डा‍‍‍. सृजना शर्मा : विद्यालय शिक्षा पुरा गर्न मात्र पनि छ जिल्ला चाहर्नुपर्ने बाध्यता !

डा‍‍‍. सृजना शर्मा : विद्यालय शिक्षा पुरा गर्न मात्र पनि छ जिल्ला चाहर्नुपर्ने बाध्यता !

आशिष पौडेल  |  अन्तर्मन्थन  |  फाल्गुन २१, २०७८

उहाँको बुबाको घर बैतडी । उहाँको बुबा पहिले बहिदार हुनुहुन्थ्यो । पछि भने न्याय सेवामा प्रवेश गर्नुभयो । उहाँको बुबा स्कुल नजानु भए पनि हिसाब एकदमै आउने । बुबाले उहाँलाई एसएलसी दिने बेलासम्म पनि अंकगणित सिकाउनुहुन्थ्यो । उहाँ विभिन्न पुस्तक पढ्नुहुन्थ्यो ।  यो सबै भने बुबाको स्वअध्ययनका कारण सम्भव भएको थियो । 

उहाँको घरपट्टिको हजुरबा भने काजी । काजी भएका कारण पनि पढाइमा भन्दा पनि अरु राम रमाइलो गरौँ भन्ने भाव । छोरीहरूलाई पढाउनु पर्छ भन्ने भाव त्यति थिएन घरपट्टिको हजुरबामा भने ।

तर, उहाँको मामाघरको हजुरबा भने पण्डित । हजुरबाको धेरैजसो बसाइ बनारसमा हुन्थ्यो । बनारसमा बस्ने पण्डित भएका कारण पढाइमा धेरै सचेत । छोरीलाई पनि पढाउनु पर्छ भन्ने भावना । छोरीलाई अरूको घर दिनुपर्छ । अरूको घरमा पठाउँदा उनीहरूमाथि अन्याय भयो भने कमसेकम चिठी पठाएर भए पनि भन्न सक्छन् भन्ने उहाँको सोच रहेछ । जसका कारण पनि छोरीलाई पढाउनु पर्छ भन्ने भावना तीव्र भएको रहेछ । 

उहाँको मामाहरू सबै बनारस पढ्न जानुभयो । तर, अब छोरीहरू त बनारस जाने कुरा भएन । अरूहरूले त ल छोरीलाई पढाएर फलानोले बिगार्‍यो भनेर कुरा काटे पनि  उहाँको हजुरबाले भने छोरीहरूलाई आफैँले ढोका थुनेर पढाएर अक्षर चिन्ने साक्षरसम्म बनाउनु भएको रहेछ । त्यो भनेको पनि त्यस समय निकै ठुलो र चुनौतीपूर्ण कुरा थियो ।  

०००

उहाँको जन्म २०१३ सालमा भएको हो । उहाँको एक जना दिदी तथा पाँच दाजुभाइ । उहाँको जेठो दाइ साहित्यकार आनन्ददेव भट्ट । माहिलो दाइ प्रशासक डा. भिमदेव भट्ट । साहिँलो दाइ डाक्टर अर्जुनदेव भट्ट । त्यस बेला यहाँ विश्वविद्यालय नभएका कारण बुबाले जेठो दाइलाई पट्ना पढ्न पठाएर अंग्रेजीमा एमएसम्मको अध्ययन गरेर आउनु भएको रहेछ । यसरी उहाँको समग्र परिवार नै उच्च सुपठित परिवार रहेको देखिन्छ । अर्का दाजु ध्रुवदेव भट्ट भने व्यापार व्यवसायमा हुनुहुन्छ । उहाँको भाइ र उहाँ भने जुम्ल्याहा हुनुहुन्छ । भाइ भने न्युजिल्याण्डतिर बस्नुहुन्छ । उहाँले पनि तथ्या‌ंक शास्त्रमा विद्यावारिधि गर्नुभएको छ । 

०००

उहाँको बुबा न्याय सेवामा भएका कारण दुई/दुई वर्षमा सरुवा हुने अनि समस्या उहाँहरूलाई पर्दथ्यो । समस्या यस अर्थमा कि नयाँ ठाउँमा गयो यसो बल्ल राम्रोसँग चिनजान भएको हुन्छ फेरि त्यहाँबाट अर्को ठाउँ जाने बेला भइसक्थ्यो । त्यस कारण पनि उहाँको स्कुल तथा साथीभाइ त्यति स्थिर तथा दिगो भएनन् । स्कुल तथा शिक्षाको पहुँच पनि त्यति सहज नभएका कारण त्यस बेला उहाँ स्कुल जाँदा केटीहरू भनेको एक/दुई जना मात्र हुन्थे । केटाहरू ठुला ठुला हुन्थे । उहाँ भने सानो भएका कारण अरूले यसो हेप्ने जस्तो गर्थे । 

अनि सानोमा पनि उहाँ अलि गोरो वर्णकी भएकी हुनाले गाउँघरका साथीहरू नयाँ मान्छे आइ भनेर भागिहाल्थे । त्यस कारण पनि साथी बनाउन पनि गाह्रो हुने रहेछ । ठुला मान्छे चाहिँ अलि बुझिसकेका कारण साथी हुन्थे उहाँका । आफ्ना उमेरका भने त्यति साथी हुँदैनथे । 

त्यस बेलाका खेलमा भने घ्वाँइ, गट्टा तथा पुतली हुन्थ्यो । उहाँले पुतली खेल्ने साथी भने नेपालगन्ज आएपछि पाउनु भयो । त्यस बेला उहाँको उमेर एघार वर्षको थियो । उहाँको बुबा भने त्यस बेला न्यायाधीश हुनुहुन्थ्यो । अनि तारापद शाह भन्ने डाक्टर हुनुहुन्थ्यो सँगै सरकारी क्वार्टरमा । उहाँको छोरी पनि उहाँकै समवय थिए । त्यस कारण पनि पुतलीको खेल भने खुब जम्यो उहाँहरुबीच । 

उक्त स्कुल सेती नदी तरेर जानुपर्ने अनि बुबा न्यायाधीश भएकोले निर्णय गर्दा कसै न कसैले त अन्याय भएको महसुस गरेको हुनसक्छ । अनि कसैले साना बच्चालाई सेतीमा हालिदियो भने के गर्ने भन्ने खतरा आमाले महसुस गरेका कारण उहाँको सोल्जर बोर्डमा पढ्ने साइत नजुरेको रहेछ । 

अब त्यस बेला आमाहरूले अब ठुली भैसकिस पुतली खेल्न हुन्न भन्नुहुन्थ्यो । दिमागमा पनि त्यस्तै बसेको थियो होला शायद । एक दिन उहाँ पुतली बनाएर खेलिरहनु भएको थियो अचानक डाक्टर शाहको छोरी खेल्न बोलाउन आउनु भयो । उहाँलाई अप्ठ्यारो भयो । यत्रो ठुलो मान्छे भएर पनि पुतली खेलेको भन्छन् कि भनेर । तर, ती साथीले त झनै पुतली देखेपछि एकै पटक उत्साहित हुँदै ओहो पुतली ! म पनि खेल्छु भनेपछि उहाँलाई पनि त्यसले  सहज भयो । अनि ती साथीले त झन् पुतलीको आँखा यसरी बनाउने, नाक यसरी बनाउने भनेर सिकाउन थालेपछि त्यसले झनै रमाइलो माहौल बनाउँदै गयो । 

०००

उहाँको प्रारम्भिक शिक्षा डोटीको स्कुलबाट भए पनि अहिले उहाँलाई त्यो स्कुलको नाम भने त्यति हेक्का रहेनछ । घरबाट स्कुल झन्डै बिस मिनेटको दूरीमा थियो । अनि त्यसबला गुरुलाई खुट्टामै ढोग्ने चलन थियो । सामान्यतः हामीकहाँ छोरीलाई ढोगाउने प्रचलन नभए पनि उहाँले पनि ढोगेको उहाँलाई राम्रै सम्झना छ । गुरुप्रतिको त्यो सम्मान पनि उहाँको मस्तिष्कमा राम्रै छ । 

कक्षामा झन्डै १५/२० जना जति विद्यार्थी हुन्थे । छात्रको सङ्ख्या त एक/दुई मात्रै हो । भर्खरै स्कुल गएको हुनाले कक्षा कति र कतिसम्म पढियो भन्ने पनि उहाँलाई याद छैन । सिलोटमा खरिले कोरेको भने सम्झना छ । 

पछि उहाँको बुबाको सरुवा नेपालगन्ज भयो । अनि नेपालगन्जमा एकै पटक चार कक्षामा भर्ना भएको याद छ उहाँलाई । त्यसभन्दा अगाडि धनगढीमा बस्दा स्कुल गए नगएको भने त्यति याद छैन । नेपालगन्जमा सरस्वती विद्यालय थियो छात्राहरूको तर, त्यो टाढा भएको हुनाले उहाँले भने नजिकैको विद्यालय पढ्नुभयो । विद्यालयको नाम भने उहाँलाई याद छैन । 

फेरि दुई वर्षपछि बुबाको सरुवा पोखरा भयो । अनि उहाँको विद्यालय पनि सरुवा भयो पोखरामा नै। पोखराको वाराही विद्यालयमा कक्षा ६ मा उहाँ भर्ना हुनुभयो । छात्रा भनेको उहाँ र अर्को एक जना निकै ठुली कृष्णा हुनुहुन्थ्यो । साथी नहुँदा खासै स्कुल जान नै मन लाग्ने थिएन उहाँलाई । 

उहाँ र भाइ जुम्ल्याहा । स्कुलसँगै जाने । आमाले सँगै जान भन्नुहुन्थ्यो । तर, अलि पर पुगेपछि केटा साथीहरू भेट्दा भाइ उनीहरू लाग्थे । अनि फेरि उहाँ एक्लै पर्नुहुन्थ्यो । त्यस कारण पनि उहाँलाई स्कुल जान अल्छी लाग्थ्यो । 

खासमा उहाँहरूलाई पोखराको त्यस बेलाको चर्चित स्कुल सोल्जर बोर्डमा पढाउने कुरा थियो । तर उक्त स्कुल सेती नदी तरेर जानुपर्ने अनि बुबा न्यायाधीश भएकोले निर्णय गर्दा कसै न कसैले त अन्याय भएको महसुस गरेको हुनसक्छ । अनि कसैले साना बच्चालाई सेतीमा हालिदियो भने के गर्ने भन्ने खतरा आमाले महसुस गरेका कारण उहाँको सोल्जर बोर्डमा पढ्ने साइत नजुरेको रहेछ । 

उहाँ वाराही स्कुलमा ६ र ७ कक्षा पढ्नुभयो । अनि ८ कक्षा पढ्न भने उहाँ चितवन आइपुग्नुभयो । चितवनमा दाइ आनन्ददेव भट्ट हुनुहुन्थ्यो । बुबाको पनि सरुवा हुने बेला भएको थियो । चितवनमा आइसकेपछि चितवन हाई स्कुलमा भने विद्यार्थी सङ्ख्या निकै थियो । २५/३० जनाको कक्षामा छात्राहरू ७/८ जना हुन्थे । 

त्यहाँ उहाँको दाइ आनन्ददेव भट्टले उहाँलाई अतिरिक्त क्रियाकलापमा भाग लिन एकदमै प्रेरित गर्नुहुन्थ्यो । नाच्न, गाउन जे मा पनि भाग लिन लगाउनुहुन्थ्यो । सत्यको खोजमा भन्ने नाटक लेख्नु भएको थियो आनन्ददेव भट्टले त्यसमा पनि उहाँले भाग लिनु भएको छ दाइकै प्रेरणाले । 

९ र १० कक्षा भने बुबाको सरुवासँगै उहाँको स्कुल पनि सरुवा भयो धरानको शारदा बालिका माविमा । प्रेस काउन्सिलको पहिलो अध्यक्ष छविलाल पोखरेल हुनुहुन्थ्यो शिक्षक । साह्रै राम्रो पढाउनुहुन्थ्यो । 

उहाँले २०२७ सालमा एसएलसी दिनुभएको हो । उहाँ तृतीय श्रेणीमा पास हुनुभयो । धरानको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना मात्र हुनु भएको थियो बुबाको सरुवा काठमाडौँ भएकोले उहाँ पनि काठमाडौँ नै आउनुभयो । 

काठमाडौँ आइसकेपछि उहाँ आइए भने रत्नराज्यमा पढ्नुभयो । बिए भने पद्मकन्यामा पढ्नुभयो । बिए पछि २०३२ सालमा उहाँको बिहे भयो । त्यसपछि पढाइमा वाधा पुग्यो । एमएको लागि एनडीएस दिनुपर्ने र त्यसको लागि जुम्ला जानुपर्ने भएपछि उहाँले भारतबाट समाजशास्त्रमा एमए गर्नुभयो । नेपालमा नभएको विषयमा भने एनडीएस जानु पर्दैन थियो । 

०००

समाजशास्त्रमा एमए गरेपछि उहाँलाई त्रिविमा पढाउने अवसर आएको थियो । तर, पढाउने कुरामा अलि आत्मविश्वास गर्न नसकेपछि उहाँ समाज कल्याण परिषद्मा अधिकृतको जागिर खान थाल्नुभयो । 

रेडियोमा बोल्ने रहरले समाज कल्याणमा छोडेर उहाँ रेडियो नेपालतिर जागिर खान थाल्नुभयो । उहाँ समाचार वाचनका लागि जानु भएको हो । तर, साहित्यतर्फ रुचि भएका हुनाले साहित्यिक कार्यक्रम चलाउन थाल्नुभयो केही दिन समाचार पढेर । 

पहिले कार्यक्रमको नाम नै साहित्यिक कार्यक्रम थियो । पछि यज्ञनिधि दाहाल र उहाँ भएर साहित्य संसार कार्यक्रम चलाउन थाल्नुभयो । एउटा मात्र कार्यक्रमले तलब खान नपुग्ने भएपछि वाह्य सेवा नेपाली कार्यक्रम पनि चलाउन थाल्नुभयो । 

अनि स्वास्थ्य मन्त्रालय अन्तर्गत परिवार नियोजन मातृ शिशु कार्यक्रममा आवेदन खुलेपछि त्यता जागिर खान थाल्नुभयो । रेडियो कार्यक्रम बिहान यथावत् छँदै थियो । रेडियोमा उहाँले २०३५ सालदेखि ०४४ सालसम्म नौ वर्ष काम गर्नुभयो । 

परिवार नियोजनमा भने उहाँले ०४१ सालमा सुरु गर्नुभएको हो । त्यहाँ भित्रको थुप्रै परियोजनामा गरेर उहाँले दश वर्ष काम गर्नुभयो । 

सेभ द चिल्ड्रेनमा काम सुरु गरेपछि यता काम छोड्नुभयो । झन्डै २२ वर्ष काम गरेर उहाँले त्यहाँबाट अवकाश लिनु भएको हो । सेभ द चिल्ड्रेनमा पनि सरकारी स्कुल पढेको अनि सरकारी अफिसमा काम गरेको मान्छेको के होला र भन्ने लाग्दै थियो उहाँलाई तर, गोराले अंग्रेजीमा सोध्ने र उहाँले नेपालीमा उत्तर दिने गरेर पनि उहाँ सफल हुनुभयो । 

यसमा सफल हुनुमा भने यस्ता धेरै कार्यक्रममा बुझेको चलाएकोले पनि उहाँलाई कार्यक्रम के हो र कसरी चलाउने भन्ने ज्ञान थियो जसले उहाँलाई सेभ द चिल्ड्रेनका  काममा सफल्ता दिलायो । 

०००

साहित्यतर्फको उहाँको यात्रा तथा आकर्षण भने पारिवारिक हो भन्ने लाग्छ उहाँलाई । दाजु आनन्ददेव भट्टको प्रेरणा र हौसलाले पनि खास काम गर्‍यो भन्ने लाग्छ उहाँलाई । उहाँलाई लेख्न सिकाउने अनि लेखेको कविता तथा रचना हेरिदिने काम पनि गर्नुहुन्थ्यो दाजुले । 

कलेजको एउटा कार्यक्रममा उहाँले लेखेको कमिकमा उहाँ र मदनमणि दीक्षितको छोरी इल्या भट्टराईले खेल्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि भैरव अर्याल हुनुहुन्थ्यो । उहाँले प्रभावित भएर राम्रो लाग्यो केही लेखेको छ भने गोरखापत्रमा छपाउनु पर्छ भनेर माग्नु भयो । २०३१/३२ सालतिर उहाँको पहिलो रचना निस्कियो गोरखापत्रमा । कथा थियो त्यो अनि शीर्षक थियो रोदनको कारण बुझ्दा !

उहाँका झन्डै १०/१२ वटा  पुस्तक प्रकाशन भएका छन् । जुन बालबालिकासँग सम्बद्ध  छन् । एउटा कथा संग्रह, एउटा उपन्यास गोल्डेन गेट पनि प्रकाशन भएका छन् उहाँका। एउटा जुनकिरीको उडान मुक्तकको किताब पनि छ उहाँको । 

वाङ्मय तथा अनुसन्धान केन्द्रको आजीवन सदस्य तथा सल्लाहकार हुनुहुन्छ । नेपाल बाल साहित्य समाजको आजीवन सदस्य । गुञ्जन साहित्यिक संस्थासँग पनि सम्बद्ध हुनुहुन्छ । 

उहाँ मैनाली कथा पुरस्कारबाट पनि पुरस्कृत हुनुहुन्छ । स्रष्टा समाजद्वारा पनि सम्मानित हुनुहुन्छ । कलेजमा पनि उहाँले थुप्रै पुरस्कार पाउनु भएको छ ।