नेकपा (एकीकृत समाजवादी) : सम्पूर्ण पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा परिचालित हुन आह्वान

नेकपा (एकीकृत समाजवादी) : सम्पूर्ण पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा परिचालित हुन आह्वान

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २४, २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पहिलो पोलिटब्यूरो बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले  पार्टी पुनर्गठनदेखि हालसम्मका संगठनात्मक कार्यहरूको समीक्षा,वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण आगामी निर्वाचन र आगामी कार्य योजना समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पोलिटब्यूरो बैठकमा  अध्यक्ष नेपालले पार्टीको सम्पूर्ण शक्तिलाई पूर्ण उत्साहका साथ क्रियाशील हुन आफूहरूले प्राप्त गरेका उपलब्धिहरूमाथि गौरव गर्न र सम्पूर्ण पार्टी पङ्क्तिलाई आसन्न स्थानीय तहको निर्वाचनमा परिचालित हुन आह्वान गरेका थिए ।

एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्ने विषयमा आफूहरूले धेरै नै सुझबुझ पूर्ण  निर्णय गरेको, अहिलेको राजनीतिक परिस्थितिमा  संसद्ले व्याख्यात्मक घोषणा साथ पारित गर्नाले हामीले उठाइरहेको आवाजलाई राष्ट्रिय अडानको रुपमा परिणत गर्न सफलता प्राप्त गरेको, पार्टी तथा देशमा हुन सक्ने विभिन्न प्रकारका क्षतिहरूबाट देशलाई जोगाएको धारणा राख्दै ‘हाम्रो पार्टी न कसैसँग झुक्छ, न कुनै कुरामा बहकिन्छ,जहिले पनि देशको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताएका थिए । एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गर्दा हामीले आफ्नो सिद्धान्तलाई तिलाञ्जली गरेका होइनौ बरु  देशको परिस्थितिलाई मध्यनजर गर्दै गठबन्धनको  साझा निर्णय गरेका हौँ ।’ अध्यक्षले भनेका थिए । 

 आगामी बुधवार र बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि सोमबारको पोलिटब्यूरो बैठकमा छलफल भएको बताइएको छ । नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा ३७ जना सदस्यहरूले टिप्पणी गरेका छन् । 

प्रतिवेदनमाथि टिप्पणी गर्दै सदस्यहरूले संगठनलाई व्यवस्थित गर्न पार्टी तथा जन वर्गीय संगठन सबैलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् । 

एमसिसीबारे मतभेद भए पनि पार्टी निर्णयलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने सदस्यहरूले बताएका छन् ।  पोलिटब्यूरो सदस्यको सुझावको आधारमा अध्यक्षले राजनीतिक प्रतिवेदन परिमार्जनसहित केन्द्रीय कमिटी बैठकमा पेस गर्ने कार्य योजना छ ।

बैठकमा नेपालले पार्टीले सुझबुझ पूर्ण निर्णय गरेको, देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णय लिएको बताएका थिए । गठबन्धन बनाउन र निरन्तरता दिन पार्टीले खेलेको भूमिकाबारे नेपालले चर्चा गरेका थिए । 

पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नु पर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरणहरू समेटिएको अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरूले सुझाव दिएसँगै पोलिटब्यूरो बैठक सम्पन्न भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।