व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयले माओवादीभित्र बढायो असन्तुष्टि

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयले माओवादीभित्र बढायो असन्तुष्टि

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १५, २०७८

नेकपा (माओवादी केन्द्र)ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । 

माओवादीका केही नेताहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै गम्भीर असहमति प्रकट गरेका छन् । 

‘५ दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनुभएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ’, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत असन्तुष्टि जनाएका छन् । 

माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने र संशोधन नगरे संसदमा हुने मतदानमा विपक्षमा मतदान गर्ने अडान माओवादीको थियो । 

तर, एमसीसीकै कारण सत्ताबाट बाहिरिनुपर्ने अवस्था आएपछि माओवादीको आइतबार बिहान बसेको बैठकले व्यख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

‘आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौँ । यो महाधिवेशनको विरुद्ध छ  र गलत छ’, श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।  
माओवादी केन्द्रका अर्का नेता लीलामणि पोखरेलले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् । 

पार्टीको निर्णयपछि कुरा गर्दै एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने उनले बताए । 

‘एमसीसीमा व्याख्यात्मक घोषणासहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्छ । यो व्याख्याले सम्झौता संशोधन वा परिमार्जनमध्ये आफूहरूको माग पूरा हुँदैन’, पोखरेलले भने ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केही नेताहरू पनि असन्तुष्ट रहेको तर आफूले नाम भन्न नचाहेको पोखरेलले बताए ।