ललितपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र नागदह सफाइमा युवाको अग्रसरता

ललितपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र नागदह सफाइमा युवाको अग्रसरता

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २१, २०७८

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २४ स्थित धापाखेलमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र नागदह पोखरी फोहोर भएपछि स्थानीय युवाको अगुवाइमा सरसफाइ कार्यक्रम शुरु भएको छ । 

गत फागुन १० गतेदेखि शुरु भएको सरसफाइ आज दशौँ दिनमा प्रवेश गरेको छ । करिब ६ महिना चल्ने बताइएकाेे सफाइ अभियानमा अहिलेसम्म करिब ३० प्रतिशत सफाइ भएको नागदह रेष्टुरेण्ट व्यवसायीक टिमका समिति संयोजक तथा वडा नं २४ का कांग्रेस इकाइ सभापतिसमेत रहेका उमेश केसीले बताउनु भयो । 

जलकुम्भी तथा अन्य फोहोरले नागदह कुरुप भए पनि स्थानीय निकाय तथा अन्य सार्वजनिक निकायको दृष्टि नपुगेपछि स्थानीय रुपमै युवाहरु लाग्नु परेको पनि केसीले बताउनुभयो । नागदह तथा नजिकै रहेकाे अर्काे धार्मिक तथा पर्यटकीय स्थललाई सन्तानेश्वरलाई जाेडेर कसरी धार्मिक तथा पर्यटकीय क्षेत्रकाे रुपमा विकसित गर्न सकिन्छ भन्ने बारेमा छलफल चलिरहेकाे पनि सन्तानेश्वरलाई पर्यटकीय स्थलका रुपमा विकसित गर्न लागि परिरहनु भएका विनाेद खड्काले बताउनुभयाे । 

ललितपुरका अन्य पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा स्थानीय निकाय तथा अन्य सरकारी निकायले सहयोग गरे पनि नागदह भने स्थानीय निकाय तथा संघीय सरकारको पनि नजरमा नपरेकोले आफूहरु लाग्नु परेको पनि केसीले बताउनुभयो । नागदहलाई केवल केही समयका लागि सरसफाई गर्ने नभइ अब दीगाे रुपमा अगाडि लैजाने तथा वरपर पनि हरियाली तथा रुख राेप्ने साथै यसाे सुस्ताउन  मिल्ने व्यवस्था पनि गरिने केसीले बताउनु भयाे ।