अलङ्कारको महाकाव्य ‘विश्रान्त’ को  लोकार्पण

अलङ्कारको महाकाव्य ‘विश्रान्त’ को  लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन २१, २०७८

काठमाडौं । कवि तथा लेखक रूपक अलङ्कारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ लोकार्पण भएको छ । शनिबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले उक्त कृति लोकार्पण गरेका हुन् ।

प्राध्यापन, समालोचना र साहित्य अभियानमा संलग्न अलङ्कारले दोस्रो कृतिका रूपमा महाकाव्य ल्याएका हुन् ।

सदस्य सचिव उपाध्यायले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलई कृतिले प्रश्न मात्र नगरी काव्यिक तरिकाले झापड हानेको बताए । विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको उनले बताए ।

समालोचक डा. ज्ञवालीले महाकाव्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनीतिक परिवर्तनमा एक व्यक्तिले गरेको सङ्घर्षलाई बृहत् रूपमा प्रस्तुत गरेको धारणा राखे । पुस्तकमा रहेको मुख्य पात्रले भोगेको जीवन चरित्र अहिलेको राजनितिक नेतृत्वको प्रतिबिम्ब रहेको ज्ञवालीको भनाइ थियो ।

ज्ञवालीले भने, ‘समाजले साहित्यलाई अनुत्पादक ठाने पनि यस कृतिले नेपाली समाजले भोगेको राजनीतिक सङ्घर्षमा एक व्यक्तिको राजनीतिक आरोहअवरोहमार्फत समाजको चित्रण गरेको छ ।’

समालोचक पौड्यालले सुदूर गाउँबाट अवसरका लागि आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए । 
पछिल्लो समयमा आएका महाकाव्य भन्दा यस महाकाव्यमा फरकपन रहेको उनको भनाइ थियो । ‘यस महाकाव्यमा परम्परागत शैलीलाई पनि छाडिएको छैन भने नयाँ प्रयोग पनि गरिएको छ’, पौड्यालले भने, ‘यस्तो भन्दै गर्दा कृति त्रुटिरहित भने छैन । कृतिले प्रश्न मात्र गरेको छ जबाफको खोजी भने गरेको छैन ।’

अर्का लेखक तथा समालोचक अधिकारीले महाकाव्यको महत्व साहित्यमा व्यापक रहे पनि यसलाई पढ्ने पाठकको कमी किन भइरहेको भन्ने खोजी गर्नुपर्ने धारणा राखे ।
महाकाव्यलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ ।