बालबालिकाका साथमा मनाइयो प्रजातान्त्रिक योद्धा राईको ११३ औँ जन्मजयन्ती

बालबालिकाका साथमा मनाइयो प्रजातान्त्रिक योद्धा राईको ११३ औँ जन्मजयन्ती

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २२, २०७८

काठमाडौँ । वि.सं. २००७ का प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको ११३ औँ जन्मजयन्ती बालबालिकाका साथमा मनाइएको छ ।

रामप्रसाद राई स्मृति प्रतिष्ठान, काठमाडौँले भक्तपुरको सूर्यविनायकस्थित बालबालिकाको घर मुस्कान सेवा नेपालमा गई सो घरमा बसोबास गरिरहेका बालबालिकाका साथमा बुधबार प्रजातान्त्रिक योद्धा राईको ११३ औँ जन्मजयन्ती मनाएको हो ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं। १ का पूर्व मुख्यमन्त्री शेरधन राईले रामप्रसाद राई स्मृति प्रतिष्ठानका तर्फबाट मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी राई गुरुङलाई नगद रु. २० हजार हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले आफू र आफ्नी जीवनसंगिनी जाङ्मु इन शेर्पाका तर्फबाट रु। २५ हजारको चेक मुस्कान सेवा नेपाललाई प्रदान गर्नुभएको थियो । यसै गरी कार्यक्रममा स्मृति प्रतिष्ठानका सल्लाहकार पारुहाङ राईले आफ्ना तर्फबाट रु.२० हजार, स्मृति प्रतिष्ठानका उपाध्यक्ष टंक श्रेष्ठले रु. १० हजार र प्रतिष्ठानका कार्यबाहक अध्यक्ष पासाङदोर्ची शेर्पाले प्रमुख अतिथि राई मार्फत मुस्कान सेवालाई रु।५ हजार हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरणपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री राईले २००७ सालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको ११३ औँ जन्मजयन्ती बालबालिकाका साथमा मनाउन पाउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले देश र जनताका लागि जीवनको पर्वाह नगरी परिवर्तनको आन्दोलनमा होमिएका जननायक राईलाई राज्यबाट उचित सम्मान प्रदान गर्न ढिलाई भइरहेकोमा चिन्ता प्रकट गर्नुभयो । रामप्रसाद राईलाई राज्यले उचित सम्मान दिएमात्र देशलाई योगदान दिने क्रान्तिवीरहरूको उचित सम्मान हुने उहाँको विचार थियो ।

रामप्रसाद राई स्मृति प्रतिष्ठान, काठमाडौँका कार्यबाहक अध्यक्ष पासाङदोर्ची शेर्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत, वडा नं. ८ का अध्यक्ष किरण थापा, स्मृति प्रतिष्ठानका उपाध्यक्ष टंक श्रेष्ठ, मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी राई गुरुङ, स्मृति प्रतिष्ठानकी कोषाध्यक्ष इन्दिरा पोखरेल लगायतले बोल्नुभएको थियो । सोही साँझ बौद्ध स्तुपामा दीप प्रज्वललन कार्यक्रम गरिएको थियो ।