सिक्टा सिँचाइ आयोजना : बस्नेतको स्वार्थले प्रक्रिया मिचेर ठेक्का

सिक्टा सिँचाइ आयोजना : बस्नेतको स्वार्थले प्रक्रिया मिचेर ठेक्का

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

नेपालगन्ज । सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माणका लागि तत्कालीन आयोजना निर्देशक रमेश बस्नेतले नियम, प्रक्रिया सबै मिचेरै भए पनि हतारमा ठेक्का सम्झौता गराए। साढे ५३ किलोमिटर नहर निर्माण गर्न बस्नेतकै अग्रसरतामा ठेकेदार ‘कुमार कालिका जेभी’ले २०७४ साउन १० गते (२४ जुलाई २०१७) तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रुपैयाँमा सम्झौता गरेको थियो।

सम्झौताका क्रममा आयोजना कार्यालयले जति हतार गरे पनि अहिले कामको गति निकै सुस्त छ। एकैपटक तीन अर्बभन्दा बढीको ठेक्का सम्झौता गराउन तत्कालीन आयोजना निर्देशक बस्नेतले ठूलै कसरत गरेको उनका पूर्वसहकर्मी सम्झिन्छन्। ‘कुनै पनि आयोजनामा जिम्मेवारी सम्हाल्न आउने प्रमुखको स्वार्थ नै जति सक्यो धेरै र हतारमा ठेक्का सम्झौता गराउने हुन्छ,’ आयोजनाका एक पूर्वअधिकारीले भने, ‘सिक्टाको पूर्वी नहरमा ठेक्का सम्झौता गराउँदा रमेश बस्नेतले ठूलै कसरत गर्नुभयोे र सफल पनि हुनुभयो।’

त्यतिबेला व्यक्तिगत स्वार्थका कारण ठेक्का सम्झौतामा हतार गरे पनि अहिले काम सुस्त गतिमा चलिरहेको उनले बताए। सम्झौता अनुसार सबै काम सम्पन्न गर्न ठेकेदारलाई २८ महिनाको समय दिइएको छ। ठेकेदारले २०७६ कात्तिक २५ गतेभित्र पूर्वी मूल नहरको सबै काम सक्नुपर्छ। उक्त नहरको सर्भे डिजाइन फेल भएपछि दोस्रोपटक डिजाइन परिर्वतन गरिएको छ। ठेक्का सम्झौता गराउने होडले हतारमा गरिएको डिजाइन फेल भएको कर्मचारी बताउँछन्। नहरको ठेक्का सम्झौता हुनुअघि सर्भे, डिजाइन र इस्टिमेट गर्ने जिम्मा आयोजनाले एक परामर्शदाता कम्पनीलाई दिएको थियो। आजको नागरिक दैनिकमा खबर छ ।