संसारमा लैङ्गिक समानताको अभियान: केवल औपचारिक र लमतन्न नारामा सीमित

संसारमा लैङ्गिक समानताको अभियान: केवल औपचारिक र लमतन्न नारामा सीमित

रोशनी अधिकारी  |  दृष्टिकोण  |  फाल्गुन २४, २०७८

महिला हिंसा, विभेद र शोषणका घटनाका समाचार पत्रपत्रिकामा छापिई नै रहेका छन् । अझै पनि हाम्रो समाजमा कहीँ कतै जन्म उत्सवदेखि मृत्यु संस्कारसम्ममा भेदभाव र अपहेलना गरिन्छ । तर, त्यो पनि धेरै महिलाको साहस र सहभागिताले अन्त्य होला भन्ने विश्वास छ ।

'नारी पुरुष सरोबरी, सधैँभरि बरोबरी' भन्ने तथ्यलाई हृदयङ्गम गर्दै प्रत्येक वर्ष ८ मार्चका दिन विश्वभर नारी दिवस मनाइरहँदा हामी सम्पूर्ण नारी र पुरुषलाई शुभकामना दिन चाहन्छौँ । महिलाहरूको हकमा यस दिनले विशेष महत्त्व राख्छ किनभने यस दिनले विशेष रूपमा लैंगिक समानताको व्यापक वकालत त गर्छ नै, नारीविरुद्ध हुने अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरूलाई जागरुक पनि बनाउँछ । यस दिनले नारी र पुरुष दुवैलाई महिलाप्रति सम्मानको बोध पनि गराउँछ ।

क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेकी हुन् भन्ने मानिँदै आएको छ । उनैले नेतृत्व गरेको आन्दोलनले अन्तर्राष्ट्रियस्तरमा महिलाको श्रम, हक र अधिकारका पक्षमा व्यापक पक्षपोषण गर्न सफल भएपछि संयुक्त राष्ट्रसंघले आफ्नो वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्यता दिएको थियो ।

सन् १९०८ मा न्युयोर्क सिटीमा १५ हजार महिला भेला भएर काम गर्ने समय घटाउनुपर्ने, महिलालाई पनि उचित ज्याला दिनुपर्ने र उनीहरूलाई पनि मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेपछि त्यसको बीजारोपण भयो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको पहिलो आवाज थियो भने उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा उनले नै यो उपाय सुझाएकी हुन् । त्यस सम्मेलनमा १७ देशका १०० महिला सहभागी थिए । उनीहरू सबैले जेट्किनको सुझावमा सहमति जनाएका हुन् ।

इतिहासको पाना पल्टाउने हो भने प्रथम पटक अष्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो । संयुक्त राष्ट्रसंघले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो ।

संयुक्त राष्ट्रसंघले संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो । फरकफरक वर्षमा फरकफरक दिनमा मनाउँदै आएका भए तापनि सन् १९१४ देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको ८ मार्चमा मनाइने गरी निश्चित मिति तोकियो ।

नेपाली पञ्चाङ्गअनुसार यो दिवस २४-२५ फागुनतिर पर्छ । यसरी संसारका विभिन्न देशले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा नेपालले तत्कालीन प्रधानमन्त्री बी.पी. कोइरालाको पालामा अर्थात् २०१६ सालदेखि नियमित रूपमा मनाउन थालिएको पाइन्छ ।

अहिले अन्तर्राष्ट्रिय महिला दिवस भन्नेबित्तिकै आज नारीहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे र महिलाको सामाजिक प्रतिष्ठा के छ भनेर मनाउने दिन बनेको छ । तर, यस दिनको राजनीतिक धरातल भने निरन्तरको असमानताबारे चेतना जगाउनुका लागि आन्दोलन र प्रदर्शन आयोजना गर्ने आन्दोलनको एउटा स्वरूपको रूपमा मनाउँदै आएको पाइन्छ ।

यसरी हरेक वर्षको ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आइरहेकोमा १८ डिसेम्बर १९७२ डिसेम्बरका दिन संयुक्त राष्ट्रसंघको साधारणसभाले एक प्रस्ताव पारित गरेर सन् १९७५ लाई अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्षका रूपमा मनायो, जसमा संसारका विश्वभरका सबै नारी पुरुष सरह स्वतन्त्र र बन्धन मुक्त होऊन्, उनीहरूमा पनि जागरण पैदा होस् र पुरुषमा पनि महिला स्वतन्त्रता र महिला अधिकार आवश्यक छ भन्ने भावनाको विकास होस् भन्ने विश्वव्यापी मान्यता रहेको थियो ।

महिलालाई सम्मान र समाजमा समान हैसियतमा राख्नु सबैको कर्तव्य पनि हो । पछिल्ला दिनहरूमा महिला हिंसासम्बन्धी निकै घटनाहरू हुने गरेका छन् । समयमा नै न्याय निरूपण नहुँदा समाजमा महिलाप्रतिको विभेद अझै कायम छ कि भन्ने आभास आममहिलावादी आन्दोलनकर्मीहरूले अनुभूत गर्दै आएको विषय हो । यस सन्दर्भमा नेपालमा पछिल्ला दिनहरूमा घटेका महिला हिंसासम्बन्धी घटनाहरूमा सम्बन्धित निकायबाट समयमा नै दोषीलाई न्यायको कठघरामा उभ्याउने कार्यको थालनी हुन सक्यो भने महिलाप्रतिको सम्मानलाई थप ऊर्जा मिल्ने नै छ।

यसको निरन्तर खबरदारीको रूपमा ८ मार्चमा महिला दिवस मनाउन आजको आवश्यकता हो । नेपालमा पनि अहिलेसम्म महिला आन्दोलनको स्वरूप बदलिए तापनि अधिकारका लागि निरन्तर रूपमा सजग भई खबरदारी गरिरहनु मा आजको महिला दिवसको सान्दर्भिकता भइरहनेछ ।

आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारी पात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरीभित्र नै एउटा पुरुषको जीवनका अवयव चलायमान हुन्छन् । आज तिनै नारीहरूको सम्मान र हार्दिकतालाई स्वीकार गर्दै ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरुकताको एक महत्त्वपूर्ण दिवस पनि हो ।

महिला दिवसका दिन संसारभरि विभिन्न कार्यक्रम गरी सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयाममा नारीहरूको सक्रिय सहभागिता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैंगिक समानता एउटा अभियान केवल औपचारिक र लमतन्न नारा भएको छ । अति विकसित भनिएका देशहरू पनि नारी उत्पीडन पनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् भन्ने विभिन्न पटक प्रकाशित समाचारहरूबाट पनि प्रष्ट भएको छ ।

नेपाल पनि यसपालि नारी समानतामा एउटा युगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चाल्ने क्रममा नै छ । मुलुकको सबैभन्दा उच्च पद राष्ट्रपतिमा पनि महिला नै आसिन भएको हामीले देख्न पाएका छौँ । केही वर्षअघि त झन् प्रधानन्यायाधीश र सभामुख पनि महिला नै थिए । संसद् र शासकीय संरचनामा पनि महिला उपस्थिति बढ्दो क्रममा छ । त्यस्तै, नेपालका ठूला राजनीतिक दलहरूमा पनि महिलालाई राजनीतिमा उचित स्थान दिनुपर्छ भनि आफ्नो सांगठनिक संरचनामा व्यापक परिवर्तन गरी समावेशी र सहभागितामूलक संगठनको ढाँचा तयार गरेको पाइन्छ ।

आज संसारले यसअर्थमा नारी दिवसको यस दिन नेपालीले राष्ट्रको महत्त्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनोटलाई बेवास्ता गर्न सक्दैन । तर पनि कमजोर कानुनी प्रावधान अनि नेपाली समाजको पैतृक लैंगिक संरचनाका कारण दैनिकजसो समाचारमा महिला हिंसाका धेरै घटना सार्वजनिक हुने गर्छन् । कति कानुनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटाबीच लुकाइन्छ, दबाइन्छ । यसले वास्तविक महिलाको सामाजिक विकासमा पुर्‍याएको योगदानको अवमूल्यन गरेको छ ।

यसरी विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो । श्रीलंकामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे । नेपालमा प्रधानमन्त्री बीपी कोइरालाको प्रधानमन्त्रित्व कालमा द्वारिकादेवी ठकुराठीको मन्त्रिमण्डलमा प्रवेश, सुशीला कार्कीको सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको रूपमा हुनु प्रवेश हुनुका साथै अहिले आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति पदमा महिला पुग्नु भनेको यो सवालमा विश्व इतिहासमा नेपाल अग्रपंक्तिमा देखापर्नु हो । यसलाई महिलाप्रतिको सम्मानको सकारात्मक रूपमा लिनुपर्छ । तर, यो एउटा प्रयास मात्र हो । राज्यको हरेक अंगमा महिलाको समान सहभागिताको अपेक्षा आमनेपाली महिलाहरूले गरिरहेका छन् ।

विश्वका महिलाहरूले नेपालका महिला सहभागिताको उदाहरण देखेर गर्वको अनुभूति गर्नुपरेको छ । यो उदाहरण नै अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्षको उपादेयता हो । यस प्रकार नेपालमा एकै समयमा राजनीतिक र न्यायिक उच्च पदमा महिला सहभागी हुनुले विश्वमा महिला सहभागितामा नेपाल अझ बलियो बन्दै गएको छ । यति हुँदा पनि नेपालका महिलाले अधिकार पाइएन, पुरुषको दास भएर बस्नुपर्‍यो, भात-भान्सामा रुमलिनु पर्‍यो भन्नु मानसिक रूपमा कमजोर महसुस गर्नु हो । सक्षम र सबल महिलाहरू समाजका हरेक अंगमा अग्रस्थानमै छन् र प्रयास पनि जारी रहनेछ ।

धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र शक्तिकी देवी दुर्गा भनेर नारीलाई पूजा गर्ने हाम्रो नेपाली समाज महिलालाई भने पुरुष समान व्यवहार गर्ने गरेको पाइँदैन । यो एउटा कमजोरी हो ।

महिला हिंसा, विभेद र शोषणका घटनाका समाचार पत्रपत्रिकामा छापिई नै रहेका छन् । अझै पनि हाम्रो समाजमा कहीँ कतै जन्म उत्सवदेखि मृत्यु सँस्कारसम्ममा भेदभाव र अपहेलना गरिन्छ । तर, त्यो पनि धेरै महिलाको साहस र सहभागिताले अन्त्य होला भन्ने विश्वास छ ।

हाम्रो समाजले अवलम्बन गर्ने धार्मिक एवं सांस्कृतिक मान्यताले नै महिला र पुरुषलाई असमान गराई विभेद गरेको तीतो यथार्थ हरेकको मानसपटलमा बसिरहेको छ । आजको २१औँ शताब्दीको यो वैज्ञानिक एवं विश्व भूमण्डलीकरणको युगमा समेत पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेद पूर्ण कानुनका कारण जबर्जस्ती करणी, यौन दुर्व्यवहार, एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथालगायतका अमानवीय व्यवहार सहन बाध्य भएका छन् नेपाली महिला ।

एक नदीका २ किनार अथवा एक रथका २ पाङ्ग्राको रूपमा नारी-पुरुष समान भनी आवाज उठाए पनि व्यवहारमा भने नारीलाई यो दर्जा मिल्न सकेको छैन । प्रत्येक वर्ष ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसाविरुद्धको आवाज बुलन्द पार्न एउटा सहभागितामूलक समावेशिता र सहकार्य गरी अगाडि बढ्ने समाजमा महिलाको पहिचानको रूपमा बनाउनुपर्छ भन्ने हो ।

महिला हिंसा अन्त्य गरी भयरहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्नु यस दिवसको मुख्य लक्ष्य हो । राजनीतिक तवरबाट सुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र महिला समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

सन् २०२० मा अन्तर्राष्ट्रिय महिला दिवसका दिन किर्गिस्तानमा दर्जनौँ महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो । अन्तर्राष्ट्रिय महिला दिवस अभियानले भनेको छ, 'झन्डै एक शताब्दीसम्म लैंगिक समानता हुनेछैन । हामीमध्ये कसैले पनि यो जीवनकालमा लैंगिक समानता देख्न पाउनेछैनौँ र हामी धेरैका सन्तानहरूले पनि देख्नेछैनन् । के यो सत्य हो त ?

यूएन वुमिनले सार्वजनिक गरेको हालैको तथ्यांकले कोरोना भाइरसको विश्वव्यापी महामारीले २५ वर्षको बढ्दो लैंगिक समानतालाई पछाडि पार्ने खुलासा गरेको छ । महामारीका कारण महिलाहरू घरको चौघेरामै सीमित भएर घरायसी कामकाज र परिवारको रेखदेख गरिरहेका छन् । यसले गर्दा महिलाको जागिर र शैक्षिक अवसरहरूलाई असर गर्नेछ ।

कोरोना भाइरस महामारी फैलिन थालेका बेला सन् २०२० मा विश्वभरि र्‍यालीहरू भए । किर्गिस्तानको राजधानीमा सन् २०२० मा भएको प्रदर्शनमा दर्जनौँ महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो । अभियानकर्मीहरूले महिलाका अधिकारहरू खस्किँदै गएको बताएका छन् । यस्तै, अफगानिस्तानमा पनि पछिल्लो राजनीतिक परिवर्तनले विगतमा भएका महिला अधिकार र सम्मानलाई खुम्च्याएको छ । यसरी महिला आन्दोलनका स्वरूपहरू देखापरेका पाइन्छ।

पाकिस्तानमा पनि हिंसा र मुद्दा लाग्न सक्ने धम्की दिइए पनि थुप्रै शहरमा र्‍यालीहरू भएका थिए । मेक्सिकोमा महिलाविरुद्ध हिंसा बढ्दै गएको भन्दै ८० हजार मानिस सडकमा ओर्लिएका थिए । त्यसक्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा ६० भन्दा बढी मानिस घाइते भएका थिए । विगतका केही वर्षमा हामीले प्रगति देखेका छौँ र महिला आन्दोलन विगतमा कहिल्यै नपुगेको उचाइमा पुगेको छ ।

यसको निरन्तर खबरदारीको रूपमा ८ मार्चमा महिला दिवस मनाउन आजको आवश्यकता हो । नेपालमा पनि अहिलेसम्म महिला आन्दोलनको स्वरूप बदलिए तापनि अधिकारका लागि निरन्तर रूपमा सजग भई खबरदारी गरिरहनु मा आजको महिला दिवसको सान्दर्भिकता भइरहनेछ ।

(आईएनएसडटन्युजबाट)