विद्यार्थी पन्छाएर विद्याश्रममा डोजर

विद्यार्थी पन्छाएर विद्याश्रममा डोजर

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय -नेपाल वेद विद्याश्रम) को जग्गामा डोजर चलाएको छ । विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको भनेर विद्यार्थी र शिक्षकले अवरोध गर्दागर्दै डोजरले जग खनेपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिलान्यास गरेका छन् ।

विद्यालयको करिब एक रोपनी जग्गा कब्जा गरेर वडा नम्बर ८ को कार्यालय भवन बनाउन लागिएको हो । पशुपति क्षेत्र विकास कोष र महानगरको मिलेमतोमा विद्यालयको जग्गा अतिक्रमण गरिएको विद्यालयले जनाएको छ । 'एक्कासि विद्यालय परिसरमा डोजर लगाएर जग खनियो,' विद्यालयका प्रधानाध्यापक केशव अधिकारीले भने, 'मेयर आएर वडा कार्यालय भवन शिलान्यास गर्नुभयो, हामीलाई केहीथाहा छैन ।'

विद्यालयको अनुमतिबिनै जग खन्न थालेपछि शिक्षक र विद्यार्थीले विरोध गरेका थिए । मेयर शाक्य बिहीबार शिलान्यास गर्न जाँदा उनीहरूले नाराबाजी गरेर अतिक्रमण नगर्न आग्रह गरेका थिए । तर प्रहरीसहित स्थानीयले बल प्रयोग गरेर शिलान्यास गराएको शिक्षकहरूले गुनासो गरेका छन् । 'जग्गा हडप्न आएकालाई विद्यालय परिसरमा छिर्न नदिन गेटमै नारा लगाएर बसेका थियौं,' कक्षा १० का एक छात्रले भने, 'प्रहरीले शिक्षक र विद्यार्थी साथीहरूलाई हातपात गरेर शिलान्यास गराइछाडे ।' आजको कान्तिपुर दैनिकमा खबर छ ।