माओवादी केन्द्रका अनुशासन आयोगको अध्यक्ष टंक राईले पार्टी छोडेको घोषणा गर्दै

माओवादी केन्द्रका अनुशासन आयोगको अध्यक्ष टंक राईले पार्टी छोडेको घोषणा गर्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अनुशासन आयोगको अध्यक्ष तथा स्थायी कमिटीका पदेन सदस्य टंक राईले पार्टीमा दोस्रो दर्जाको व्यवहार गरेको भनी असन्तुष्टि जाहेर गर्दै पार्टी छोडेको घोषणा गर्ने तयारी थालेका छन् ।

पार्टीबाट अलग हुने र अब के गर्ने भन्ने बारेमा गृहकार्यमा जुटेको बताइएको छ । पूर्व सांसद समेत रहेका राईले लोकसंवादलाई भने-'माओवादी केन्द्र आफूले छोडी  नसकेको तर पार्टीमा असन्तुष्ट रहेको र केही बिचार मिल्ने साथीहरूका बीचमा कसरी अगाडि बढ्ने बारेमा गृहकार्यमा छौँ ।  सम्भवत केही दिनमा नै पार्टी छोडेको घोषणा गर्छौं ।'

सिपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भएर टंक राई नेपाल कम्युनिस्ट पार्टी गठन गर्दै अन्य दर्जनौँ केन्द्रीय नेतासहित नेकपा ९माओवादी केन्द्र० सँग पार्टी एकतामा समाहित भएका थिए । एकीकरणपछि टंक राईलाई सुरुमा पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिएको थियो भने पछिल्लो समयमा अनुशासन आयोगको अध्यक्षको जिम्मेवारी  दिएको थियो । सोही एकताबाट आएका रामहरि कार्की र अबेम्बर राईलाई पोलिटव्यूरो सदस्यको जिम्मेवारी माओवादी केन्द्रले  दिइएको थियो ।

नेता राईले के विषयमा असन्तुष्टि रहेको नबताए पनि आफूसँगै एकतामा समाहित भएका अन्य नेताहरूलाई पार्टीमा कुनै स्थान दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तयार नभएका कारण अलग्गै पार्टी वा मोर्चा निर्माणको गृहकार्यमा जुटेको बताइएको छ । 

नेता राई निकट एक नेताका अनुसार गोपाल किराती र अशोक राई लगायतका नेताहरुसँग अलग्गै पार्टी बनाएर जाने कि मोर्चा बनाएर जाने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।