एनआरएनएमा एक पक्षीय ढंगले निर्वाचन कार्यक्रम अगाडि बढाइयो

एनआरएनएमा एक पक्षीय ढंगले निर्वाचन कार्यक्रम अगाडि बढाइयो

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २४, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा डेलिगेट्स विवाद समाधान नगरीकनै अध्यक्ष कुमार पन्तको दबाबमा निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ । संघको अन्तर्राष्ट्रिय समिति (आईसीसी)का लागि सोमबार र मंगलबार नोमिनेसन गर्ने मिति तोकिएको छ ।

उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष पन्तले पठाएको ३ हजार ६०० भन्दा बढी प्रतिनिधिको नाम प्रकाशन गरेर निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएको हो ।

उच्चस्तरीय समितिका संयोजक तथा संघका प्रमुख संरक्षक शेष घलेले निर्वाचन समितिलाई एक पत्र पठाउँदै दाबी-विरोध गरेका थिए । उनले पन्तसमेत रहेको समितिले गरेको छानबिनको आधारमा झन्डै २ हजार ६०० प्रतिनिधि मात्र मतदान गर्न योग्य रहेका निर्वाचन समितिलाई जानकारी गराएका थिए । तर, पन्तको ठाडो दबाबमा निर्वाचन समितिले घलेले पठाएको सूचीबारे सुनुवाइ नै गरेन ।

सेल्फी अनिवार्य गर्ने, विधानमै नभएको वैकल्पिक मतदाताले पनि भोट हाल्न पाउनेजस्ता प्रावधान राखेर समितिले गराउन लागेको निर्वाचन संघभित्रको भ्रष्ट गिरोहलाई निर्वाचित गर्ने षड्यन्त्र मात्र भएको एनआरएन अभियन्ताहरूले जनाएका छन् । त्यही भ्रष्ट गिरोहको ‘डमी उम्मेदवार’को रूपमा आफूलाई ‘डेमोक्र्याट’ दाबी गर्ने रविना थापाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएकी छन् । तर, एनसीसी अमेरिकाले अहिलेसम्म केन्द्रलाई सदस्यता शुल्क नबुझाएकाले उनको उम्मेदवारी रद्द हुने बताइएको छ ।

यसैबीच संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदमा गत वर्ष नै उम्मेदवारी घोषणा गरेका कुल आचार्यले एक पक्षीय रूपमा नोमिनेसन गराएर निर्वाचन कार्यक्रम अगाडि बढाउनुको कुनै अर्थ नभएको बताएका छन् । ‘यस्तो कदमले संस्थालाई विभाजनतर्फ धकेल्ने निश्चित छ । हामी हदैसम्म लचक हुँदा पनि हाम्रो सदासयलाई कमजोरीका रूपमा हेर्ने गल्ती नगरियोस्’, आचार्यले भने ।

आईएलओ घोटाला, प्रतिनिधि सूचीमा एकलौटी गरेका कारण परराष्ट्र र अदालतसम्म पुगेको विवादका बीच कुमार पन्त नेतृत्वको कार्यसमितिले एकलौटी चुनाव गराउन लागेको हो । तर, आइतबार भेला भएका ७० प्रतिशतभन्दा बढी एनसीसी अध्यक्षहरूले नाम मात्रको एक पक्षीय चुनावले समस्याको समाधान नहुने भन्दै डेलिगेट्स विवाद समाधान गरेर मात्र निर्वाचन गराउन आह्वान गरेका थिए ।