'आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ'

'आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ'

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७८

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताए ।

‘सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउँछ, यस विषयमा २-४ दिनभित्र पार्टीको बैठक बसेर छलफल गर्छौं । सत्ता गठबन्धलाई चुनावसम्मै निरन्तरता दिने नदिनेबारे गठबन्धनमा आबद्ध पार्टीहरूले बेग्लाबेग्लै छलफल गरेर मात्र सत्ता गठबन्धनले निर्णय लिने आजको गठबन्धनको बैठकमा सहमति भएको छ’, यादवले भने । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभा बैठकबाट अनुमोदन भएपछि सत्ता गठबन्धन बलियो भएको ठानिएको छ । एमसीसी कार्यान्वयनमा लैजान गठबन्धनमा आवद्ध दलहरू एकै ठाउँमा उभिने निर्णय गरेका छन् ।

तर, एमसीसी प्रतिनिधिसभा बैठकबाट ब्याख्यात्मक अनुमोदन गरेको प्रति नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)भित्र खटपट भएको छ । पार्टीभित्रको खटपट हटाएर समान धारणा तय गरेपछि मात्र सत्ता गठबन्धनलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय लिने गठबन्धनले रणनीति बनाएको छ ।  

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, संसदीय दलका मुख्य सचेतक देव गुरुङ, नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेललगायतका नेताहरूले संसद्‌बाट ब्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन भएको प्रति असन्तुष्टि जनाएका छन् । एमसीसीको विपक्षमा रहेका कारण उनीहरू पार्टीभित्रै छुट्टै छलफल गरिरहेका छन् ।

असन्तुष्ट नेताहरूले पार्टीभित्र संघर्ष गर्ने कि नयाँ पार्टी खोलेर जाने भन्नेबारे छलफल गरिरहेका छन् । एकीकृत समाजवादीमा पनि सम्मानित नेता झलनाथ खनाल एमसीसीको विपक्षमा छन् । एमसीसीका कारण सत्ता गठबन्धनमा आबद्ध दलहरू नै एक नभएकाले पहिला दलभित्रको तीक्तता हटाएर सत्ता गठबन्धनबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ । सत्तारुढ नेपाली कांग्रेसमा भने एमसीसीको विषयलाई लिएर विवाद देखिएको छैन ।