थुनिँदै महाकालीको बहाव : भारतमा निर्माण नेपालमा क्षति

थुनिँदै महाकालीको बहाव : भारतमा निर्माण नेपालमा क्षति

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

दार्चुला । दार्चुलाको उत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ। भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो। सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ। विस्फोटले ठूल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ।

विस्फोटका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस गाउँपालिका–१ का दानसिंह तिंकरीले बताए। तिंकरीका अनुसार व्याँस गाउँपालिका–२, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ–ठाउँमा क्षतिग्रस्त भएको छ। विस्फोट गराएर पहाड फुटाउँदा खसेको ढुंगामाटोले करिब १० किलोमिटर क्षेत्रको ठाउँठाउँमा महाकाली नदीको बहाव अवरुद्ध भई नेपालतर्फको बाटोमा क्षति पुगेको व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहोराले बताए।

व्यास गाउँपालिकाले गत वर्ष र चालु वर्षमा मर्मत गरेको व्याँस जोड्ने पैदलमार्गमा क्षति पुगेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष धीरनसिंह बुढाथोकीले बताए। गाउँपालिकाले मर्मत गरेको पैदलमार्गअन्तर्गत घाटिबगड क्षेत्र डुबानमा परेको छ। उनले भने, ‘त्यसक्षेत्रमा यतिबेला आवतजावत बन्द भएको छ।’ आजको नागरिक दैनिकमा खबर छ ।