारका साथै महिलाको पाठेघर सम्बन्धी रोगको उपचारमा प्रयोगमा आउने उपकरण सम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गर्नुभयो ।

सो प्रशिक्षणमा सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँके, सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँके, नं.३१ गण बर्दिया, नं.४२ रिजर्भ गण सम्शेरगन्ज, नेपाल ए.पि.एफ.स्कुल बाँके र मध्यपश्चिम क्षेत्रीय अस्पताल कोहलपुर बाँकेमा कार्यरत महिला सशस्त्र प्रहरी तथा भू.फु.महिला कर्मचारीहरूका आश्रित महिला सदस्यहरू, स्थानीय महिला दिदिबहिनीहरु गरी ११८ जनाको सहभागिता रहेको थियो । 

सोही अवसरमा लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी बल, नेपालका एकाइहरूमा एम.आई.रुममा कार्यरत स्वास्थ्यकर्मी, र स्थानीय क्लिनिकका स्वास्थ्यकर्मीहरू गरी २१ जनालाई भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार सम्बन्धी तालिम प्रदान गरिएको हो  । 

सशस्त्र प्रहरी परिवार महिला संघले महिलाहरूको पाठेघरमा देखिने विभिन्न समस्याहरूको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले उक्त तालिम तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।