'एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो '

'एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो '

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०७८

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताएका छन् । सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि नेकपा (माओवादी केन्द्र)ले एउटा ठोस निर्णय लिने उनको भनाइ छ ।

गठबन्धनमा आबद्ध भएर पनि माओवादीले सरकारलाई सहयोग नगरेकाले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्नेबारे एमालेसँग सहमति नजिक पुगेको नेता विश्वकर्माले जानकारी दिए । सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले समर्थन नगरेपछि कांग्रेस एमालेसँग नजिकिन लागेको हो । 

नेता विश्वकर्माले आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी सदनमा कसरी प्रवेश गर्ने भन्नेबारे सहमति हुने विश्वास व्यक्त गरे । आज सहमति भएर संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र सकेसम्म आजै एमसीसी अनुमोदन हुन सक्ने उनको भनाइ छ । 

आज प्रतिनिधिसभाका २ वटा बैठक बसेर भए पनि एमसीसी पास हुन सक्ने उनले बताए । ‘सभामुखको स्वार्थ नमिले पनि सरकारले सदनमा अघि सारेको बिजनेस रोक्न मिल्दैन’, विश्वकर्माले भने ।