अझै उठ्न सकेन लाप्ची

अझै उठ्न सकेन लाप्ची

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

दोलखा । २०७२ सालको भूकम्पले तहसनहस पारेको सीमावर्ती हिमाली गाउँ लप्ची अझै उठ्न सकेको छैन। घर बनाउन आवश्यक जनशक्ति र निर्माण सामग्री लैजाने बाटोको अभावले लप्चीमा पुनर्निर्माण सुरु हुन नसकेको हो। सदरमुकाम चरिकोटदेखि ६७ किलोमिटरको दूरीमा रहेको लामाबगर गाउँबाट उता दुई दिनको पैदलयात्रापछि मात्र बिगु गाउँपालिका–१ स्थित लप्ची गाउँ पुगिन्छ। लामाबगरभन्दा उता लुम्नाङ र लप्ची गरस् दुईवटा मात्र बस्ती छन्। जाडो याममा लुम्नाङ झर्ने र गर्मी चढेपछि लप्ची उक्लिने भएकाले दुवै बस्तीका मानिसहरू उही नै हुन्।

गत साता मात्र बस्ती निरीक्षण गरेर फर्किएका गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले ३४ घरधुरीमध्ये एउटाको पनि पुनर्निर्माण हुन नसकेको जानकारी दिए। गाउँ पुग्ने बाटो अप्ठ्यारो भएकाले निर्माण सामग्री ओसार्न समस्या परेको र घर बनाउने जनशक्तिको अभाव भएको हुँदा पुनर्निर्माण अघि बढ्न नसकेको उनको भनाइ छ। ‘लामाबगरबाटै त्यहाँ पुग्न पहाडैपहाड छिचोलेर दुई दिन हिँड्नुपर्छ,’ उनले भने, ‘मान्छे मात्र हिँडेर पुग्नै त सकस पर्छ, त्यस्तो ठाउँमा निर्माण सामग्री बोकाएर पु-याउनु त झनै कठिन हुन्छ।’ लाभाग्राही सूचीमा परिवारबाट छुट्टिएर घुरधुरी कायम भएका केहीले लुम्नाङमा घर बनाए पनि लप्चीमै चाहिँ एउटा पनि घर बन्न नसकेको उनले सुनाए। अघिल्लो वर्ष गाउँभरिका सबै मिलेर घर बनाउन खोज्दा काठ नपाइएको र सदरमुकामबाट निर्माण सामग्री ल्याउन नसकिएको स्थानीय ज्येष्ठ नारिक आङदुक्टुप शेर्पाले बताए। आजको नागरिक दैनिकमा खबर छ ।