वैरागी काइँला, गीता केशरी र ध्रुवचन्द्र गौतमलाई अभिनन्दन

वैरागी काइँला, गीता केशरी र ध्रुवचन्द्र गौतमलाई अभिनन्दन

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन १५, २०७८

काठमाडौँ । साहित्यकारहरू वैरागी काइँला, गीता केशरी र ध्रुवचन्द्र गौतमलाई अभिनन्दन गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ४ का स्थायी बासिन्दा उनीहरूलाई वडा कार्यालयको आयोजना र मुक्तक सागरको सह आयोजनामा संयुक्त रुपमा अभिनन्दन गरिएको हो । 

वडामा बसेर साहित्यको माध्यमबाट राष्ट्रको हित गरेको भन्दै उनीहरूलाई कदर पत्र, दोसल्ला, माला र नगद ५० हजारले पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनीहरूलाई अभिनन्दन गरे । अभिनन्दित स्रष्टाहरूको बारेमा साहित्यकार दुबसु क्षेत्रीले विस्तृत परिचय गराएका थिए । 

वडा नं. ४ का वडाध्यक्ष मोहनबहादुर विष्टको सभापतित्वमा भएको कार्यक्रमको विशेष अतिथिमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, अतिथिहरूमा सोही वडाका बासिन्दा प्रा. दिनेशराज पन्त, प्रा.डा. हेमनाथ पौडेल, साहित्यकार कृष्ण धरावासी लगायत रहेका थिए । 

मुक्तक सागर मासिक पत्रिकाकी सम्पादक निशा केसीको संयोजकत्वमा भएको सो कार्यक्रममा वडा नं. ४ मा स्थायी बसोबास गर्ने अधिकांश स्रष्टाहरूलाई समेटिएको थियो । कार्यक्रममा दर्जनौँ साहित्यकारहरूलाई मायाको चिनोसहित सम्मान पनि गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ईश्वर पोखरेलले जनप्रतिनिधिले विकास निर्माण र राजनीतिका मात्रै काम गर्ने गरेको उल्लेख गर्दै यो वडाले स्रष्टा सम्मान गरेर उदाहरणीय काम गरेको बताए । राजनीतिले मान्छेलाई विभाजन पनि गर्ने उल्लेख गर्दै, भाषा, साहित्य, संस्कृति र कलाले मान्छेलाई जोड्ने उनले बताए । स्रष्टा सम्मान कार्यक्रमले वडा बासी स्रष्टामा परिचय स्थापित गर्न सहयोग पुग्ने भन्दै उनले जनतामा सकारात्मक सन्देश जाने पनि उल्लेख गरे । उनले अभिनन्दित स्रष्टाहरूसँगको सामीप्यको संस्मरण पनि गरे । कार्यक्रममा उनले ‘जीवन र मृत्यु’ शीर्षकको कवितासमेत वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा बोल्दै विशेष अतिथि तथा काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले यस्तो कार्यक्रम सबै वडाहरूले गर्नुपर्ने उल्लेख गरे । यस्तो कार्यक्रमले वडा बासी स्रष्टाहरूको सम्मान मात्रै नभएर जनता र जनप्रतिनिधिलाई जोड्ने पनि बताए । साहित्यकारहरू नयाँ विचारको सर्जक भएको भन्दै मेयर शाक्यले महानगरपालिका र वडालाई उचित सल्लाह, सुझाव र योजना दिन पनि आग्रह गरे ।

कार्यक्रमका अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले आफू पनि यही वडाको बासिन्दा भएकोले वडाले गरेको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । वडाले स्तुत्य काम गरेको भन्दै राजनीतिले मात्रै समाजको रूपान्तरण नगर्ने उनको भनाई थियो । कला र साहित्यको विकास गर्न सके मात्रै समाज रूपान्तरणले सही मानेमा गति लिने उनको भनाई थियो । यो कार्यक्रम सबै वडामा र अन्य पालिकाहरूका लागि पनि उदाहरणीय भएको उनले बताए । साहित्यकारहरूलाई जनप्रतिनिधिहरूले सम्झिनु राम्रो कुरा भएको बताउँदै उनले आयोजक र सह आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

सम्मान ग्रहण गरेपछि आफ्नो मन्तव्य राख्दै साहित्यका गीता केशरीले आफ्नै वडामा सम्मानित हुन पाउँदा खुसी लागेको बताइन् । महानगरले साहित्यको प्रवर्द्धन र विकासमा पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै उनले प्रशंसा गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा सहभागीहरूलाई वडा सदस्य ध्रुव त्रिपाठीले स्वागत गरेका थिए भने साहित्यकार कृष्ण धराबासीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । यसैगरी कार्यक्रममा सम्मानित स्रष्टाको तर्फबाट साहित्यकार तथा प्राज्ञ ज्ञानु पाण्डेले मन्तव्य राखेकी थिइन् । कार्यक्रममा सहभागी, अभिनन्दित व्यक्तित्वहरू, आयोजक, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा सहभागीहरू र सहयोगीहरूलाई कार्यक्रम संयोजक निशा केसीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, विजयध्वज थापा, शैलेन्द्र कुमार शाह र रुद्र अधिकारीले मुक्तक वाचन गरेर सुनाएका थिए ।