डा. खगराज बरालको ‘दर्शन, शिक्षा र आचरण’ पुस्तक बजारमा

डा. खगराज बरालको ‘दर्शन, शिक्षा र आचरण’ पुस्तक बजारमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन १८, २०७८

 शिक्षा क्षेत्रमा नियमित कलम चलाइरहने डा। खगराज बरालको नयाँ पुस्तक ‘दर्शन, शिक्षा र आचरण’ नामको पुस्तक २०७८ साल माघदेखि बजारमा आएको छ । माध्यमिक विद्यालयका शिक्षकदेखि शिक्षा मन्त्रालयको सचिवसम्मको जिम्मेवारी निर्वाह गरेका बरालका यस अघि पनि शिक्षासम्बन्धी थुप्रै पुस्तक प्रकाशित छन् ।

शिक्षाका सिद्धान्त, नीति, कार्यान्वयनका सम्बन्धमा मिहिन विश्लेषण गर्न रुचाउने बरालका दर्शन, शिक्षा र आचरण (२०७८), ‘सिकाइ र सहयोग’ (२०७६), ‘शिक्षाको दर्शन, नीति र व्यवहार’ (२०७५), ‘सिकाउने शैली’ (२०७५), ‘शिक्षा र सिकाइ: सन्दर्भ विदेशको प्रसङ्ग नेपालको’ (२०७४), ‘शैक्षिक दृष्टार्थ’ (२०७३), ‘केही शैक्षिक प्रबन्ध’ (२०७१), ‘शैक्षिक विमर्श वर्तमान अवस्था र सुधारका लागि मार्गचित्र’ (२०६९), ‘केही शैक्षिक मुद्दाहरू’ (२०६८), ‘शिक्षा विकासका नवीन आयामहरू’ (२०६७) जस्ता पुस्तक प्रकाशित छन् ।

 ‘दर्शन, शिक्षा र आचरण’ पुस्तकमा दुई खण्ड रहेका छन् । पहिलो खण्ड दर्शन र आचरणसँग सम्बन्धित छ । यस खण्डमा पूर्वीय दर्शन र आचरण, सदाचार र सुशासनमा वैदिक पुराणको सन्दर्भ, प्रकृति, संस्कृति र संस्कार र दर्शन, आचरण र राष्ट्रसेवक गरी चार ओटा अनुसन्धानमूलक लेख रहेका छन् ।

दोस्रो खण्ड प्राचीन र अर्वाचीन शिक्षासँग सम्बन्धित छ । यस खण्डमा वैदिक तथा पौराणिक गुरुकुल शिक्षा, आर्ष महाकाव्य र उत्तरवर्ती साहित्यमा गुरुकुल, गुरुकुल र गुरुकुलको दिनचर्या, प्राचीन विश्वविद्यालय, विश्वविद्यालय र कुलपति, सार्वजनिक शिक्षाप्रति चिन्ता र चासो, सार्वजनिक परीक्षा र यसको अभ्यास, शिक्षा, रोजगार र नेपाली मानसिकता, राष्ट्रसेवकको सेवा सुविधामा विभेद: निजामती र विद्यालय शिक्षा सेवाका केही दृष्टान्त, बालबालिकाले गर्ने गल्ती र सजायका वैकल्पिक उपायहरू, विद्यालय तहमा दिवा खाजा कार्यक्रम कार्यान्वयन: एक नयाँ नमुना, महामारी र शिक्षा, कोभिड १९ र विद्यालय शिक्षा र विद्यालय शिक्षाको शैक्षिक सत्रको क्षतिलाई जोगाउने तरिका गरी चौध ओटा अनुसन्धानमा आधारित लेखहरू छन् ।

शिक्षामा चासो राख्ने, शिक्षा क्षेत्रमा अनुसन्धान गर्न चाहने, विश्वविद्यालयका विद्यार्थी तथा शिक्षक र प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन चाहने सबैका लागि यो पुस्तक उपयोगी देखिन्छ । कुल २२८ पृष्ठको यो पुस्तकका मूल्य ३६० रुपैयाँ रहेको छ । यो पुस्तक भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको हो । नेपाल राज्यभरका पुस्तक पसलमा यो पुस्तक उपलब्ध भएको भुँडी पुराण प्रकाशनले जनाएको छ ।