महिला क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

महिला क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन १५, २०७८

ललितपुर मेयर महिला टी- २० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सुदूरश्चिम प्रदेश र विभागीय टोली एपीएफ क्लब भिड्ने भएका छन् । 

आइतबार कीर्तिपुरस्थित टीयु मैदानमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिमले फाइलनमा एपीएफसँगको भेट पक्का गरेको हो । 

सुदूरपश्चिमले दिएको १२९ रनको विजयी लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९० रनमा सीमित भयो । लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक २३ रन बनाइन् । यस्तै, आश्मा पुलामी मगरले २२ र लक्ष्मी चौधरीले १० रन बनाए । सुदूरपश्चिमका कविता कुुँवर र सम्झना खड्काले समान २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२८ रनको योगफल तयार पार्‍याे। 

सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक ४२ रन जोडेकी थिइन् । यस्तै, ऋतु कनोजियाले ३३, कविता जोशीले ३२ र कविता कुँवरले १० रन बनाइन् । लुम्बिनीकी नेरी थापाले ३ विकेट लिँदा कृतिका मरासिनी र मधु डीसीले समान १ विकेट लिए ।

४ खेलमा ३ जीत र १ हार बेहोरेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ३ खेलमा जीतविहीन लुम्बिनी पुछारमा छ । समान ३ खेलमै सत प्रतिशत अंक जोडेको एपीएफ क्लब शीर्ष स्थानमा छ ।