'एमसीसीलाई इन्डो प्यासिफिकको अंग बनाएको ओली सरकारले हो'

'एमसीसीलाई इन्डो प्यासिफिकको अंग बनाएको ओली सरकारले हो'

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०७८

 काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता यथास्थितिमा पारित हुन नसक्ने दावी पुनः दाहोर्‍याएका छन् ।

 नेकपा एकीकृत समाजवादी निकट प्राध्यापक संघ एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउनका निमित्त ओली सरकारले सम्झौता गरेको र त्यो षडयन्त्रलाई भत्काएको उनले दावी गरे । 

नेपालले विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने बताए । सरकारभन्दा देश र जनताको स्वाभिमान ठुलो कुरा हुने उनको भनाइ छ । नेपालले भने, ‘एमसीसीलाई इन्डो प्यासिफिकको अंग बनाएको केपी ओलीको सरकारले हो । ओली सरकारका मन्त्री प्रदीप ज्ञवालीले यस्तो कागजमा सही गरेर आएका हुन् । 

हामीले जोडदार विरोध गरिसकेपछि अहिले बाइडेनको सरकारले त्यसबाट नेपालको नाम काट्न लगाए । नत्र त केपी ओलीले सिद्ध्याइसकेका थिए नेपाललाई ।’ नेपाल कुनै पनि देशको सुरक्षा रणनीतिको अंग बन्न नसक्ने नेपालले स्पष्ट पारे । छिमेकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने पनि उनको भनाइ थियो ।

यद्यपि, एमसीसी सम्झौता निःशर्त हुनुपर्छ भनेर आफूहरूले नभनेको नेपालले बताए । उनले भने, ‘जुन उद्देश्यका लागि अनुदान दिइएको छ, त्यसमै खर्च हुनुपर्छ भन्ने कुरालाई चाहिँ अनुचित मान्नु हुँदैन ।’ नेपालले एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरू प्रति गरेको व्यवहार प्रति आपत्ति जनाए । उनले यसलाई आपराधिक मानसिकताको संज्ञासमेत दिए । आफूहरूका लागि सरकारभन्दा देश र जनता ठुलो हुने उनको भनाइ छ ।