तीन दिनको मौसम पूर्वानुमान : पूर्वी तराईमा वर्षाको सम्भावना

तीन दिनको मौसम पूर्वानुमान : पूर्वी तराईमा वर्षाको सम्भावना

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका केही ठाउँमा हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

विभागका अनुसार आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली हुने र बाँकी भागमा आंशिक बदली रहने सम्भावना छ । ‘देशका थोरै स्थानमा अपरान्हपश्चात मेघ गर्जन र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ,’ विभागको वेबसाइडमा उल्लेख छ ।

यस्तै, सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली हुने, पूर्वी तराईका भू–भागमा आंशिक बदली र बाँकीमा मौसम सफा हुने विभागले जनाएको छ । विभागका अनुसार पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली हुने, बाँकीमा आंशिक बदली हुने सम्भावना छ । यस्तै, देशका पहाडी भू–भागलगायत पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।