संसददेखि व्यवस्थासम्म असफल बनाउने षड्यन्त्र : पुनः संसद् विघटन दलहरूको 'एजेन्डा' !

लोकसंवाद टिप्पणी

संसददेखि व्यवस्थासम्म असफल बनाउने षड्यन्त्र : पुनः संसद् विघटन दलहरूको  'एजेन्डा' !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २४, २०७८

नेपालको संवैधानिक इतिहास त्यति लामो छैन । तर नेपालमा २००७ सालपछि पटकपटक भएका राजनीतिक परिवर्तन र राजनीतिक व्यवस्था प्रयोगशाला बन्ने र बनाउने कोशिस हुँदै आइरहेको छ । 

राजसंस्था हुन्जेल विभिन्न बहानामा राजाले जनप्रतिनिधिको संस्था संसदमाथि हस्तक्षेप गरे । राजसंस्था अन्त्यपछि संविधानसभाबाट बनेको संविधानमा विगतमा संसदमा निम्तिएको अस्थिरताको अन्त्य गर्दै देशलाई स्थायित्व दिन भन्दै सरकार गठनको विकल्प रहेसम्म प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संवैधानिक व्यवस्था राखियो ।

तर यही संविधान जारी भएपछि पहिलो पटक भएको निर्वाचनमार्फत बनेको पहिलो सरकारले नै जनप्रतिनिधिको संस्था प्रतिनिधिसभालाई दुई/दुई पटक विघटन गरिदियो । 

पहिलो पटक तत्कालीन नेकपा कालमा र दोस्रो पटक नेकपा विभाजनपछि एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरे । दुवै पटक सर्वोच्च अदालतले ओलीको यो कदमलाई विफल पारिदियो । 

दोस्रोपटक ओलीले विघटन गरेको संसद तत्कालीन एमालेको केपी ओली पक्ष र महन्थ ठाकुर समूहबाहेक सबै सांसद एकजुट भएर सर्वोच्चमा मुद्दा हालेपछि २८ असारमा पुनर्स्थापित  गरेको थियो । एमालेको ओली पक्ष र महन्थ ठाकुर पक्षबाहेक अन्य सबैको एउटै एजेण्डा थियो, प्रतिनिधिसभाले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ । 

तर यतिबेला प्रतिनिधिसभाले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ भन्ने सत्ता गठबन्धनमा रहेका दलहरु नै प्रतिनिधिसभा भंग गर्ने बाटो र एक मात्र विकल्पका रुपमा  खोज्न थालेका छन् । एमालेले निरन्तर अवरोध गरेर संसदलाई काम गर्न नदिएपछि सत्ता गठबन्धनमा रहेका दलहरु संसदलाई पूरा कार्यकाल टिकाउनुभन्दा विघटन गर्ने 'मुड'मा देखिएका हुन् । यसलाई एमालेले आफ्नो सफलताको रुपमा लिन थालेको छ भने  सत्ता पक्षकै केही नेताहरु संसद्मा जारी एमालेको अवरोधका कारण प्रतिनिधिसभा भंग गर्नुपर्ने पक्षमा उभिन थालेका छन् । सत्तारुढ गठबन्धनकै केही नेताहरु भने प्रतिनिधिसभा विघटनको विपक्षमा छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध ल्याइएको महाभियोगको प्रक्रिया अघि बढाउँदै ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदलाई पनि समेटिएको छ । योसँगै अब एक साताका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । 

प्रमुख प्रतिपक्षी एमाले यो वा त्यो बहानामा यो संसद चल्दै नदिने पक्षमा छ । सोही कारण गत भदौदेखि एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । एमालेले आफ्नो स्वार्थमा प्रतिनिधिसभा प्रयोग नहुँदा यसलाई जसरी पनि सिध्याउने खेलमा एमाले लागेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीलाई भुल्दै एमालेले कृत्रिम नारा सिर्जना गरेर निरन्तर संसद अवरोध गर्दै आएको छ । जसका कारण संसदले पूर्ण रुपमा काम गर्न सकेको छैन । यद्यपि एमालेको विरोधकै बीच  संसदले आफ्ना कारबाही अघि बढाउँदै आएको छ । तर संसद जुन वातावरणमा चल्नुपर्ने हो,  त्यो नहुँदा यसको औचित्यमाथि प्रश्न समेत उठ्न थालेको छ । 

सत्ता गठबन्धनले जसरी पूर्ण कार्यकाल संसदले काम गर्न पाउनुपर्छ भन्ने माग राख्दै आएको थियो । त्यसविपरीत अब विघटनको आवाज उठ्न थालेको हो । एमालेले धराप थापेर संसद चल्दै नदिने भएपछि विघटन नै विकल्प भएको कतिपय नेताको बुझाई छ ।

एमाले यो संसदलाई सिध्याउन कै लागि दुई दुई पटक बिघटन गरेको थियो। तर सर्वोच्चले एमालेको मिसन असफल पारेपछि निरन्तरको अवरोध र संसदलाई बन्धक बनाउने रणनीतिमा एमालेले काम गरिरहेको छ । एमालेले जुन तर्कसहित संसद अवरोध गरिरहेको छ, त्यो केबल बनावटी बालहठको तर्क मात्रै हुन् । एमालेको यही अवरोधका कारण यतिबेला सत्ता गठबन्धनमा पनि संसद विघटनको चर्चा सुरु भएको छ । 

सत्ता गठबन्धनले जसरी पूर्ण कार्यकाल संसदले काम गर्न पाउनुपर्छ भन्ने माग राख्दै आएको थियो । त्यसविपरीत अब विघटनको आवाज उठ्न थालेको हो । एमालेले धराप थापेर संसद चल्दै नदिने भएपछि विघटन नै विकल्प भएको कतिपय नेताको बुझाई छ । तर अहिले संसद अवरोध भएकै कारण विघटन गर्ने र नयाँ निर्वाचन गर्ने भन्ने कुरा त्यती  सहज  देखिदैन ।

किनकि निर्वाचनपछि पनि आउने राजनीतिक दलहरु पनि यी नै हुन् । यसमा कुनै फेरबदल नआउने भएपछि यस्ता एजेण्डा र स्तर हीन राजनीतिक दलहरुबाट उन्नत प्रजातान्त्रिक अभ्यासको परिकल्पना नै गलत हो । फेरि निर्वाचन भयो भने पनि संसदमा आउने यिनै राजनीतिक दल र यिनै नेता हुन् । त्यसकारण अब नयाँ निर्वाचन हुँदैमा देशले निकास पाउँछ भन्न विश्वसनीय आधार देखिदैन । 

किनकि यी राजनीतिक दलहरु सुध्रिने सम्भावना निकै कम देखिँदै छ । त्यसैले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा भनेको यी नै दल र नेतालाई जिताउनु अर्थात् अस्थिरता र अराजकतालाई अनुमोदन गर्नु हो ।

यसअर्थमा यी राजनीतिक दल र नेताहरुबाट अब निकास सम्भव छैन भन्ने निश्कर्ष निकाल्न बाध्य पारिरहेका छन् । संसदीय राजनीतिक व्यवस्थाका सञ्चालक  दलहरुका यस्ता विकार युक्त चेतना भएका नेता रहुन्जेल सम्म देशले निकास पाउने सम्भावना भने कम देखिन्छ । त्यसैले संसदको नयाँ निर्वाचनले मात्रै समस्याको हल निकाल्नेमा ढुक्क हुन सक्ने अवस्था छैन ।