महाशिवरात्री पर्व: ट्राफिक व्यवस्थापनका लागि ९०० ट्राफिक परिचालन गरिदै

महाशिवरात्री पर्व: ट्राफिक व्यवस्थापनका लागि ९०० ट्राफिक परिचालन गरिदै

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १६, २०७८

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र भक्तजन र दर्शनार्थीको उपस्थितिको अवस्था हेरेर ट्राफिक व्यवस्थापन गर्ने जानकारी दिएको छ । 

ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रवन्ध मिलाएको जानकारी दिए । 

धेरै टाढाबाट आउने भक्तजनहरुको सुविधाका लागि निर्र्वाध आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिएका उनले   गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको बताए ।

अन्य नियमित दिनझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरुको भिडभाड अत्याधिक भई सवारी संचालनमा समस्या हुने अबस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने एसएसपी जोशीले बताए । 

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क–गौशाला–तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइने उनको भनाइ छ । 

विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एव भक्तजनहरुका सवारी साधनहरुलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्र कोष तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालय भित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र वनकाली क्षेत्रमा अन्य अत्याबश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।