डा.पुष्करराज भट्टः लघुकथाको पहिलो पिएचडी, अन्तर्मुखी स्वभाव र संघर्षमय शैक्षिक जीवन

डा.पुष्करराज भट्टः लघुकथाको पहिलो पिएचडी, अन्तर्मुखी स्वभाव र संघर्षमय शैक्षिक जीवन

आशिष पौडेल  |  अन्तर्मन्थन  |  फाल्गुन १४, २०७८

एक पटक कक्षा ४ मा पढ्दासँगै पढ्ने साथीहरूले धकेल्दा पुष्करराज भट्टको हातमा चोट लाग्यो । चोट सामान्य होला भन्ने ठाने पनि हात सुन्निएर आएर प्लास्टर नै गर्नुपर्‍यो । वास्तवमा हात भाँच्चिएको नै रहेछ । यसले पढाइमा केही दिन बाधा पनि पुर्‍याएको थियो भट्टको । 

कक्षा ९ मा पढ्दा त्यसबेला कैलाली जिल्लाभरको विद्यालयको हाजिरी जबाफ प्रतियोगिता भएको थियो । त्यसमा टोली नेता हुनुहुन्थ्यो भट्ट । प्रथम भएर उहाँहरूले २ हजार रुपैयाँ प्राप्त गर्नुभएको थियो । यो २०४८ सालको कुरा हो । त्यसबेला २ हजारले रुपैयाँले धेरै महत्त्व राख्थ्यो । 

उहाँ कक्षा १० मा पढ्दा नेपाल रेकक्रस सोसाइटीले आयोजना गरेको कैलाली जिल्लास्तरीय कविता प्रतियोगितामा प्रथम हुनुभएको थियो उहाँ । प्रतियोगितामा कैलाली जिल्लाका १८ वटा विद्यालयले भाग लिएका थिए । कविता ‘मानवता’ शीर्षकमा लेख्न लगाइएको थियो । 

०००

माध्यमिक तहमा पढ्दा हुने वादविवाद, हाजिरीजबाफ, निबन्ध प्रतियोगिता, कविता प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापमा पुष्कर भाग लिने मात्र नभई प्रथम हुनुहुन्थ्यो भने त्यस्ता समूहको नेतृत्व पनि गर्नुहुन्थ्यो । 

९–१० कक्षामा त्यसबेला झण्डै ८० जना विद्यार्थी हुन्थे । छात्राको संख्या २० जति हुन्थ्यो । उहाँले २०४८ सालमा एसएलसी दिनुभएको हो । त्यसबेला एसएलसी दिने लगभग २५० जना थिए । पास भने २०–२१ प्रतिशत मात्र ।

त्यस हिसाबले ४०–५० जना पास भए होलान् भन्ने लाग्छ भट्टलाई । तर, विडम्बना, उहाँ राम्रो पढ्ने भईकन पनि पास हुन सक्नुभएन । उहाँलाई अंग्रेजीले धोका दियो । अंग्रेजीमा विषय लाग्यो । पास हुन उहाँले २०५० साल पर्खनुपर्‍यो । 

एसएलसी पास भएपछि भने उहाँ कैलाली बहुमुखी क्याम्पसमा कमर्स पढ्न थाल्नुभयो । त्यहाँ पनि उहाँलाई अंग्रेजीले धोका दियो र अरू २ वर्ष लाग्यो आईकम पास हुन । 

त्यसपछि भने उहाँ मानविकी पढ्नतिर लाग्नुभयो । यसैबीचमा उहाँ थानको कपडा व्यापारतिर पनि लाग्नुभयो । कपडाको पारिवारिक व्यवसाय १० वर्ष चल्यो । बीए पास भएपछि उहाँ एमए पढ्नका लागि काठमाडौं आउनुभयो । यो २०६४ सालको कुरा हो ।

हुनत उहाँ यसअघि पनि काठमाडौं आउनुभएको थियो २०५४–०५६ सालमा । तर, त्यो लामो बसाइ नभएर संघसंस्थाका सम्मेलनदेखि बिरामी कुरुवाका रूपमा थियो । 

काठमाडौं आएपछि उहाँ त्रिभुवन विश्वविद्यालयमा एमएमा भर्ना हुनुभयो । एमए पास गरेलगत्तै उहाँले एमफिल सुरु गर्नुभयो । त्यसपछि उहाँले पीएचडी पनि दर्ता गर्नुभयो ।

उहाँले नेपालीमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएको छ भने नेपालीमै दर्शनाचार्य (एमफिल, विशिष्ट श्रेणीमा) गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा ‘नेपाली लघुकथामा युगचेतना’ शीर्षकमा २०७३ सालमा विद्यावारिधि गर्नुभएको छ, जुन नेपाली लघुकथामा पहिलो विद्यावारिधिसमेत हो । 

०००

उहाँको प्राथमिक शिक्षा शिवथान प्रावि बैतडीबाट प्रारम्भ भएको हो । कालोपाटीमा खरीले लेखेर भएको हो उहाँको अक्षरको यात्रा । पछि भने बाँसको कलममा आइपुग्यो । त्यसपछि अन्य कलमले पनि उहाँलाई साथ दिँदै गए । उहाँको यो अक्षरको यात्रा हालसम्म पनि निरन्तर जारी छ । 

स्कुल जाँदा कालोपाटी बोकेरै जानुपर्थ्यो, अरू विकल्प थिएन । बस्नका लागि स्कुलमा डेस्कm बेञ्चको व्यवस्था थिएन । सुकुलमा बस्नुपथ्र्यो । उहाँले शिवथानलाई एक कक्षाबाटै बिदाइ गर्नुभयो । 

धनगढी कटानमा रहेको त्यसबेलाको सरस्वती प्रावि र हालको माविबाट उहाँको कक्षा २ को यात्रा अघि बढ्यो । उक्त स्कुलले पनि उहाँलाई धेरै लामो समय टिकाइरहन सकेन । केवल ४ कक्षा पढेर उहाँले त्यसलाई पनि बाईबाई भन्नुभयो । 

कच्ची विद्यालय भवन अनि फुसको छानो भएका कारण पानी आउँदा विद्यार्थी ढोकाको आड लागेर कहिले पानी रहला भनेर प्रतीक्षामा बस्नुपथ्र्यो । स्थिति नाजुक थियो । शिक्षकहरू धेरै केही भारतीय मूलका थिए । उनीहरू साह्रै कडा स्वभावका र हप्काउने, पिट्ने गर्थे । 

स्कुलमा पैसा त तिर्नुपथ्र्यो तर बुबाले तिर्ने हुनाले उहाँलाई कति भन्ने थाहा भएन । कोठाबाट स्कुल आधा घण्टाको पैदल दूरीमा थियो । 

एउटा कक्षामा ३०–४० जना विद्यार्थी हुन्थे । छात्राको संख्या ७–८ हुन्थ्यो । समयका हिसाबले त्यसलाई पनि उल्लेखनीय नै मान्नुुहुन्छ भट्ट । 

४ कक्षापछि फेरि उहाँको स्कुल फेरियो । उहाँ अब पञ्चोदय माविको विद्यार्थी हुन आइपुग्नुभयो । स्कुल राम्रो र व्यवस्थित थियो । भट्टको डेस्क, बेञ्चको रहर पञ्चोदयले मेटिदियो । 

विषयगत दक्ष शिक्षकहरू थिए पढाउने । आवासीय विद्यालयको खासै प्रचलन आइसकेको थिएन । सरकारी स्कुल भएका कारण शुल्क सामान्य नै थियो । 

उहाँका १२ वटा पुस्तक प्रकाशन भएका छन् हालसम्म । नयाँ छिटै प्रकाशनको तयारीमा पनि रहेका छन्, जसमा अनुसन्धानमूलक कृृति ४ वटा छन् । यसबाहेक सम्पादित कृति ८ वटा छन् । २ वटा अनुवादका कृति पनि छन् । 

उहाँ पछाडिको बेञ्चमा कहिल्यै बस्नुभएन । धेरैजसो पहिलो । कहिलेकाहीँ मात्र दोस्रो बेञ्चमा । पहिला पुग्ने पहिलो बेञ्चमा बस्ने प्रायः नियम जस्तै थियो । ढिलो भइहाल्यो भने पनि उहाँ दोस्रो तथा तेस्रो बेञ्चमा बस्नुभयो । तर, कहिल्यै पनि अन्तिम बेञ्चमा भने बस्नुभएन । 

यसका विभिन्न कारण छन्, पहिलो त आफूले जानेको छ भन्ने लागेपछि किन पछाडि बस्नु ? अर्को कुरा शिक्षकले केही सोध्दा पनि निर्धक्क जबाफ दिन सकिन्छ भने किन पछाडि बस्नु भन्ने पनि लाग्दो रहेछ । 
०००

राष्ट्र बैंकका कर्मचारी बाबुका छोरा पुष्करराज भट्ट नेपाली लघुकथामा विद्यावारिधि गर्ने पहिलो नेपाली हुनुहुन्छ । 

उहाँको बुबा राष्ट्र बैंकको प्रधान सहायक हुनुहुन्थ्यो । पछि अधिकृत भएर अवकाश प्राप्त गर्नुभएको हो । यसरी हेर्दा राष्ट्र बैंकको अधिकृतको परिवारका रूपमा सम्पन्न हो कि भन्ने लागे पनि डा. पुष्करराज भट्ट यसलाई नकार्दै भन्नुहुन्छ, ‘होइन, मध्यम वर्गीय परिवार हो ।’

आजभन्दा ४६ वर्ष अगाडि उहाँको जन्म बैतडीमा भएको हो । पछि २०४१ सालमा बैतडीबाट उहाँको बसाइँसराइ धनगढीमा भयो । उहाँ जेठो छोरा । उहाँका एक भाइ तथा एक बहिनी हुनुहुन्छ । 

उहाँ अलिक अन्तर्मुखी स्वभावको हुनुहुन्थ्यो, यस कारण पनि त्यति साथीभाइ भएनन् । त्यसैले होला, उहाँको बाल्यकाल सामान्य नै रह्यो । अरू बालक जस्तो उछलकुद र बदमासी भएन उहाँबाट । अलिअलि खेल्ने भनेको बाल्यकालमा सामान्य नै त हो । 

सानैदेखि उहाँको रुचि भनेको अखबार पढ्ने, रेडियो सुन्ने आदि थियो । त्यस कारण पनि होला, उहाँको सामान्य ज्ञान राम्रो थियो । जिल्लास्तरीय कुनै पनि हाजिरीजबाफ प्रतियोगितामा उहाँ दोस्रो हुनुभएको थिएन । यो क्रम स्कुलमा मात्र नरहेर कलेज पढ्दा पनि रह्यो । 

०००

एमफिल सकिएपछि उहाँ जयमालिका क्याम्पस पढाउन धनगढी जानुभयो । पढाउँदै र पीएचडीको काम पनि सँगै अघि बढिरह्यो भट्टको । ३ वर्ष पढाएपछि भने पीएचडीको कामले भट्टलाई जागिर छाड्नुपर्ने भयो । 

पाठशाला एकेडेमी थापागाउँ, काठमाडौंमा पनि उहाँले पुग नपुग ४ महिना पढाउनुभयो । पीएचडी गरिसकेपछि भने उहाँ पढाउने कामतिर भन्दा पनि अरू सिर्जनात्मक तथा अनुसन्धानात्मक काममा व्यस्त हुनुभयो ।

अब भने उहाँ औपचारिक जागिर नगरेर लेखपढ, अनुसन्धान, अनुवाद, सम्पादन तथा नेपाली साहित्यको समालोचनाका काममा रमाउन थाल्नुभएको छ । अहिले उहाँ गोरखापत्रको डोट्याली भाषाको पृष्ठ हेर्ने गर्नुहुन्छ । 
०००
एसएलसी अनुत्तीर्ण भएपछिका २ वर्ष भने उहाँ धनगढीको सार्वजनिक पुस्तकालय कैलाली जनपुस्तकालयमा नेपाली साहित्यको अध्ययन गर्नुभयो । साथै, नेपाली, हिन्दी र केही मातृभाषा पढ्ने काम पनि गर्नुभयो ।

त्यसले उहाँलाई पढाइ बिग्रियो के गर्ने भन्ने दिक्दारी पनि भएन र त्यसले उहाँमा सिर्जनात्मक चेत जगाउने काम गर्‍यो । 

उहाँको आफ्नै थान कपडाको पसल भएका कारण आर्थिक कारोबार भनौँ वा पैसा चाहिँदा त पसलबाट नै प्राप्त हुन्थ्यो । तर, पारिश्रमिकका रूपमा भने जयमालिका कलेजबाट उहाँले प्रारम्भमा ३ हजार ५०० रुपैयाँ र पछि १० हजार रुपैयाँसम्म पाउनुभएको थियो । 

प्रारम्भमा उहाँले कलेजमा त्यसबेला एउटा कक्षा मात्र लिने गर्नुहुन्थ्यो । पूरा कक्षा लिने गर्नुभएको थिएन । पारिश्रमिकका रूपमा उहाँले पाएको पारिश्रमिक त्यसबेला उहाँको पीएचडीको पढाइ चलिरहेका कारण त्यसमा नै खर्च भयो । पढाउने कुरा गर्दा उहाँले स्कुलदेखि स्नातक तहसम्म नै पढाउनुभएको छ । 

०००

उहाँको पहिलो प्रकाशित रचना भने कविता थियो । भलै, पछि उहाँ कविता भन्दा पनि लघुकथामा धेरै समर्पित हुनुहुन्छ । कैलाली जन पुस्तकालयको मुखपत्र मालिकामा छापिएको समय शीर्षकको कविता उहाँको पहिलो प्रकाशित रचना थियोे । यो २०५६ सालको कुरा हो । 

उहाँका १२ वटा पुस्तक प्रकाशन भएका छन् हालसम्म । नयाँ छिटै प्रकाशनको तयारीमा पनि रहेका छन्, जसमा अनुसन्धानमूलक कृृति ४ वटा छन् । यसबाहेक सम्पादित कृति ८ वटा छन् । २ वटा अनुवादका कृति पनि छन् । 

नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानले ‘नेपालको प्रदर्शनकारी कला’ भन्ने उहाँको पुस्तक प्रकाशन गरेको छ । साथै, नेपाल प्रज्ञाप्रतिष्ठानलगायत विभिन्न प्रकाशन गृहबाट उहाँको पुस्तक प्रकाशन भएका छन् ।

उहाँ केही समयअघिसम्म लघुकथा समाजमा पनि आबद्ध हुनुहुन्थ्यो । नेपाल वाङ्मय परिषद्को अध्यक्ष, नेपाल स्रष्टा समाज, प्रगतिशील लेखक संघलगायत थुप्रै संस्थामा आवद्ध हुनुहुन्छ । तर, अहिले भने संघसंस्थामा भन्दा पनि लेखन तथा अनुसन्धानमै उहाँको समय बित्ने गरेको छ । 

उहाँको एमफिल तथा पीएचडी पनि लघुकथासँग नै सम्बन्धित छ । उहाँको पीएचडी ‘नेपाली लघुकथामा युगचेतना’ शीर्षकमा रहेको छ । उहाँले २०७३ सालमा पीएचडी सम्पन्न गर्नुभएको हो । 

‘नेपाली लघुकथाका प्रवृत्तिहरू’ शीर्षकको उहाँको पुस्तक प्रकाशनको तयारीमा छ । पछिल्लो समय भने हिन्दी साहित्यका उत्कृष्ट कथाको नेपाली अनुवाद गरेर पुस्तक प्रकाशनमा लाग्नुभएको छ भट्ट । हिन्दी लघुकथाका ८६ जना लेखकको लघुकथा नेपालीमा अनुवादको पुस्तक पनि आउँदै छ उहाँको नेपाल प्रज्ञाप्रतिष्ठानबाट । 

उहाँका प्रकाशित एकल कृतिहरूमा कर्मयोद्धा (लघुकथा), युगधारा (निबन्ध), आस्थानायकको अवसान (कथा), मुक्तिदूत (लघुकथा), सुनौलो बिहानी (गजल), एक थोपा सागरको(लघुकथा), सुदूरपश्चिममा मातृभाषा साहित्य (अनुसन्धान), सिर्जनाको सौन्दर्य  (समालोचना), नेपालका प्रदर्शनकारी कला भाग ७ (अनुुसन्धान), जुनकिरीको उज्यालो   (बालकथा) रहेका छन् । 

त्यस्तै, प्रकाशित संयुक्त कृतिहरूमा भने सहयात्रा (संयुक्त कवितासंग्रह), महाकालीका छालहरू (संयुक्त गजलसंग्रह), आजका लघुुकथा (संयुुक्त लघुुकथा कृति) रहेका छन्  ।

सम्पादित कृतिका हकमा भने प्रज्ञा आधुुनिक नेपाली लघुकथा (लघुुकथा), लघुकथाको सुुगन्ध (लघुकथा), आत्माराम ओझा स्मृतिग्रन्थ (स्मृति ग्रन्थ), विनय कसजूका लघुकथा सिर्जना र विवेचना (अनुसन्धान), त्रिआयामका तारा आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थ (अनिनन्दन ग्रन्थ), बहुआयामिक स्रष्टा श्रेष्ठ प्रिया ‘पत्थर’ अभिनन्दन ग्रन्थ (अभिनन्दन ग्रन्थ) छन् । 

घर फर्केका पाइला, (डा. रामनिवास मानवका हिन्दी लघुकथाको नेपाली अनुवाद कृति) लघुुकथा भने उहाँको अनुवाद हो । 

उहाँले थुप्रै अनुसन्धान कार्य पनि गर्नुभएको छ, जसमा सुदूरपश्चिमाञ्चलका थारू लोकगीतको अध्ययन (नेपाल प्रज्ञाप्रतिष्ठान), पारिजातको अध्ययन परम्परा (एमए शोध), उत्तरवर्ती नेपाली लघुकथामा व्यङ्ग्य (एमफिल शोध), नेपाली लघुकथामा युुगचेतना (विद्यावारिधि), नेपाली लघुुकथाको परम्परा र प्रवृत्ति, (मदन पुुरस्कार पुुस्तकालयको जगदम्बा नेपाली साहित्यको इतिहास परियोजनाअन्तर्गत कार्य गरेको), तथा नेपालका प्रदर्शनकारी कला (भाग ७), नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानको अनुुसन्धान परियोजनाअन्तर्गत कार्य गरेको, प्रज्ञा नेपाली लोककथा (नेपाल प्रज्ञाप्रतिष्ठान) आदि छन् । 

साहित्य सुधा (मुखपत्र), मालिका, सुरभि, समकालीन साहित्य,  साहित्यकार परिचय कोष (सु.प.का साहित्यकारको परिचय कोष नेपाली लघुुकथा (लघुुकथा समाज), स्रष्टा दर्पण (नेपाल स्रष्टा समाज)को उहाँले सम्पादनसमेत गर्नुभएको छ । 

०००

उहाँ २०७० सालमा युवा वर्ष मोती पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । युवा वर्ष मोती पुरस्कार नेपाली साहित्य सिर्जनामा लाग्ने युवालाई दिइने उच्च पुरस्कार मानिन्छ । पहिले विकास क्षेत्र रहँदा उहाँले क्षेत्रीय प्रतिभा पुरस्कार, २०७० पनि प्राप्त गर्नुभएको छ । 

उहाँले सन् २०१८ मा भारतको हरियाणाबाट अन्तर्राष्ट्रि लघुकथा पुरस्कार पनि प्राप्त गर्नुभएको छ । पुरस्कारको रकम ११ हजार भारु साथै सम्मानपत्र पनि थियो । त्यसबेला उत्तर भारतका २५ वटा पत्रिकाले उहाँका बारेमा समाचार प्रकाशन गरेका थिए ।  

त्यसबेलाको सम्बन्धका कारण होला, उहाँको भारतका लघुकथा लेखकहरूसँग राम्रो सम्बन्ध छ र अहिले पनि उहाँहरू कार्यक्रम गरिरहनुहुन्छ ।  

पुरस्कार र सम्मानका कुरा गरिरहँदा उहाँले हेमन्ती(गणेश स्मृति पुरस्कार, क्षेत्रीय प्रतिभा पुरस्कार (सुदूरपश्चिमाञ्चल) नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा वर्ष मोती पुरस्कार, मनुुमुुक्त मानव स्मृति सम्मान, मनुुमुुक्त स्मृति प्रतिष्ठान, हरियाणा) (भारत ) लघुकथा सम्मान (लघुकथा समाज नेपाल), भानुु स्वर्ण पदकलगायत अन्य थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । 

त्यसका अलावा उहाँले लघुुकथा समाज, काठमाडौंबाट प्रदान गरिएको पद्मा–रामचन्द्र लघुकथा सम्मान (१ लाख ५ रुपैयाँको अक्षकोषसहित), नेपाली वाङ्मय साधना सम्मान (नेपाल वाङ्मय परिषद्, कैलालीबाट प्रदान गरिने), राधिका–गोपालदत्त अन्तर्राष्ट्रिय लघुकथा सम्मान (१ लाख ५० हजारको अक्षकोषसहित) स्थापनासमेत गर्नुभएको छ ।