एकतर्फी गठबन्धन तोड्ने संकेत: वातावरण बनाउन कांग्रेसी नेताको निम्न कोटीको सत्तोसराप !

लोकसंवाद टिप्पणी

एकतर्फी गठबन्धन तोड्ने संकेत:  वातावरण बनाउन कांग्रेसी नेताको निम्न कोटीको सत्तोसराप !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २२, २०७८

‘जंगलराज’ जहाँ नीति, विधि र पद्धति होइन, बलियाले निर्धालाई, ठुलाले सानाको अस्तित्वमाथि धावा बोल्छ । नेपाली राजनीति यति बेला यही जंगलराजको दिशातिर उन्मुख भइरहेको छ ।

जहाँ एकले अर्काको अस्तित्वलाई स्वीकार गर्दैनन् । राजनीतिक दलहरू समाजका नेतृत्वकर्ता हुन् र यिनीहरू राजनीतिक रुपमा प्रतिस्पर्धा गर्छन् भन्ने आम बुझाई हुन्छ ।  राजनीतिमा स्वच्छ प्रतिस्पर्धा र सहकार्य अपेक्षित हुन्छ । एजेन्डाका आधारमा राजनीतिक दलहरूबिच गठबन्धन बन्नु र भत्कनुलाई पनि अनौठो मानिँदैन ।

तर पछिल्लो समयमा राजनीतिक दलहरू शीतयुद्धमा छन् । फरक विचार भएका राजनीतिक पार्टीलाई सभ्य रुपमा राजनीतिक भाषामा विरोध गरिन्छ । तर नेताहरुले भाषणमा प्रयोग गरेका शब्दहरू निकै दयनीय लाग्न थालेका छन् ।

उनीहरू अर्को पार्टीका नेतालाई खुइल्याएर आफूलाई ‘महान्’ बनाउने निम्न कोटीको चेतना स्तर प्रदर्शन गरिरहेका छन् । यस्ता शब्दजालले ति पार्टीका कार्यकर्तालाई क्षणिक मनोरञ्जन, उत्तेजना  र आत्मसन्तुष्टि त देला तर यसले उनीहरूलाई राजनीति संस्कार र सम्मानको राजनीतिमा भने स‌ंकट ल्याइरहेको छ । 

शनिवार एकै दिन देशका दुई ठुला पार्टी एमाले र कांग्रेसका नेता प्रदेश १ का अलग अलग कार्यक्रममा पुगे । दुवै पार्टीको कार्यक्रममा आफ्ना नीति, योजना र कार्यक्रमबारे उपस्थित कार्यकर्ता तथा जनतालाई बुझाउनु भन्दा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीमाथि गालीगलौजमा केन्द्रित भयो । एमसीसी अनुमोदन पश्चात् गठबन्धनको औचित्य समाप्त भएको र गठबन्धन ताेड्न वातावरण बनाउन देशभरका कांग्रेस नेताहरुले  अभियान चलाइ रहेका छैन । 

एमाले लामो समयदेखि अहिलेको सत्ता गठबन्धन र यसमा रहेका दुई पार्टीविरुद्ध शृङ्खलाबद्ध आरोप प्रत्यारोपमा लागेका कारण सो पार्टीका नेताहरूको भनाइलाई अनौठो मानी रहनु पर्ने कारण छैन । 

 किनकि एमालेको यति बेलाको मूल अभियान नै सत्ता गठबन्धनलाई सराप्नु र आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने राग अलाप्ने बाटोमा हिँडिरहेको छ ।तर कांग्रेस अहिले गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ । केही दिनअघि एमसीसी पास गर्ने बेला कांग्रेसका नेताहरू कुरा नमिले गठबन्धनमा नबस्न भन्दै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का नेताहरूलाई धम्क्याइरहेका थिए ।

सायद कांग्रेसलाई राम्रोसँग थाहा हुनुपर्छ कि अहिलेको सरकार टिकाउन ऊसँग पर्याप्त सांसद संख्या छैन । तर कांग्रेस नेताहरू एमसीसी पास गर्न सभामुखमाथि महाअभियोग लगाउन र गठबन्धन तोडेर एमालेसँग हात मिलाउन समेत तयार भएको सन्देश दिएर झुकाउन बाध्य बनायो । 

 कांग्रेस २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो दल बनेको थियो । आगामी वर्ष संसदीय निर्वाचन हुनेछ । आगामी स्थानीय तहको निर्वाचन लगत्तै संसदीय निर्वाचनको माहौल सुरु हुनेछ । तर नेताहरूलाई भने अहिल्यै निर्वाचन लागिसकेको छ । 

यस्ता ‘जंगलराज’ का अभिव्यक्ति दिने र आफूले चुनाव जितेपछि सँगै सहयात्रा गरिरहेको अर्को पार्टीलाई समेत कानमा झुन्डिएको चमेरो देख्ने तथा प्रतिस्पर्धी पार्टीको नेताको चिना टिपन हेर्दे हिँड्नेलाई फेरि सत्ताको चाबी सुम्पिने हो भने देश स्थिरता र विकासको बाटोमा जान्छ ? जसले प्रतिस्पर्धी राजनीतिक पार्टी र नेतालाई सम्मान गर्दैन भने त्यसले जनतालाई सम्मान गर्छ ?

विराटनगरमा आयोजित सभामा कांग्रेसका सभापति शेरबहादुर देउवा इतरका नेताहरुले निर्वाचनमा कांग्रेस एक्लै लड्ने 'ध्वाँस' दिए ।  कांग्रेस उपसभापति धनराज गुरुङले त कांग्रेसलाई हात्ती र गठबन्धनमा रहेका अन्य दललाई हात्तीको कानमा झुन्डिएको चमेरो समेत भन्न भ्याए । 

‘कांग्रेस हात्ती हो । कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ । हात्तीको ठुलो कानभित्र ओत लाग्न पाउँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन्’, गुरुङले भने, ‘हात्तीको कान ठुलो छ भन्दैमा चमेरोलाई ओत दिन्छ भन्ने सपना नदेखे हुन्छ।’

उनी त्यतिमात्रै रोकिएनन् । माओवादी केन्द्र र एकीकृत समाजवादीको स्वार्थमा गठबन्धन गर्न आवश्यक नरहेको तर्क समेत अगाडि सारे । 

विराटनगरमा आयोजित वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भूमिका विषयक विचार गोष्ठीमा नेता शेखर कोइरालाले अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको बताउँदै यो गठबन्धन चुनावसम्मको लागि मात्रै भएको बताए । 

पछिल्लो समयमा सबैभन्दा बढी आक्रामक बनेका छन्, गगन थापा । कांग्रेस त्यही पार्टी हो, जो केही महिनाअघि गण्डकीमा मुख्यमन्त्री बन्न राष्ट्रिय जनमोर्चा र एमालेका साथ पाएर चुनाव जितेका दीपक मनाङेलाई बटुल्दै हिँडेको थियो । उता कर्णालीमा प्रत्यक्षमा एक सिट जितेको कांग्रेस यति बेला सरकारको नेतृत्व गरिरहेको छ । गण्डकीमा जनमोर्चाको साथ पाएर र कर्णालीमा एक सिट जितेर सत्ताको नेतृत्व दाबी गर्ने त्यही कांग्रेसका महामन्त्री गगन थापाले भने कम्युनिष्टहरुको चर्को आलोचना गर्दै 'माले, मण्डले र मसाल' एकै हुन् भन्दै गाली वर्षा गरेका छन् ।

कम्युनिस्ट पार्टीले पाएको जनमत समेत दुरुपयोग गर्दै केपी ओलीले बबन्डर मच्चाएपछि उत्पन्न परिणामको जस लिन अहिले कांग्रेस नेताहरू हानथापमा सक्रिय छन् । विराटनगरको आमसभामा कांग्रेस नेताको अभिव्यक्ति यसैको उपज हो । 

‘पाँच वर्ष शासन गर्छु भन्ने तत्कालीन नेकपाले तीन वर्ष पुग्दा नपुग्दै एक थरी घर पोलेर खरानी घस्दै नाच्न थाले, अर्को थरी हामीलाई घरबाट लखेटियो भन्दै लाइन लागेर सरकार चलाइदिनुपर्‍यो भन्दै काँग्रेसलाई अनुरोध गर्दाको  आए । त्यही कारण २३ वटा सिट जितेको काँग्रेसले केन्द्र सरकार चलाउनु परेको छ’,  महामन्त्री थापाको  भनाइ थियो । 

सोही कार्यक्रममा नेता डा.मिनेन्द्र रिजालले माओवादी र नेकपा एसको तीव्र आलोचना गरे । उनले भने, ‘हाम्रो जहाजमा बसेर केही साथीहरू सवार गर्न खोजिरहेका छन्, निर्वाचन जित्ने अनि सत्तामा जाने कुरा कल्पना गरिरहेका होलान्, त्यस्तो कल्पना नगर्नुहोस् ।’ 

कांग्रेसको जिम्मेवार भूमिकामा रहेका नेताहरूको यस्तो बचकना अभिव्यक्तिले नेपाली राजनीतिमा गठबन्धनको हैसियत र राजनीतिक धरातल प्रस्ट हुन्छ । 

उता झापा पुगेका एमाले अध्यक्ष केपी ओली भने हाँस्य कलाकारको शैलीमा माओवादी केन्द्रको चिना टिपन हेर्न व्यस्त थिए । उनी कार्यक्रममा माओवादी केन्द्र केही दिनमा सकिने ज्योतिषीय भविष्यवाणी पनि गरिरहेका थिए । ओलीले भने, ‘मैले २०५६ सालमा नै माओवादी सकिन्छ भनेको थिएँ । अब त्यो दिन आयो ।’

उनी त्यतिमामात्रै रोकिएनन् । उनले केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको टिप्पणी समेत गरे । ‘अब पम्प हाल्न छोडेपछि त बिस्तारै बेलुन सुक्दै जाँदै छ’, उनले भने, ‘एमसीसी पास गर्नै नहुने हो तर एमालेले सिद्ध्याउने भो भनेर पास गरेको भन्ने प्रचण्डजीका कुरा सुन्छु । कहाँ एमालेले सिद्ध्याउनू, उनले चिनामै त्यस्तो बोकेर आएका छन्, त म के गरौँ ।’

माधवकुमार नेपालको पार्टी भने बन्दै नबनेको बताए । उनले बन्दै नबनेको पार्टी कसरी सकिन्छ भनेर टिप्पणी गरे ।  नेपालका राजनीतिक पार्टीका नेताहरूको यस्ता अभिव्यक्ति सुन्दा र पढ्दा यिनीहरू कुनै राजनीतिक प्राणी हुन् भन्ने आभास नै हुँदैन । यो जंगलराजको नयाँ स्वरूप र त्यसका पात्रहरू जस्ता देखिन्छन् । 

नेताहरूका यस्ता कुतर्क र अपाच्य शब्दावलीको प्रयोगले नेपाली जनतामा भने ठुलो भ्रमको अवस्था सिर्जना हुँदै गएको छ ।  एमाले र कांग्रेस दुवै ठुलो पार्टी हुने भनेको जनताको मन जितेर र मत पाएर नै हो । तर यस्ता ‘जंगलराज’ का अभिव्यक्ति दिने र आफूले चुनाव जितेपछि सँगै सहयात्रा गरिरहेको अर्को पार्टीलाई समेत कानमा झुन्डिएको चमेरो देख्ने तथा प्रतिस्पर्धी पार्टीको नेताको चिना टिपन हेर्दे हिँड्नेलाई फेरि सत्ताको चाबी सुम्पिने हो भने देश स्थिरता र विकासको बाटोमा जान्छ ? जसले प्रतिस्पर्धी राजनीतिक पार्टी र नेतालाई सम्मान गर्दैन भने त्यसले जनतालाई सम्मान गर्छ ? भन्ने आम प्रश्न बन्न थालेको छ  ।

 अर्कोतिर कांग्रेसलाई नसमात्दा आफ्नो सबै थोक गुम्छ भन्ने भ्रममा माओवादी केन्द्र र एकीकृत समाजवादी लघुताभासमा रहँदै आएका कारण पनि समस्या सिर्जना भइरहेको छ ।

यदि जनताको शक्ति भयो भने गुमेको कुरा पनि पाइन्छ भन्ने आत्मविश्वासका साथ केही समय सत्ताबाहिर बस्नुपरे पनि हिम्मतसाथ जनताको घरदैलोमा बस्ने, जनताका आवाज शासन चलाउनेसम्म पुर्‍याउने र जनहित विपरीत नजान शासकहरूलाई खबरदारी गर्ने हिम्मत गर्ने नैतिक साहस नदेखाएका कारण जति नै अपमान सहेर सत्तामा बस्ने प्रवृत्तिका कारण पनि यो अवस्था आइरहेको छ ।  कांग्रेस र एमालेको कुतर्कको सामना गर्दै जनताको विश्वास जित्ने अभियानमा यी दल लाग्ने हो अपमानको यो सिलसिला बढ्ने निश्चित छ ।