मानिस खानका लागि बाँचेको कि बाँच्नका लागि खाएको ? महाभारतको यक्ष प्रश्नमा युधिष्ठिरको जबाफ

फर्केलान् र ती दिनहरू

मानिस खानका लागि बाँचेको कि बाँच्नका लागि खाएको ? महाभारतको यक्ष प्रश्नमा युधिष्ठिरको जबाफ

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  फाल्गुन २१, २०७८

एउटा नैतिक प्रश्न सधैँ आफैँमा सोधिन्छ, समाजमा सोधिन्छ र विभिन्न मञ्चहरूमा उठाइन्छ- मानिस खानका लागि मात्र बाँचेको हो कि बाँच्नका लागि मात्र खाएको हो ? यसको गुढार्थ हो- आफ्नो स्वार्थका लागि मात्र आफूलाई  सधैँ उपयोग गर्ने कि अरूको सहयोगका लागि पनि आफूलाई उपयोग गर्ने ?

मानिसले नै यसका लागि धेरै दर्शनहरूको आधार बनायो र दर्शनहरूको आविष्कार गर्‍यो र भन्यो- कुरो उस्तै भए पनि बाँच्नका लागि आवश्यक तत्त्व आवश्यक छ, त्यसैले खानका लागि मात्र बाँचेको होइन, तत्कालका लागि बाँच्नुपर्छ र त्यसका लागि आवश्यक पर्ने इन्धनका रूपमा खाएको हो । यसो हेर्दा फेरि त्यही कुराको  सम्झना आउँछ-  महाभारत वन पर्वको यक्ष प्रश्नको । एउटा प्रश्न यस्तो थिय संसारमा सबैभन्दा बढी आश्चर्यलाग्दो के हो ? यक्षको प्रश्न यस्तो थियो ।  

को मोदते किमाश्चर्य कः पन्था का च वार्तिका । 
ममैताश्चातुरः प्रश्नान् कथयित्वा जलं पिब ।। 

अर्थात् सुखी को हो ? संसारमा सबैभन्दा आश्चर्यलाग्दो कुरा के हो ? बाटो कुन असल हो ? वार्ता के हो ? यी ४ प्रश्नका उत्तर देऊ र  पानी पिऊ । यसमध्ये आश्चर्यलाग्दो कुराका बारेमा यक्षको प्रश्नक बारेमा युधिष्ठिरले भनेका छन्- 

अहन्यहनि भूतानि गच्छन्तीह यमालयम् ।
शेषाः स्थावरमिच्छन्ति किमाश्चर्यमतः परम् ।।

अरू प्रश्नको भन्दा पनि मैले प्रश्नहरूमध्ये एउटा मात्र आश्चर्यका बारेमा खोतल्न खोजेको हुँ र यहाँ प्रस्तुत श्लोकले दिने अर्थ हो- संसारबाट दिनैपिच्छे मानिसहरू यमलोक गइरहेका छन् । फेरि जो बाँचेका छन्, तिनले आफू सधैँ बाँच्ने इच्छा लिएर सधैँ बाँचिन्छ जस्तो गरेका छन् । त्यसभन्दा बढी आश्चर्य के पो हुन्छ र ?

अर्थात् वन पर्वको यो यक्ष प्रश्न र युधिष्ठिरको उत्तरले दिने नैतिक पाठ के हो भने, त्यसबेलाको समाजलाई यी प्रश्नहरूले गाँजेका देखिन्छ र त श्रीकृष्णद्वैपायनले यी प्रश्नहरूमार्फत हामीलाई त्यसबेलाको न्याय प्रणाली, नैतिकताको धरातल र समाजमा व्याप्त धारणालाई प्रस्ट्याउने कोसिस गरेका छन् । यक्षका धेरै प्रश्नहरू थिए । ती जनजीवन र  जनजीविकाका बारेमा सोधिएका थिए, जसको उत्तर यक्षलाई चित्त बुझेर मात्र मूर्च्छामा परेका भनिएका भीम, अर्जुन, नकुल र सहदेव फेरि उठेर जस्ताको तस्तै देखिए भनिएको छ । 

बाँच्नका लागि खाना आवश्यक छ तर खानका लागि नै बाँचेको जस्तो नगरी जीवनमा केही मूल्य र मान्यताको मानकलाई आधार बनाएर त्यसको पालनामा जोड दिएको पाइन्छ संसारका जुनसुकै धर्म र संस्कृतिले । यक्ष प्रश्नभित्रै एउटा अर्को पनि प्रश्न रहेछ । यक्षको प्रश्न रहेछ-

इन्द्रियार्थाननुभवन् बुद्धिमाँल्लोकपूजितः ।
सम्मत सर्वभूतानामुच्छ्वसन् को न जीवित ।।

अर्थात् यस्तो को छ, जो लोकमा बुद्धिमान पनि मानिन्छ, सम्मानित पनि छ, संसारले माननीय मानेकै हुन्छन्, इन्द्रियहरूबाट पाउने सुख पनि पाएकै हुन्छ र सास पनि फेरेकै हुन्छ र पनि उसलाई जीवित मान्न सकिँदैन ?

यसमा युधिष्ठिरको उत्तर छ-

देवतातिथिभृत्यानां पितृणामात्मनश्च यः ।
न निर्वपति पञ्चानामुच्छ्वसन् न स जीवित ।।

जसले देवता, अतिथि, भरणीय व्यक्तिहरू, पितृहरू र आफ्नो आत्माको पोषण गर्न सक्दैन, त्यो बाँचेको भए पनि मरेको जस्तै हो । यहाँ भरणीय भन्नाले आफूले पाल्नै पर्ने व्यक्तिहरू, पितर पितृ भन्नाले मरेर गएकाको लागि तर्पण, पिण्ड मात्रको कुरा होइन, बाँचेकै मातापिताको सेवासम्बन्धीमा संकेत गरेको देखिन्छ । त्यस्ता बाँचेका भन्नु पनि व्यर्थ मानिएको छ भनेर युधिष्ठिरले भनेका रहेछन् । 

कम्तीमा पनि नेपाली कांग्रेसमा त्यस्तो २ जिब्रो चलन देखिँदैन र आक्रामक तरिकाले कसैको विरोध र समर्थन गर्ने कुरामा पनि नेपाली कांग्रेसले आफूलाई तटस्थ राखेको छ, सायद बुद्धिजीवीहरू र परिपक्व मानिसहरूले नेपाली कांग्रेसको समर्थन गरेको देखिन्छ, कति मौन रूपमा त कतिले सक्रिय रूपमा । त्यसको अर्को कारण पनि हुन सक्छ प्रजातन्त्रप्रतिको अनवरत समर्थन र मानवअधिकारका विश्वव्यापी मान्यताप्रतिको निश्चित र अपरिवर्तनीय धारणा । 

हुनत वन पर्वमा यसबारेमा लामो व्याख्या छ, विवरण छ तर आज मैले यो कुराको किन पनि पुनःपुनः स्मरण गरेको भने अहिले राजनीतिले लाज नीतिको रूप धारण गरेको छ र सबै नेतृत्वदायी व्यक्तिहरू इतिहासको वास्ता नै नगरी आफ्नो स्वार्थका लागि दल, कार्यकर्ताहरूलाई अलमल्याउन उद्यत छन् तर समयले भने नागरिकहरूलाई सचेत बनाएको छ । यति सचेत बनाइसकेको छ कि सबै विषयको अन्तर्यसमेत केलाएर आगामी निर्वाचनको प्रतीक्षा गरेर बसेका छन् ।

अनि दलहरूमा पनि आपसमा मुलुकको हितका लागि छलफल गर्नुभन्दा, आफ्ना साझा सिद्धान्तमा अडिग रहनुभन्दा जसरी हुन्छ समयलाई ठग्ने, समयलाई छल्ने अनि भोलि काल नै आउँदैन जस्तो, अरू कसैले केही नै थाहा नपाएको जस्तो गरेर बहाना बनाएका देखिन्छन् । यो जनतामा देखिएको निराशाको बोली मात्र होइन, बेलाको वास्ता नगरी आफू मात्र जान्ने, आफू मात्र सबै कुराको जानकारी राखेर आकाश नै थेगेजस्तो गरेका तर मात्र आफ्नो स्वार्थमा लागेका अपारदर्शी कामहरूका लागि भन्ने गरिएको छ । 

राष्ट्रिय मामिला र अन्तर्राष्ट्रिय विषयमा वा समस्यामा सबैभन्दा पहिले मुलुकभित्रै एक किसिमको साझा नीति तयार गर्नुपर्छ किनभने मुलुक त सबैको हो र विदेशसँगको सम्बन्ध त मुलुकले गर्ने हो । मुलुकमा हुनत कुनै सिद्धान्त बोकेको दल वा नेताले नेतृत्व गरेको हुन्छ तर विश्वव्यापीकरण मानिने प्रजातन्त्रका पक्षमा, मानवअधिकारको पक्षमा र सामाजिक न्यायको पक्षमा हामी उभिनेछौँ भनेर नेपालको असंलग्न नीतिको चारैतिर सुवास छ किनभने नेपाल पौराणिककालदेखि नै स्वतन्त्र राष्ट्रको रूपमा थियो  । अहिले त झन् विश्वको नयाँ विकसित अवस्थामा प्रजातन्त्रप्रतिको आस्था नै समावेशी समाजको आधार हुने देखिएको बेला छ । 

हामी सामाजिक न्यायप्रति आस्था राख्ने अनि समसामयिक राजनीतिप्रति सक्रियतासाथ चासो राख्ने अनि त्यस विषयमा आफ्ना धारणाहरू बारम्बार व्यक्त गर्नेहरूको जहिले पनि एउटै चाहना छ- यो देश कसैको पनि चंगुलमा नपरोस् तर विश्वका सबै देशहरूले माया गरेर हाम्रो सामाजिक, आर्थिक अवस्थाको विकास गर्न सघाऊन् । तर, असंलग्नता भनेको कुनै देशप्रति बढी आस्था, विश्वास र कुनैप्रति आक्रामक अनि बदनाम गर्ने तहसम्म मिथ्या आरोपहरू लगाउने छुट भने कुनै पनि नागरिकलाई हुनुहुँदैन भन्ने कुरा कसरी स्थापित गराउने ? गाह्रो भएको छ ।

तैपनि हामी जोगिएको भनेको शक्ति राष्ट्रहरूको दाह्रा नंग्रा हामीमाथि नपरेरै हो र सकेसम्म आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन सक्यो भने कसैले पनि हामीमाथि कर्के नजर लाउन सक्दैनन्‌चाहिँ भन्न सकिन्छ । हाम्रा छिमेकीहरू आफैँ बेलामौकामा सीमाका विषयले गर्दा युद्धरत हुन्छन् र हामी कसैको पनि पक्ष वा विपक्षमा बोल्दैनौँ तर भारतीय सेनामा नेपालीहरू छन्, त्यसबारेमा हाम्रो नीति कस्तो हुने भन्नेबारेमा पाकिस्तान र चीनको चासो पनि देखिँदैन र हामीले पनि चासो राखेका छैनौँ ।

त्यति मात्र होइन, बेलायतको राजनीतिमा सेनाको महत्त्व छ र गोर्खालीका नाममा नेपालीहरू अहिले पनि बेलायती सेनामा छन् र तिनले बेलायतको राजनीतिलाई स्वीकार गरेकै छन् र विश्वमा बेलायती सेनाका रूपमा उनीहरू गएकै छन् ।

हामी पनि सिंगापुरमा या हङकङमा या अन्य देशमा नेपालीहरू सेना या प्रहरीमा भर्ना हुँदा रोजगारीका रूपमा गएको सम्झने गरेका छौँ तर ती नेपाली नै हुन् भन्ने कुराचाहिँ बिर्सन सकिँदैन । राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय कूटनीतिका बारेमा के नीति बनेको छ भनेर खासै जानकारी दिएको देखिँदैन । यी कुराहरू मनमा खट्किने कुराहरू हुन् तर कसले सुन्ने भन्नेजस्तो भएको बेला छ किनभने हाम्रा दलहरूमा सत्तामा हुँदा एउटा कुरा र सत्ता बाहिर हुँदा अर्को कुरा गर्ने बानी देखिन्छ ।

कम्तीमा पनि नेपाली कांग्रेसमा त्यस्तो २ जिब्रे चलन देखिँदैन र आक्रामक तरिकाले कसैको विरोध र समर्थन गर्ने कुरामा पनि नेपाली कांग्रेसले आफूलाई तटस्थ राखेको छ । सायद बुद्धिजीवीहरू र परिपक्व मानिसहरूले नेपाली कांग्रेसको समर्थन गरेका देखिन्छ- कतिले मौन रूपमा त कतिले सक्रिय रूपमा । त्यसको अर्को कारण पनि हुन सक्छ- प्रजातन्त्रप्रतिको अनवरत समर्थन र मानवअधिकारका विश्वव्यापी मान्यताप्रतिको निश्चित र अपरिवर्तनीय धारणा । 

म त अब प्रौढबाट पनि वृद्धावस्थातिर पुगेको छु । तर, हिजोका दिनमा शिक्षा आर्जन गर्न राजधानी या बाहिर अन्य ठाउँमा म जस्ता धेरै तत्कालीन युवाहरूले प्रजातन्त्रका पक्षमा सम्झौताविहीन रूपमा आफूलाई उभ्याएका थिए ।

कतिले हाँसीहाँसी जेल जीवन रोजे, कतिले विभिन्न पेसामा रहेर पनि आफूलाई प्रजातन्त्रको पक्षमा उभ्याइरहे । हामीले कलेज पढ्ने बेलामा कस्तो अवस्था थियो भने रोजगारीका लागि सरकारी सेवा हाम्रालागि उपलब्ध हुँदैनथ्यो किनभने अदृश्य रूपमा र अपारदर्शी रूपमा लिइने प्रहरी प्रतिवेदनले हामीलाई अयोग्य बनाउँथ्यो खासगरी प्रतिबन्धित नेपाली कांग्रेससँग सम्बन्धित विद्यार्थी संघ वा दलका विभिन्न काममा वा संगठनमा खटिएकाहरूका लागि ।

हाम्रालागि अस्थायी शिक्षक तथा कुनै ठाउँमा जिल्लामै स्थायी गर्ने शिक्षक आयोगहरूमा कांग्रेसलाई माया गर्ने कोही छ भने । मैले पनि आफ्नो शिक्षा आर्जन गर्ने क्रममा आफूले पाउने छात्रवृत्तिले नपुग्ने भएपछि जति आवश्यक पर्ने रकमको कुरा आउँछ, त्यतिजति कमाउने गरी साना कक्षाका विद्यार्थीहरूलाई निजी स्तरमा पढाउने । म आफू लेखा पढ्थेँ तर सानामा केही संस्कृतका श्लोकहरू पढेकाले होला, नेपाली सजिलै लाग्थ्यो र शुद्धाशुद्धिमा ध्यान दिइन्थ्यो । त्यसैले नेपाली र सामाजिक शिक्षा जस्ता विषय ट्युसन पढाउँथे । त्यसो त सानो कक्षामा गणित पनि पढाइन्थ्यो, अंग्रेजी पनि पढाइन्थ्यो तर मैलेचाहिँ नेपाली पढाउने कुरामा बढी नै जोड दिएँ ।

खासै ट्युसन त पढाइनँ तर पनि भाइ र म बस्ने गर्थ्यौँ । २ जना नै सानोठिमी क्याम्पसमा पढ्थ्यौँ । म स्नातक तहको अन्तिम वर्षमा र भाइ हिमालयचाहिँ प्रवीणता प्रमाणपत्र तहको कृषि पूर्वव्यावसायिक विषयमा । बस्थ्यौँ डिल्लीबजार अनि जानुपर्ने सानोठिमीसम्म । श्रीराम ढुंगेल दाइका घरमा बस्थ्यौँ, भाउजू हुनुहुन्थ्यो ईश्वरी ढुंगेल । वरिष्ठ पत्रकारहरू भैरव रिसाल र पुरु रिसालकी बहिनी ।

दाजु मेरो मावलीको बन्धु हुनुहुँदो रहेछ । उहाँहरूले हामीलाई डेरामा बसेजस्तो कहिल्यै गर्नुभएन । उहाँहरूका सानासाना छोराछोरीहरूमा जेठो छोरो राजु, ठुली छोरी सरोज र सानी छोरी शवनम । अहिले दाजु, भाउजू र ती  सबै छोराछोरीहरू अमेरिकामा बस्छन् र पनि त्यो परिवारसँगको त्यो सम्बन्ध यति गाढा बन्यो कि श्रीराम दाइले आफ्नी भान्जी लीला दाहालको विवाह मेरो मामा ससुराको छोरो पुष्कर कोइरालासँग गराउनुभयो, जसले गर्दा हाम्रा परिवारका बीचको सम्बन्ध सदाका लागि सुमधुर हुन पुग्यो ।

अहिले पनि जब दाजु भाउजू अनि छोराछोरीहरू काठमाडौँमा आउनुहुन्छ, हामी परिवार नै जान्छौँ उहाँहरूलाई भेट्न । अहिलेको प्रसंगचाहिँ के हो भने, त्यसबेलामा पनि ४६ वर्षअघि डिल्लीबजारमा कोठा महँगै हुन्थ्यो तर दाजु-भाउजूले के शर्तमा ३ वटा कोठा दिनुभएको थियो भने, जागिर वा रोजगारी भएपछि त्यसको प्रतिमहिना ७५ रुपैयाँ दिनुपर्नेछ नत्र ५० रुपैयाँमा नै बस्नु । किनभने पहिले २ वटा कोठाको नै ५० रुपैयाँ दिँदै आएका थियौँ ।

नभन्दै २०३६ असोजमा म माध्यमिक विद्यालयको अस्थायी शिक्षक भएपछि मैले महिनाको ७५ रुपैयाँ तिर्न थालेँ । उहाँहरूले मेरो आर्थिक अवस्था देखेर ठुल्दाजुका छोराहरू शशी, समीर र सुमनहरूलाई बिहान पढाउन सहयोग गर्न भन्नुभयो अर्थात् केही आर्थिक उपार्जन होस् भन्ने उहाँहरूको चाहना देखियो ।

त्यसको केही पछि सायद मैले विद्यालयमा पढाउन थालेपछि हुनुपर्छ, एक दिन म नवराज सुवेदी काकालाई भेट्न पुलचोक गएको थिएँ । त्यसबेला गुरु साम्बभक्त सुवेदी पुलचोकमा काकासँग बस्नुहुन्थ्यो । काकाले मलाई सोध्नुभयो- 'एक जना सिन्धुलीकै थापाका सानासाना छोरीहरूलाई नेपाली पढाउँछौ ?' काकाले पनि हिजोका दिनमा त्यसैगरी आफ्नो विद्यार्थी जीवनमा केही उपार्जन गरेर पढाइ चलाउनुभएको थियो होला ।

उहाँलाई के पनि थाहा थियो भने, यस्ता कुरामा मैले नाइँ भन्ने सम्भावना थिएन । नभन्दै काकाको फोनका आधारमा म कर्णजंग थापाजीका घरमा पुगेँ । उहाँका ४ वटी छोरीहरू रहेछन् अति नै संस्कारी र अनुशासित । उत्पला, अनिता, आरती र इशाबेल । दाजु कर्णजंग थापाको परिवारसँग म पहिलेदेखि नै परिचित रहेछु किनभने टीकाजंग थापासँग पनि पहिलेदेखि नै चिनजान थियो, अमर दाइको छोरो अरुण ल्याब स्कुलमा पढेर बोर्डमा आएको थियो र टीका दाइको छोरो असीम पनि ल्याबमा नै थियो ।

मलाई कति पैसा लिने भन्ने त्यस्तो केही पनि थिएन तर कर्णजंग दाइसँगको आत्मीय सम्बन्ध जुन रह्यो, भाउजू कमला थापासँगको आदर्श पारिवारिक सम्बन्ध जुन विकसित भयो र छोरीहरूले आजसम्म पनि मलाई आफ्नो गुरुको रूपमा सम्मान गर्छन्, त्यही नै ठूलो पारिश्रमिक थियो । तर, भाउजूले महिनाको अन्त्यमा जे खाममा राखेर दिनुहुन्थ्यो, त्यसलाई मैले सधैँ सहयोगको रूपमा स्वीकार गरेँ तर कहिल्यै पनि यति चाहिन्छ भनिनँ । उहाँहरूले पनि मलाई परिवारको एउटा गुरु जस्तै, ती छोरीहरूको अभिभावक जस्तै सम्झनुभयो । छोरीहरू सबै नै ज्ञानी र असल थिए तर एउटा अचम्म के भएछ भने, छोरीहरू सबै सेन्ट मेरिजमा नै पढ्थे ।

आरतीले एसएलसी दिँदा मैले केही समय नेपाली सिकाएको थिएँ । म आफैँ पनि नेपाली विषयको थिइनँ तर पनि बाटो देखाउने कामसम्म गरेको थिएँ । उनले त नेपालीमा ८३ अंक ल्याइछन् । त्यसबेलासम्म सेन्ट मेरिज स्कुलबाट त्यति अंक नेपालीमा ल्याउने कुनै पनि छोरी रहेनछन् । वास्तवमा आरती आफैँ सक्षम र  मिहिनेती थिइन् र अहिले बेलायतमा पनि राम्रो चिकित्सकका रूपमा आफ्नो नाम कमाएकी सुन्छु ।

पछि कर्णजंग दाइको देहावसान हुँदा म ग्वाल्टारमा घर बनाउन बसेको थिएँ, पछि सुनेँ दाजु हुनुहुन्न भनेर । मैले उत्पला, अनिता र इशाबेललाई पनि एसएलसी दिनेताका यसो सिकाएजस्तो गरेको थिएँ । दाइका छोरीहरू नै मिहिनेती, हँसमुख र मिलनसार अर्थात् सुसंस्कृत थिए र छन् । इशाबेल अमेरिकामा छन्, उत्पला र अनिता नेपालमा नै छन् । सायद भाउजू कहिले कता कहिले कता गए पनि नेपालमा नै हुनुपर्छ । 

यसरी चाहे घरपट्टिको रूपमा होस् या यसो कहिलेकाहीँ पढाउन गएको घरमा होस्, सम्बन्ध पारिवारिक रूपमा नै राम्रो रहेको सम्झन्छु । यही होला आपसमा गरिने सम्बन्धको असल स्वरूप ।

क्रमशः