पशुपतिको जग्गा माना-चामलमा

पशुपतिको जग्गा माना-चामलमा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

काठमाडौं । जग्गाधनी श्रीपशुपतिनाथ । मोही तारागाउँ विकास समिति । समितिअन्तर्गत सञ्चालित छ, पाँचतारे हायात होटल । पशुपतिको १७ रोपनी जग्गा होटलले प्रयोग गरेको छ, अति सस्तो भाडामा ।

जग्गा प्रयोग गरेबापत होटलले पशुपतिको गुठीलाई वर्षमा एकमुस्ट ३४ हजार रुपैयाँ बुझाउँछ । यो हिसाबले मासिक करिब २ हजार ८ सय रुपैयाँ पर्न आउँछ । 'होटलले करोडौं कमाउँछ, जग्गाधनीलाई नगन्य बहाल बुझाउँछ,' पशुपति क्ष्ाेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकाल भन्छन्, 'भूबहाल पुनरावलोकन गर्न ढिला भइसकेको छ ।' पशुपतिअन्तर्गत अमालकोट कचहरी, भण्डार तहबिल र जयबागेश्वरी भण्डार तहबिल गरी तीन किसिमका गुठी छन् ।

अमालकोट गुठीअन्तर्गत पर्छ तारागाउँकोे जमिन । परापूर्वकालमा गुठी राख्दा मोहीलाई जुन भूबहाल तोकिएको थियो, अहिलेसम्म त्यही छ । शाहवंशीय राजा गीर्वाणयुद्धविक्रम शाहकै पालाका लालमोहरका आधारमा सञ्चालन भएका थिए अमालकोट कचहरी र भण्डार तहबिल ।

नगदको प्रचलन कम भएकाले त्यतिबेला भूबहाल नगद नभई बाली तोकिन्थ्यो । जुन ठाउँमा जुन बाली हुन्थ्यो, त्यहीअनुसार कुत तोकिएको हुन्थ्यो । कोही ठाउँबाट धान, केहीबाट कोदो, मकै । तोरी हुने ठाउँमा तेल, बेत हुने ठाउँमा बेतका सामान तोकिएको थियो । 'तोरी हुने ठाउँमा कोल चल्थे होला, त्यही भएर तेल तोकियो,' ढकाल भन्छन्, 'अहिले त्यहाँ कोल छैनन्, भूबहाल भने तेल नै बुझाउँछन् बजारबाट किनेर ।'

अब्बल, दोयम, सिम र चहार गरी जग्गालाई चार श्रेणीमा विभाजन गरिएको थियो । अब्बल जमिनको प्रतिरोपनी ३० पाथी, दोयमको २५ पाथी, सिमको २० पाथी र चाहरको १० पाथी बहाल तोकिएको थियो । त्यसमध्ये तारागाउँले लिएको जग्गा तेस्रो श्रेणीको पर्छ । यसको बहाल वर्षमा प्रतिरोपनी २० पाथी (एक मुरी) तोकिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।