अवैध क्रसर उद्योगमा विद्युत् काटियो

अवैध क्रसर उद्योगमा विद्युत् काटियो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

बर्दिया । कोठिया घाटस्थित देशकै लामो पुलसँग जोडिई गजुरमुखी निर्माण कम्पनीद्वारा स्थापित क्रसर उद्योगको शनिबार जिल्ला प्रशासन कार्यालयबाट खटिएको प्रशासकीय अधिकृतको टोलीले विद्युत्को लाइन काटेको छ। उद्योगले जिल्लाको विकासको नाममा निर्माण सामग्री (गिट्टी, ढुंगा र बालुवा) अन्यत्र बिक्री गरेको खुलेपछि सो टोलीले विद्युत् लाइन काटेको हो।

के कति परिमाणमा उद्योगले बिक्री र मौज्दात गरेको छ भन्ने लेखाजोखाको अनुसन्धानका लागि लाइन काटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए। ‘जिल्लाको विकासमा निर्माण सामग्री प्रयोग गर्ने उद्देश्यले उद्योग सञ्चालन भएको हो,’ उनले भने, ‘तर उद्योगले बाहिरी जिल्लामा निर्माण सामग्री वितरण गरिरहेको पाइएको छ।’

पाँच महिनाअघि स्थापित उद्योग अवैध रूपमा सञ्चालन भइरहेको थियो। सो पुलदेखि कम्तीमा पाँच सय मिटरमा स्थापना गर्नुपर्ने बाध्यकारी नियम क्रसर उद्योगको हकमा लत्याइएको छ। उद्योग पुलको दक्षिणतर्फको पिलरसँगै जोडिएको छ। विद्युत्का लागि चोर बाटो अपनाएर ट्रान्सफर्मर जडान भएको छ।

उद्योग सञ्चालन गर्दा सबै प्रक्रिया पूरा गरेपछि मात्र विद्युत् प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराउने नियम छ । उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योगले पनि इजाजत दिएको छैन । सो उद्योगले एउटा नगरपालिकाले आह्वान गरेको मधुवन नगरपालिकासँगको मिलेमतोमा अर्कैको ठेक्काबाट निर्माण सामग्री ल्याइरहेको स्थानीय बताउँछन्। नागरिक दैनिकले यो समाचार प्रकाशित गरेको छ ।