एमसीसी अनुमोदनको 'साइड इफेक्ट': आन्तरिक विवाद र किचलोले पदाधिकारी चयनको विषय पेचिलो

लोकसंवाद टिप्पणी

एमसीसी अनुमोदनको 'साइड इफेक्ट': आन्तरिक विवाद र किचलोले पदाधिकारी चयनको विषय पेचिलो

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २०, २०७८

निकै लामो रस्साकस्सीबीच अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट पारित भयो । एमसीसी पारित गर्ने विषयमा एमाले, कांग्रेस, जसपा र लोसपा सकारात्मक रहे पनि अन्य दल सकारात्मक थिएनन् ।

एमसीसी यथास्थितिमा पारित गर्नुहुन्न भन्ने पक्षमा चर्को उत्रिएको र कार्यकर्तालाई सडकमा उतारेको एक पार्टी हो, माओवादी केन्द्र । तर अन्तिम समयमा आएर माओवादी एमसीसीको पक्षमा उभियो र सांसदबाट पारित भयो । एमसीसी पारित भएसँगै माओवादी केन्द्रमा नयाँ विवाद सिर्जना भएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहितका नेताहरू एमसीसी पास गर्ने अध्यक्ष प्रचण्डको निर्णयमा असन्तुष्ट छन् । यही असुन्तष्टिकाबीच माओवादी पार्टीमा फेरि विभाजन आउनेसम्मका अड्कल गर्न थालिएको छ ।

एमसीसी पास भएको भोलिपल्टै अध्यक्ष प्रचण्डले गरेको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठको असन्तुष्टिलाई लक्षित गर्दै पार्टी छाड्न सक्ने अभिव्यक्ति दिएपछि त उनी निकट नेताहरू झनै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।  नारायणकाजी श्रेष्ठ निकट नेता लिलामणि पौडेलले एक अन्तर्वार्तामा एमसीसी आफ्नो पार्टीले पारित नगर्ने र त्यसो गरे पार्टीमा आफू नबस्नेसम्मका घोषणा एमसीसी अनुमोदन पूर्व नै गरी सकेका थिए । 

विवादबीच केन्द्रीय समिति बैठक

पार्टीको आठौं महाधिवेशनपछि माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारी चयन केन्द्रीय कमिटिले गर्ने भनिएपछि त्यसपछि बैठक नै पटक पटक स्थगित भयो । लामो समयको स्थगनपछि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रवारदेखि सुरु हुदैछ । 

आठौँ महाधिवेशनपछि ललितपुरमा केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः निर्वाचित गरेको थियो । पार्टीको महासचिवमा दाबी गर्दै आएका नेता वर्षमान पुन चीनमा उपचारकै क्रममा रहेकाले त्यसबेला उनकै आग्रहमा बैठक स्थगित गरिएको थियो । तर त्यसपछि कोरोना संक्रमणको नयाँ भेरियन्ट र एमसीसीलगायतका विषयमा भएको निरन्तरको छलफलका कारण बैठक बस्न सकेको थिएन । 

पछिल्लो समयमा एमसीसी पारित गर्नमा पनि जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई साथ दिएका थिए । पुन भने एमसीसीका विषयमा बोलेका छैनन् । जनार्दनले प्रचण्डलाई अप्ठेरो अवस्थामा सधैँ साथ दिएका कारण पुन र शर्मामध्ये एक रोज्नुपर्दा प्रचण्डले शर्मालाई रोज्न सक्ने कतिपयको बुझाई छ ।

शुक्रवारदेखि सुरु हुने बैठकमा पार्टीको संगठन र भावी कार्य योजनाका विषयमा छलफल हुने भनिएको छ । महाधिवेशनपछि अध्यक्ष चयन गरे पनि माओवादीले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो गठन तथा जिम्मेवारी बाँडफाँडको काम गर्न सकिरहेको छैन ।

असन्तुष्टले एमसीसीमा प्रश्न उठाउने

माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नै एमसीसीका विषयमा छलफल भएको थियो । जसमा संशोधनबिना एमसीसी पास गर्न नहुने निष्कर्ष थियो । तर प्रचण्ड एमसीसीको पक्षमा उभिएपछि महाधिवेशनको म्यान्डेटविपरीत एमसीसी पारित गरेको भन्दै असन्तुष्ट पक्षले केन्द्रीय समितिमा कुरा उठाउने भएका छन् ।

एमसीसीको पक्षमा उभिएकोमा नेता नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, लेखनाथ न्यौपानेसहितका नेताहरू असन्तुष्ट छन् । उनीहरूले केन्द्रीय समितिमा एमसीसीबारे कुरा उठाउने तयारी गरेका छन् । 

एमसीसीको विषयमा विवाद बढ्दै गएका बेला नेता नारायणकाजी श्रेष्ठले आफ्नो समूहका नेताहरूसँग छलफल अघि बढाएका छन् । उनले आफूहरुबीचको विवादका विषयमा अध्यक्ष प्रचण्डसँग पनि छलफल जारी रहेको बताएका छन् । नारायणकाजी श्रेष्ठ समूहले एमसीसीका विषयमा पार्टीमा फरक मत राखेर अगाडि जाने  कि अलग्गै जाने भन्ने निष्कर्ष निकाली सकेका छैन। 

महासचिवमा चर्को प्रतिस्पर्धा

माओवादीको अर्को एजेन्डा हो, पदाधिकारीको विषय पेचिलो बन्दै गएको छ । यसपटक माओवादीको पदाधिकारी चयन निकै सकसपूर्ण हुने देखिएको छ । पदाधिकारी चयनमा पनि बार्गेनिङ र भागबन्डाको कोसिस भइरहेको छ । पदाधिकारीमा पनि प्रचण्डसँग नारायणकाजीले सम्मानजनक स्थान माग गरेको बताइन्छ ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ । तर सबैभन्दा चर्को प्रतिस्पर्धा महासचिवमा छ । महासचिव अध्यक्षपछिको कार्यकारी पद र अहिले महासचिव हुनेलाई प्रचण्डको उत्तराधिकारीका रुपमा समेत हेरिएका कारण महासचिवमा चर्को प्रतिस्पर्धा छ । 

महासचिवका लागि जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेतलगायतको दाबी छ । त्यसमध्ये पनि जनार्दन शर्मा र वर्षमान पुनबीच कडा प्रतिस्पर्धा रहेको बताइन्छ  । अध्यक्ष प्रचण्डले कृष्णबहादुर महरालाई उपाध्यक्ष र पम्फा भुसाल र देव गुरुङलाई उपमहासचिवसम्म मिलाउन सक्ने सम्भावना छ । तर जनार्दन शर्मा र वर्षमान पुनलाई मिलाउन भने उनलाई कठिन भएका कारण विलम्ब भइरहेको छ । 

हाल अध्यक्ष प्रचण्डपछि सबैभन्दा वरिष्ठ नेता भएका कारण नारायणकाजी श्रेष्ठ स्वतः वरिष्ठ उपाध्यक्ष हुने सम्भावना छ । पछिल्लो समयमा एमसीसी पारित गर्नमा पनि जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई साथ दिएका थिए । पुन भने एमसीसीका विषयमा बोलेका छैनन् । जनार्दनले प्रचण्डलाई अप्ठेरो अवस्थामा सधैँ साथ दिएका कारण पुन र शर्मामध्ये एक रोज्नुपर्दा प्रचण्डले शर्मालाई रोज्न सक्ने कतिपयको बुझाई छ ।

तर पुन चीनमा उपचारमा रहेका बेला केन्द्रीय समितिको बैठक नै स्थगित गरेर उनकै उपस्थितिमा पदाधिकारी चयन गर्न लागेका कारण पुनलाई पनि प्रचण्डले रोज्ने सम्भावना कम भएको भनेर भन्न सकिने अवस्था भने छैन । 

प्रचण्डलाई लामो समयदेखि साथ दिँदै आएका पुन र शर्मा दुवैले एउटै पदमा दाबी गर्दा प्रचण्ड अप्ठ्यारोमा परेका छन् । दुवैले दाबी नछाडेको अवस्थामा प्रचण्डले अझै केही समय पदाधिकारी चयन नगर्न पनि सक्छन् ।