कांग्रेसमा १२ सय उजुरी : नेताहरूविरुद्ध स्वदेश मात्र होइन, विदेशबाट पनि उजुरी

कांग्रेसमा १२ सय उजुरी : नेताहरूविरुद्ध स्वदेश मात्र होइन, विदेशबाट पनि उजुरी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँविरुद्ध पनि उजुरी परेको छ । कांग्रेसको महासमिति सदस्यसमेत रहेका खनियाँ गत संसदीय निर्वाचनमा उम्मेदवार बन्न चितवनबाट सिफारिसको सूचीमा परेका थिए । तर, उनले टिकट पाएनन् । कांग्रेसका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै उनीविरुद्ध यसअघि नै उजुरी परेको थियो । उजुरी परेपछि खनियाँसँग स्पष्टीकरण सोध्ने तयारी तत्कालीन समितिले गरेको थियो । तर, समिति काम नै अघि नबढाई निष्क्रिय हुन पुग्यो । अहिले बनेको अनुशासन समितिले पहिलेका उजुरीको फाइल पनि खोल्न थालेको छ । उनीविरुद्ध परेको उजुरीमा छानबिन हुने, आवश्यक परे पत्र काट्ने र पुष्टि भए कारबाही गर्ने कांग्रेस अनुशासन समितिले जनाएको छ ।

पार्टी अनुशासनविपरीत काम गरेको भन्दै कांग्रेस अनुशासन समितिमा एक हजार दुई सय उजुरी परेका छन् । निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग नगरेको, विपक्षी दलको उम्मेदवारलाई जिताउन भूमिका खेलेको, टिकटमा मनोमानी भएकोजस्ता विषयमा बढी गुनासो परेको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

स्याङ्जामा गोपालमान श्रेष्ठकै कारण निर्वाचन हारिएको भन्दै पुराना नेता भोजराज अर्यालले उजुरी दर्ता गराएका छन् । प्रभावशाली नेता श्रेष्ठले उम्मेदवार मिलाउन नसक्दा आफू पनि हारेको र पार्टीलाई पनि हराएको आरोप उनीमाथि लागाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।