कंगारूको देशमा समावेशी सिकाइ: प्रशान्त महासागरको छालमा अल्झिएको मन !

कंगारूको देशमा समावेशी सिकाइ: प्रशान्त महासागरको छालमा अल्झिएको मन !

डा. सदानन्द कडेल  |  साहित्य  |  फाल्गुन १३, २०७८

अस्ट्रेलियाली दूतावास काठमाडौंमा बरिष्ठ शिक्षा सल्लाहकारको रूपमा काम सुरु गरेपछि ‘कंगारुको देशमा भ्रमण गर्ने साइत कहिले जुर्ने होला ?’ भन्ने प्रश्न मेरो दिमागमा आइरहन्थ्यो । 
क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी (क्यूयूटी)मा संचालन हुने समावेशी शिक्षासम्बन्धी छोटो कोर्ष तथा तालिममा नेपालबाट पठाइने ९ जना सरकारी र ९ जना गैरसरकारी क्षेत्रका सहभागीहरूको छनोट प्रक्रियामा सहजीकरण गर्दै गर्दा संयोगवस कथाले एउटा नयाँ पात्रको माग गर्‍यो । फलस्वरूप दूतावासले मेरो रहर पूरा गरिदिने ठहर पनि गरिदियो ।    

आफ्नालागि नयाँ देश तथा महादेश अस्ट्रेलियाको पहिलो बिजिनेश क्लासको यात्रा, क्यूयूटीमा समावेशी शिक्षासम्बन्धी हुने सिकाइ तथा संसारको अर्को छेउमा प्रशान्त महासागरमा पौडी खेल्ने इरादाले मन रौसिएको थियो ।  

थाई विमानमा संयोगवस पर्न गएको झ्यालको सिटमा गएर थपक्क बस्नेबित्तिकै बिनम्र भावभंगीसहित ‘प्रि फ्लाइट ड्रिंक’ले स्वागत गरिन् विमान परिचारिकाले । बिजिनेश क्लास यात्राको पहिलो छनक त्यसैबाट मिल्यो । ‘फुल फ्ल्याट बेड’ सुविधासहितको सिट फराकिलो र आरामदायी रहेछ ।

काठमाडौंबाट उडेपछि प्लेनले आफ्नो कोर्ष समातेको ध्वनिमार्फत सूचित गर्नेबित्तिक्कै ड्रिंक्स र लन्चका लागि मेनु बोकेर फेरि आइन् परिचारिका । 

त्यतिबेला मलाई डा. आरजू राणा देउवाले दिनुभएको एउटा अन्तर्वार्ताको स्मरण भयो । उहाँका श्रीमान् पहिलो पटक प्रधानमन्त्री भएको समयमा एउटा टेलिभिजन अन्तर्वार्तामा ‘प्रधानमन्त्रीको श्रीमती भएपछि तपाईंलाई के कुरा रमाइलो लाग्यो ?’ भनेर प्रश्न सोधिएको थियो । त्यसमा उहाँको जबाफ थियो, ‘बिजिनेश क्लासमा यात्रा गर्दा रमाइलो लाग्यो ।’ त्यो कुराले मलाई पनि खुल्दुली लागेको थियो ।  

आरामदायी सिटमा गरिष्ठ लन्चको आनन्द लिँदै, सिनेमा हेर्दै, गीत सुन्दै बैंककमा अवतरण गरियो । त्यहाँबाट राति ११.५५ बजे मात्र अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्नुपर्ने भएकाले प्रशस्त समय थियो ट्रान्जिटमा । त्यो समयलाई सदुपयोग गर्दै सहयात्री साथीहरूसँगको चिनजानलाई झन् गहिरो बनाउने विचार मनमा आयो ।

शिक्षा मन्त्रालयका सहसचिव तथा मेरा पुराना साथी रामप्रसाद उपाध्यायसँग ३३ वर्षअघि बाजुराको मानाकोट स्रोत केन्द्रमा सेती परियोजनाको तालिम सँगै चलाउँदाका क्षणहरूको स्मरण गरियो ।  

अर्का साथी नरबहादुर लिम्बूसँग प्लान इन्टरनेसनलमा हुँदा भएका सहकार्यका कुरा भए । दृष्टिह्विीन लिम्बूजीले यसअघि नै अस्ट्रेलियालगायत अन्य धेरै मुलुकको भ्रमण गरिसक्नुभएको कुरा सुनाउनुभयो ।     

त्यसपछि म साथीहरू के. पी. अधिकारी र दीपावली शर्माको नजिक पुगेँ । मलाई सांकेतिक भाषामा गफ गर्न नआउने हुनाले दोभाषे निकेतन श्रेष्ठले सांकेतिक भाषामा सहजीकरण गरिदिनुभयो । त्यहीँ नै टीकाराम सापकोटा, निर्मला धिताल र अम्मरबहादुर गुरुङसँग पनि भलाकुसारी भयो ।   

अर्कोपट्टि शिक्षा मन्त्रालयका कर्मचारी साथीहरू झुरुप्प एकै ठाउँमा बसेर गफिँदै हुनुहुन्थ्यो । म पनि मिसिएँ अनि नारद धमला, गुणराज पोखरेल, कृष्ण पौडेल, लाजवन्ती दाहाल, उमा बुढाथोकी, विमल निरौला, भक्त सेन्चुरी र राम तामाङसँग पालैपालो बोली मिसाउँदा मज्जा आयो ।  

डा. सुनिता मलेकु र सिजन शाक्यले वाईफाईबाट घरमा सम्पर्क गरिसकेको कुरा बताउनुभयो र प्रक्रियाका लागि सहजीकरण पनि गरिदिनुभयो । मैले पनि घरमा जीवन संगिनीलाई सम्पर्क गरेँ ।  

अलिक भोक लागेको महसुस भएपछि बिजिनेश क्लासको बोर्डिङ पास देखाएर वायल सिल्क लन्जमा पसेँ । त्यहाँ ब्रेकफास्ट, लन्च, डिनर, अल्कोहोलिक तथा अन्य ड्रिंक्स, फलफूल, चिया, कफी आदि आफ्नो इच्छाअनुसार बिजिनेश क्लासकै सुविधामा खान पाइन्थ्यो । त्यसपछि अर्कोपट्टि रहेको थाई मसाज सेन्टरमा निःशुल्क फुट मसाज पनि गराइयो ।   

ब्रिसबेनतर्फ उड्नका लागि प्लेनभित्र पसिसकेपछि फेरि ‘प्रि फ्लाइट ड्रिंक्स’सहितको स्वागत पाइयो । तकिया र ब्ल्यांकेट पनि राम्रा रहेछन् । मोजा, टुथपेस्ट, ब्रस आदिसहितको सरसफाइ किट्स पनि पाइयो । डिनरको गुणस्तर पनि निकै राम्रो थियो ।  

भोलिपल्ट अस्ट्रेलियाली समयअनुसार बिहान ११ बजे ब्रिसबेन विमानस्थलमा अवतरण गरियो । बिजिनेश क्लासको यात्रा भएकाले सुताइमा समस्या पर्ने कुरै थिएन ।  

आगमन कक्षबाट बाहिर निस्किँदै गर्दा क्यूयूटीको तर्फबाट क्याथरिन र डा. नीतिका पोखरेलले स्वागत गर्नुभयो । क्यूयूटीबाट नै पीएचडी गर्नुभएकी नीतिकाजीको यो छोटो कोर्षअन्तर्गत गरिने फिल्ड भिजिटमा सहजीकरण गर्ने जिम्मेवारी रहेछ । अस्ट्रेलियामा कयूयूटीको तर्फबाट नेपालीले नै स्वागत गर्दा उल्कै रमाइलो लाग्यो ।  

हामी नजिकै पुग्नेबित्तिकै ठूलो बसको आधा भागबाट एउटा बक्स जस्तो बाहिर निस्कियो र तल झर्‍यो । त्यो त ह्विल चियरका लागि बनाइएको छुट्टै ढोका पो रहेछ ! ह्विल चियर भित्र लैजाने वा बाहिर निकाल्ने गरिसकेपछि स्विचबाट बन्द गरिने रहेछ । 

आहा ! कस्तो अपांगतामैत्री बस ! ह्विल चियर प्रयोग गर्ने साथीहरू निर्मलाजी र अम्मरजी बिछट्टै रमाउनुभयो । मलाई पनि अत्यन्तै खुसी लाग्यो । सबै जना त्यसको पृष्ठभूमिमा फोटो खिच्न तँछाडमछाड गर्न थाल्यौँ ।  

लिम्बूजी र म हात समातेर बसभित्र पस्यौँ । सिटमा सँगसँगै बस्यौँ । उहाँले भन्नुभयो, ‘हैन हौ सर, गज्जब थियो कि कसो त्यो ? सबै साथीहरू के सारो उत्साहित हुनुभ’को फोटो खिच्न !’ मैले उहाँलाई त्यसको विशेषताबारे बताइदिएँ । बसभित्र ह्विल चियर राख्ने छुट्टै ठाउँ थियो । त्यहीँ नै निर्मलाजी र अम्मरजीका लागि ह्विल चियर राखिएको थियो ।   

क्याथरिनले उभिएर हामी जाँदै गरेको ठाउँ केल्भिन ग्रोभ पुग्न लाग्ने समयबारे बताइरहनुभएको थियो । वरपरको वातावरण रमणीय देखिन्थ्यो । सडकमा खाल्डाखुल्डी पटक्कै थिएन । निकै सफा पनि थियो सडक ।   

ब्रिसबेनमा आफ्नै रफ्तारमा गुडिरहेको बसमा भौतिक शरीर भए पनि मेरो दिमागचाहिँ अनायासै नेपाल पुगेछ । कलंकीमा एउटा ह्विल चियर प्रयोग गर्ने व्यक्तिलाई कन्डक्टरले बसमा चढाउन नमानेकाले घन्टौँ बस कुर्नुपरेको रहेछ । मैले त्यो कुरा थाहा पाएपछि सहजीकरण गर्ने क्रममा जबर्जस्ती गाडीमा घुसाउन खोज्दा कन्डक्टरसँग झगडा परेको घटनाको स्मरण भयो ।   

त्यस्तै, अर्को प्रसंग दिमागमा आयो । धेरै वर्षअघि मेरो पुरानो अफिसमा ह्विल चियर प्रयोग गर्ने साथी गोविन्द खनाल आउनुभएको थियो बैठकका लागि । रिसेप्सनसम्म पुग्न पनि ह्विल चियरलाई उचाल्नुपर्ने थियो ।

मैले ‘भाडाको घरमा यस्तै समस्या छ’ भन्दै ह्विल चियर उचाल्न थाल्दा उहाँले भन्नुभएको थियो, ‘समस्या भाडाको घरमा होइन सर ! हाम्रो दिमागमा छ । दिमागले निर्देशन दिन सकेको थियो भने यहाँ सजिलै र्‍याम्प बनाउन सकिन्थ्यो ।’

यो प्रसंग उल्लेख गर्दै मैले अफिसका २५५ जनालाई नै सम्बोधन गरी एउटा मार्मिक ईमेल गरेको थिएँ । नेपाल व्यवस्थापन समूहले त्यसलाई गम्भीरतापूर्वक लिएर राष्ट्रिय कार्यालय तथा जिल्लाका सबै कार्यालयहरूमा र्‍याम्प बनाउन निर्देशन दिएको थियो ।  

नेपालमा पनि यस्तो अपांगतामैत्री बस कहिले चलाउन सकिन्छ होला ? सरकार चलाउनेहरूले यस विषयमा किन ध्यान दिन नसकेका होलान् ? भन्ने प्रश्नले मलाई सताइरह्यो ।   

‘सर, कता हराउनुभो’ हौ ? बोल्नै पो छाड्नु भो’ त ?’, लिम्बूजीको यो प्रश्न आएर कानमा ठोक्किएपछि म झसंग भएछु । संक्षेपमा आफूले सम्झेको कुरो बताउँदै मौनताको क्षतिपूर्तिको रूपमा सेल्फी खिच्ने कुरो बताएँ ।  

‘साथीहरू, लिम्बू र लम्बुको सेल्फी खिचियो है ?’, भन्दै सेल्फी खिच्न तम्सिँदा सुन्ने साथीहरू गलल हाँस्नुभयो । कालो चस्मा लगाउनुभएका ह्यान्डसम लिम्बूजी पनि हँसिलो मुद्रामा हुनुहुन्थ्यो ।  

हामी तम्तयार भएर बालुवाको तटीय भूभाग पार गर्दै सडक छेउमा आएर पर्खिरहेका बेला साथीहरूको ठूलो समूह पनि आइपुग्यो । एक जना साथीले आश्चर्यचकित भएर सोध्नुभयो, ‘हामी त हात समातेर महासागरमा पस्यौँ । तपाईंहरूलाई देखेनौँ नि ! छालमा खेल्न जानुभएन ? ठूलो अनुभव र आनन्द मिस गर्नुभयो ।’ मैले ‘हामी अन्तै गएका थियौँ’, भनेँ । 

केवल १५ मिनेटमै हामी क्यूयूटी केल्भिन ग्रोभ क्याम्पसमा पुग्यौँ । त्यहीँको क्वेस्ट एपार्टमेन्ट होटलमा सबै साथीहरू इन्ट्री गराएर मैले पनि कोठा नम्बर ४०४ ‘ए’को साँचो लिएँ ।

सानो टीभी, लकर, कपडा आइरन गर्ने ठाउँसहितको एउटा सिंगल बेडरुम; ठूलो टीभी, सोफा, अध्ययन टेबलसहितको ठूलो लिभिङ रुम र त्यसैको एक छेउमा फ्रिज, ओभन, चुह्लो तथा अन्य सम्पूर्ण पकाउने भाँडाकुँडासहितको किचेन र डाइनिङ रुम तथा कपडा धुने र सुकाउने मेसिनसहितको बाथरुम मज्जाको रहेछ ।  

अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा सन् १९८९ मा स्थापित क्यूयूटीमा संसारका १२३ राष्ट्रका ५० हजार विद्यार्थीहरू अध्ययनरत रहेछन् भने ७ हजार प्राध्यापक तथा कर्मचारीहरू कार्यरत रहेछन् । विदेशी विद्यार्थीहरूको संख्या ८ हजार अर्थात् १६ प्रतिशत रहेछ ।

सन् २०१६ मा विश्व विश्वविद्यालय र्‍र्याङ्किङमा २६३ स्थानमा रहेछ क्यूयूटी । २५ लाखभन्दा बढी जनसंख्या रहेको ब्रिसबेन अस्ट्रेलियाको सिड्नी र मेलबर्नपछिको तेस्रो ठूलो शहर रहेछ ।  

पहिलो दिन जेड टु ब्लकको ग्लास हाउसमा कुनै औपचारिक आसन ग्रहणको कार्यक्रम नगरी सोझै सुरु भएको कार्यक्रममा क्यूयूटीका उपकुलपति प्रा. स्कट सेपार्डले स्वागत गर्नुभएको थियो भने शिक्षा संकायका डिन प्रा. क्यारोल निकोलले वक्तव्य दिनुभएको थियो ।

प्रमुख वक्ताको रूपमा चाहिँ कानुनका प्राध्यापक डेस बटलर हुनुहुन्थ्यो । ह्विल चियरमा आउनुभएका प्रा. बटलरको जीवन कथा र सफलता निकै मार्मिक लाग्यो । उहाँले सन् १९९२ मा पीएचडी गर्नु भएको र २३ वटा पुस्तकहरू प्रकाशन गरिसक्नुभएको रहेछ ।  

सहभागीका तर्फबाट श्रीलंकाका माधव देवा सुरेन्द्र र बङ्गलादेशकी लिमिया देवान तथा तालिमका लागि आर्थिक सहायता प्रदान गर्ने संस्था अस्ट्रेलियाली दूतावास नेपालको तर्फबाट मैले मन्तव्य दिएका थियौँ । मैले ‘नमस्ते, गुड मर्निङ, सुभो दिन, सुबा उडे सनक वेना’ भन्दै अंग्रेजी, नेपाली, बङ्गला र श्रीलंकाको भाषामा अभिवादन गरेर आफ्नो मन्तव्य अघि बढाएको थिएँ ।  

अन्त्यमा कोर्षकी संयोजक प्रा. सुजन क्यारिङटनले ‘भोट अफ थ्यांक्स’सहित कार्यक्रमको समापन गर्नुभएको थियो । नेपालबाट १८ जना सहभागीहरू र २ जना सांकेतिक भाषाका दोभाषेहरू, श्रीलंकाबाट १ जना र बंगलादेशबाट ३ जना सहभागीहरू तथा प्रशिक्षकहरूको उपस्थिति रहेको कार्यक्रम एकदम सरल र अनौपचारिक रूपमा फलदायी ढंगले सम्पन्न भएको थियो ।  

उद्घाटन सत्रको कार्यक्रम सकिएपछि ब्रिसबेन नदीको तिरमा रहेको ३९ एडवार्ड स्ट्रिटमा अवस्थित टामफोर्ड प्लाजामा लन्चको लागि गइयो । एक जना सहभागी साथी टीकाराम सापकोटाको ४५औँ जन्मदिन परेकाले रेस्टुरेन्टले नै केक काट्ने प्रबन्ध मिलाएर सबैलाई अचम्भित पारेको थियो । टीकारामजीले केक काट्दै गर्दा सबै स्वदेशी तथा विदेशीले ताली बजाएर ‘ह्याप्पी बर्थ डे’ भनेपछि उहाँ भावविभोर हुनुभएको थियो ।  

दोस्रो दिन बिहानै अपार्टमेन्टबाट प्रस्थान गरेर क्विन्सल्याण्डकै अस्पले विशेष स्कुल र अर्नशा स्टेट कलेजमा अवलोकन गरेर समावेशी शिक्षाबारे व्यावहारिक ज्ञान तथा अनुभव सँगाल्ने मौका पायौँ । त्यसपछि हामीलाई ब्रिसबेनस्थित क्विन्सल्याण्ड राज्यको शिक्षा विभागमा भ्रमण गरी अन्तक्र्रिया र छलफल गर्ने अवसर मिल्यो ।  

शिक्षा विभागकी प्रमुख केरी फ्र्यांकलिनले दिनुभएको प्रस्तुतीकरणमा अस्ट्रेलियाको शैक्षिक सरोकारवालाहरूको लिस्टमा संयुक्त राष्ट्रसंघीय संस्थाहरू युनेस्को र युनिसेफलाई समावेश गर्नुभएको थिएन । अनि, मैले ‘अस्ट्रेलियामा यूएन एजेन्सी शिक्षा सरोकारवालाको लिस्टमा पर्दैनन् ?’ भनेर प्रश्न गरेँ । उहाँले उल्टै प्रश्न गर्नुभयो, ‘किन पर्ने ? अस्ट्रेलियन सरकारले त यूएन एजेन्सीलाई पैसा दिने हो । उनीहरूको पैसा लिने होइन । अनि, कसरी हुन्छ त सरोकारवाला ?’ 

यो भनाइले हामी सबैको मन छोयो । खासमा मानव विकासको सूचकांकमा नर्वेपछि दोस्रो नम्बरमा भएको अस्ट्रेलिया दाता राष्ट्र हो । ‘हाम्रो देश पनि कहिले धनी बन्ला र यूएन एजेन्सी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सरोकारवाला नहुने दिन आउला ? नेपालले अफ्रिकी मुलुकमा शिक्षाका लागि आर्थिक सहायता गर्ने दिन कहिले आउला ?’ दिमागमा यस्ता प्रश्नहरू तरंगित भइरहे ।  

क्विन्सल्याण्ड राज्यले समग्र शिक्षा र समावेशी शिक्षाका राम्रा नीतिहरू बनाएर लागू गरेको रहेछ । समावेशी शिक्षामा नै पीएचडी गर्नुभएकी हाम्रो कोर्षकी संयोजक प्रा. क्यारिङटनले पनि उक्त नीतिहरू निर्माणमा योगदान गर्नुभएको रहेछ ।  

हरेक बालबालिकाको सफलताको मूल मन्त्रसहितको राज्यका विद्यालय सुधार रणनीति पनि बनाइएको रहेछ । हरेक अपांगता भएका विद्यार्थीको सफलता योजना पनि लागू भएको रहेछ । अभिभावकको सूचनाको हक सुनिश्चित गर्न हरेक स्कुलको वेबसाइटमा स्कुलका सूचना तथा गतिविधिहरू हेर्न सकिने रहेछ ।  

्क्विन्सल्याण्डमा अपांगता भएका बालबालिकाका लागि आवासीय विद्यालय रहेनछ बरु आवश्यकताअनुसार शिक्षक तथा परामर्शदाता नै बहुअपांगता भएका बालबालिकाको घरमा पुग्ने प्रबन्ध पनि मिलाइएको रहेछ ।  

सातौँ दिन ‘सामाजिक तथा टिम बिल्डिङ’ कार्यक्रम राखिएको थियो । ‘क्यूयूटी’ लेखिएको रातो टिसर्ट, हाफ पाइन्ट र गोवामा किनेको छत्रे ह्याटसहित एउटा झोला बोकेर होटलको लबीमा म निस्किएँ । अधिकांश साथीहरू नितान्त अनौपचारिक ड्रेसमा हुनुहुन्थ्यो । हाम्रो पथप्रदर्शक निकिताजी आइपुगेपछि हाम्रो बस यात्रा सुरु भयो ।    

रूखै रूखको हरियाली भएको क्यूयूटी परिसरका सडकमा झरेका फूलहरू, पातहरू तथा फोहोर टिप्दै ठूलो ब्रुमरले सफा गरिरहेको थियो । दृष्टिविहीनहरूको सुविधाका लागि फुटपाथमा ट्याकटाइल (स्पर्शनीय) पेटी बनाइएको र जेब्रा क्रसिङमा ट्राफिक लाइट बल्दा आवाज पनि आउने व्यवस्था मिलाइएको रहेछ ।  

झन्डै एक घण्टापछि हामी करम्बिनस्थित टोमविन स्ट्रिटमा २७ हेक्टरमा फैलिएको करम्बिन वन्यजन्तु संरक्षण स्थलमा पुग्यौँ । सुरुमै हामीलाई कोआलाको समूहले स्वागत गर्‍यो । कोआलालाई हामी धेरै जनाले पहिलो पटक नजिकमा देखेका थियौँ । टेडी भालु जस्तै देखिने यो जनावर अचम्मको रहेछ । कोआलाहरू मस्त निद्रामा थिएँ । २४ घन्टामा २० घण्टा सुत्न सक्ने जनावर रहेछ कोआला ।  

लिम्बूजीको सहयोगीको रूपमा अस्ट्रेलियाली जोनले सघाउनुभएको थियो भने केपीजीका लागि निकेतनजी र दीपावलीजीका लागि लक्ष्मीजीले सांकेतिक भषामा दोभाषेको काम गरेर मद्दत गर्नुभएको थियो ।  

विभिन्न खाले सर्पहरू, कछुवा, गोही, छेपारो, चमेरो, खरायो, रेड पाण्डा, वालाबिज, ओम्बट, चराचुरुंगीहरू, पौडी खेलिरहेका हाँसहरू हेर्दै हामी कंगारू भएको क्षेत्रमा पुग्यौँ । ठूला मझौला तथा साना कंगारूहरू चौरमा बुर्कुसी मारिरहेका थिए । कतिपय कंगारूहरू सुतेर घाम तापिरहेका थिए । नजिकै गएर कंगारू जस्तै अभिनय गरेर फोटो खिचाएँ ।
सेल्फी पनि  खिचेँ । पेटको थैलीमा बच्चा बोकेर हिँडिरहेका आमा कंगारूहरूको फोटो पनि खिचेँ । हातले मुसार्दा पनि ज्ञानी भएर बस्दा रहेछन् कंगारूहरू ।  

आफ्नो पेटको थैलीमा बच्चा बोकेका कंगारूलाई देखेपछि मलाई १७ वर्षअघि इजरायलमा प्रारम्भिक बाल विकाससम्बन्धी छोटो कोर्ष गर्दा ‘कंगारू मदर केयर’बारे जानकारी पाएको कुराको स्मरण भयो । कंगारूले आफ्नो पेटको थैलीमा सानो बच्चालाई राखेजस्तै गरी आमाले आफ्नो छातीमा शिशुलाई टाँसेर हेरचाह गर्ने प्रक्रियालाई नै ‘कंगारू मदर कियर’ भन्ने गरिन्छ ।

खास गरेर महिना नपुगी जन्मिएका शिशुको बचावटका लागि यो विधि निकै प्रभावकारी मानिन्छ, जसलाई विश्व स्वास्थ्य संगठनले समेत प्रभावकारी हुने कुरा बताएको छ ।  
वर्षौंदेखिको कंगारूसँग खेल्ने र फोटो खिच्ने अभिलाषा पूरा भएकामा प्रलय नै हर्षित थिएँ म । सबै कुरा बिर्सेर म कंगारूसँगै हराइरहेको थिएँ । जिन्दगीमा उत्पातै आनन्दको अनुभूति महसुस भइरहेको थियो । साथीहरू फोटो खिच्नमा व्यस्त देखिनुहुन्थ्यो । चौपट्टै रमाइरहनुभएको थियो उहाँहरू पनि ।   

यसैबीच एउटा बेन्चमा बसेर बच्चा बोकेर हिँडिरहेका आमा कंगारूहरूलाई हेर्दै एकदम गम्भीर मुद्रामा भावुक हुनुभएकी दीपावलीजीलाई देखेँ । ‘किन सिरियस हुनुभएको दीपावलीजी ? आफ्नो सानो बच्चालाई मिस गर्नुभयो कि कसो ?’, लक्ष्मीजीले सांकेतिक भाषामा उल्था गरिदिनुभएपछि उहाँले भन्नुभयो, ‘२ वर्ष पनि नपुगेकी प्यारी छोरीलाई घरमै छाडेर आउनुपरेकाले यतिबेला धेरै नै मिस गरेकी छु ।’ त्यसपछि साथीहरू मिलेर उहाँलाई खुसी बनाउने प्रयास गर्‍यौँ ।  

कंगारूसँग रमाएपछि हाम्रो टोलीले गोल्ड कोस्टको सर्फर्स प्याराडाइज बिचतर्फ प्रस्थान ग¥यौँ । हरेक कार्यमा सरिक हुन चाहने लिम्बूजीले पुर्वेली गीत सुरु गर्नुभयोः 

‘सबै र बाख्रा उकाली लागे, घोर्ले बाख्रो खोइ भन है झम्के गुलेली !

अरू है आउँदा जेसुकै भन, म आउँदा चैँ ओई भन है झम्के गुलेली !

नारदजी र विमलजीले त्यसमा जमेर साथ दिनुभयो । सबै साथीहरूले थपडी बजाउँदै स्वरमा स्वर मिलाउन थालेपछि मैले पनि सिटमा उभिएर नाचेको अभिनय गरिदिएँ । बसमा एक किसिमको रौनकता छायो । हामी कतै वनभोज जाँदै गरेको हो कि भन्ने लाग्यो । श्रीलंकाली र बङ्गलादेशी साथीहरूलाई उहाँहरूकै भाषामा गीत गाउन पनि अनुरोध गरियो ।  

यात्रामा गीत गाउँदै, रमाउँदै गर्दा पौने घण्टा बितेको पत्तै भएन । गुरुजी टोनीले गाडी रोकेपछि नीतिकाजीले गोल्ड कोस्ट पुगेको जनाउ दिनुभयो । झोलाहरू गाडीमै छाड्दा हुने भनिए तापनि मचाहिँ झोला बोकेरै अघि बढेँ किनकि मेरो झोलामा केही खरखजाना थिए ।  

प्रशान्त महासागरको तटतिर जति अगाडि बढ्यो, त्यति नै मेरो मन फुरुंग हुँदै थियो । मैले २०५७ साउनमा दक्षिण अमेरिकास्थित इक्वेडरको ग्वायाकिलमा जीवनमै पहिलो पटक प्रशान्त महासागरमा पौडी खेलेपछि ‘अब अर्को पटक विश्वको अर्को छेउ अस्ट्रेलियामा रहेको प्रशान्त महासागरमा पौडी खेल्न पाए कति मज्जा हुन्थ्यो होला ?’ भनेर कल्पना गरेको थिएँ । त्यो कल्पनाले मूर्त रूप लिन लागेको हुनाले मेरो भुइँमा खुट्टा थिएन ।  

बाटोमा दायाँबायाँ गगनचुम्बी भवनहरू, प्रशस्तै पसल तथा फुड कर्नरहरू थिए । पर्यटकहरूको घुइँचो थियो । सामुद्री तटको बालुवा कुल्चँदै हाम्रो टोली मान्छेहरूको भीड भएको बिचतर्फ हानियो । तर, मलाई अर्कै विचार फु¥यो । त्यसमा रामप्रसादजीले साथ दिनुभयो । निसंकोच पौडी खेल्ने मनशायले हामी अलिक पर मान्छे कम भएको ठाउँतिर लाग्यौँ ।  

इक्वेडरमा तौलिया, स्विमिङ कस्टम तथा फेर्ने अन्डर गार्मेन्टको अभावले गाह्रो परेको अनुभवले गर्दा यस पटक मैले झोलामा सबै खरखजाना हालेको थिएँ । कपडा खोलेर झोलामा राखी स्विमिङ कस्टम लगाएर बुर्कुसी मार्दै प्रशान्त महासागर छचल्किएर उठेको लहरमा छप्ल्याङ्ग आवाज आउने गरी हाम्फालेँ । आफ्नो शरीरलाई हलुंगो पारेर छाडिदिएँ । सेतो फिँजसहितको छालले बगाउँदै पाखामा ल्याइदिँदा अत्यन्तै मज्जा आयो ।  

इस पटक त म निकै अनुभवी पनि भइसकेको थिएँ छालसँग खेल्न । किनकी यस अघि दक्षिणी प्रशान्त महासागर, इजरायलको मृतसागर तथा भूमध्यसागर, फिलिपिन्सको समुन्द्र, गोवाको अरबियन सी आदिमा तरंगित जल लहरीसँग मित्रता गाँसीसकेको थिएँ ।   

छालसँगै लडिबुडी गरिरहेका बेलामा रामसर बड्डाले मेरो फोटो खिचिदिनुभयो । उहाँले पौडी खेलेको समयमा मैले फोटो खिचिदिएर पर्म तिर्ने काम गरेँ । प्रशान्त महासागरको बेजोडको लहरमा छप्लाङछुप्लुङ गर्दै कुदेर लड्दै गर्दा प्रलय नै आनन्द आयो । घरिघरि त मान्छेलाई नै तान्ने गरी डरलाग्दो खालको छाल आउँथ्यो । त्यतिबेला हामी उठेर छेउतिर सुइँकुच्चा ठोक्थ्यौँ । छाल फर्किन लागेपछि हामी लेखेट्दै जान्थ्यौँ ।  

हामी तम्तयार भएर बालुवाको तटीय भूभाग पार गर्दै सडक छेउमा आएर पर्खिरहेका बेला साथीहरूको ठूलो समूह पनि आइपुग्यो । एक जना साथीले आश्चर्यचकित भएर सोध्नुभयो, ‘हामी त हात समातेर महासागरमा पस्यौँ । तपाईंहरूलाई देखेनौँ नि ! छालमा खेल्न जानुभएन ? ठूलो अनुभव र आनन्द मिस गर्नुभयो ।’ मैले ‘हामी अन्तै गएका थियौँ’, भनेँ । 

त्यसपछि हामी गोल्ड कोस्टकै स्काई प्वाइन्ट अब्जरभेसन डेकमा गयौँ । गगनचुम्बी टावरको ७७औँ र ७८औँ तलामा २३० मिटरको उचाइमा रहेको डेकबाट २ डलर तिरेर दूरविनमार्फत शहर तथा समुद्रको तटीय भूभागको मनमोहक दृश्य अवलोकन गर्दाको मज्जा अर्कै थियो ।

एक साइडबाट आँखाले भ्याएसम्म नीलो महासागरको दृश्य देखिन्थ्यो भने अर्को साइडबाट हेर्दा सुन्दर शहर तथा नदीको किनार । मलाई कताकता पेरिसको आइफेल टावर चढेको झझल्को आइरहेको थियो । 

गोल्ड कोस्टमा पैदलयात्रा पथ, सपिङ मल, तटीय क्षेत्र तथा ७८औँ तले अवलोकन कक्षलाई समेत अपांगतामैत्री बनाएको देख्दा हाम्रो देशमा धेरै काम गर्न बाँकी रहेछ भन्ने अनुभूति भयो मलाई ।  

फर्किंदा सबै थाकेकाले गाडीको वातावरण सुनसान थियो । एक घण्टा पौडी खेल्ने तथा कुद्ने गरेकाले म पनि अग्घोरै थाकेछु र गाडीमा भुसुक्कै निदाएछु ।   

भोलिपल्ट बिहानको सेसनमा रामप्रसाद र माधवले प्रतिवेदन प्रस्तुत गर्दा महासागरमा पौडी खेलेको मेरो फोटो पनि देखाइदिनुभयो । अनि, सर्फर्स प्याराडाइज बिचमा २ जना ‘अन्तै गएको’ कुराको रहस्योद्घाटन भयो !