नागरिक आन्दोलनप्रतिको बेवास्ता सरकारका लागि महँगो

नागरिक आन्दोलनप्रतिको बेवास्ता सरकारका लागि महँगो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

काठमाडौं । सरकारले संघीय संसदमा पेस गरेका विवादास्पद तीन विधेयकलाई फिर्ता लिने वा सच्याउने तत्परता नदेखाए आन्दोलनकारी नागरिक समाजका अगुवाहरु लोकतन्त्रका क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय निकायलाई ऐक्यबद्धताका लागि आमन्त्रण गर्ने भएका छन् ।

‘हामी सडकमा उत्रिसक्यौं, अब माग पूरा नभई फर्किने ठाउँ छैन’, यस अभियानको अगुवा संस्था नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले भन्नुभयो– ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हनन मानवअधिकार र लोकतन्त्रविरुद्धको प्रहार हो, त्यसैले यो अन्तर्राष्ट्रिय मुद्दा बन्छ, आइतबार बस्ने हाम्रो बैठकले अन्तर्राष्ट्रिय समुदायमा जाने मोडालिटीका बारेमा छलफल गर्दै छ ।’

हाल सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐनको संशोधन गर्न बनेको विधेयक र सामाजिक संघसंस्था ऐनको संशोधनका लागि ल्याइएको विधेयक संघीय संसद्मा पेस गरेको छ । यी विधेयक फिर्ता गर्न वा यसका प्रावधान सच्याउन माग गर्दै संयुक्त नागरिक अभियानले विरोध कार्यक्रमको आयोजना गर्दै आएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।