नेटो र पश्चिमाले 'नो फ्लाई जोन' लागू गर्न अस्वीकार: रुसलाई युक्रेनका बस्तीमा बमबारी गर्न 'ग्रिन सिग्नल' !

नेटो र पश्चिमाले 'नो फ्लाई जोन' लागू गर्न अस्वीकार: रुसलाई युक्रेनका बस्तीमा बमबारी गर्न 'ग्रिन सिग्नल' !

लोकसंवाद संवाददाता  |  विदेश  |  फाल्गुन २६, २०७८

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्ना पछिल्ला केही भिडियो पोस्टमा युक्रेनलाई 'नो फ्लाई जोन' बनाउन अपिल गरिरहेका छन् । आफ्नो एक अपीलमा उनले किएभको दक्षिण–पश्चिममा रहेको सहर विनितस्याको नागरिक हवाई अड्डा पूर्ण रुपमा ध्वस्त भएको बताएका थिए । साथै सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले संसारका नेताहरुलाई युक्रेनमा 'नो फ्लाई जोन' बनाउन अपिल दोहोर्‍याएका थिए । यो पोस्टमा उनले मानिसहरुलाई बचाउनु संसारका नेताहरुको मानवीय दायित्व भएको पनि बताएका थिए । 

उनले भनेका थिए, ‘यदि तपाईहरु यस्तो गर्नुहुँदैन र आफ्नो रक्षा गर्नका लागि हामीलाई लडाकू विमान पनि नदिने हो भने यसको एउटै निष्कर्ष निकाल्न सकिन्छ र त्यो के हो भने तपाईंहरु पनि विस्तारै विस्तारै हामीलाई मारियोस भन्ने चाहनुहुन्छ ।’ नेटो देशले अहिलेसम्म युक्रेनलाई 'नो फ्लाई जोन'  बनाउने कुरा अस्वीकार गर्दै आएका छन् । 

सोमबार युक्रेनका राष्ट्रपतिले एक वक्तव्य जारी गर्दै अमेरिका र सहयोगी पश्चिमा देशले आफ्नो हिस्साको जिम्मेवारी निभाएमा आफ्नो देश युक्रेनले रुसको आक्रामकताको पूर्ण रुपमा सामना गर्न सक्ने र रुसलाई हराउन पनि सक्ने बताएका थिए ।

जेलेन्स्कीले एक्सियोस न्युजलाई दिएको एक अन्तर्वार्तामा रुसमाथि लगाएको प्रतिबन्धले ठीक तरिकाले काम गरिरहेको बताएका थिए । उनले रुसका केही बैंकलाई स्वीफ्ट सिस्टमबाट हटाउने निर्णय, साथै युक्रेनलाई थप स्टिङ्गर मिसाइल, एन्टी ट्यांक हतियार दिने निर्णय सबै सही दिशामा नै भएको बताएका थिए । ‘हामी पश्चिमी देशले युक्रेनका महत्वपूर्ण क्षेत्रमाथि 'नो फ्लाई जोन'  बनाउन माग पनि गर्दछौं’,  आफ्नो बयानमा उनले भने, ‘हामी आक्रामकतालाई हराउन सक्छौं र हामी संसारलाई यो साबित पनि गरिरहेका छौं । तर हाम्रा सहयोगीले आफ्नो भूमिका निभाउनुपर्नेछ ।’ 

यद्यपि नेटोले शुक्रबार नै युक्रेनको यो माग अस्वीकार गरेको थियो । नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले 'नो फ्लाई जोन'  लागू गरेमा नेटो र रुसबीच सिधा संघर्ष सुरु हुने बताएका थिए । साथै उनले यसबाट हुने मानव–त्रासदी धेरै भयावह हुने पनि उल्लेख गरेका थिए । 

पूर्व अमेरिकी वायु सेनाका जनरल फिलिप ब्रिडलोभले 'नो फ्लाई जोन' को मागको समर्थन गर्नु नेटोका लागिमात्रै नभए पूरै संसारका लागि गम्भीर फैसला हुनेछ । उनी भन्छन्, ‘यसो गर्नु भनेको सिधा रुपमा विश्वयुद्धको आव्हान गर्नु हो ।

उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो कुनै प्रकारको कारबाही भएमा त्यसलाई रुसले सिधा रुपमा युद्धमा सामेल मानिने चेतावनी दिइसकेका छन् । उता अमेरिकी अधिकारीले पनि राष्ट्रपति जो बाइडेन यसप्रकारको कुनै 'जोन'को पक्षमा नरहेको जनाउ दिइसकेका छन् । 

यसै विषयलाई लिएर युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पश्चिमा गठबन्धनका नेताहरुले 'नो फ्लाई जोन' बनाउन अस्वीकार गरेर युक्रेनका सहर र वस्तीमा बमबारी गर्न रुसलाई ग्रिन सिग्नल दिएको टिप्पणी गरेका थिए । जेलेन्सीकले नेटोको 'नो फ्लाई जोन' घोषणा नगर्ने निर्णयलाई कमजोरी र एकताको अभाव भएको बताएका थिए । तर खुला रुपमा युक्रेनलाई साथ दिनुका बाबजुद, युक्रेनमा मच्चिएको क्षतिका बाबजुद पश्चिमा देश किन 'नो फ्लाई जोन' लागू गर्न अस्वीकार गरिरहेका छन् त ?

के हो नो–फ्लाई जोन ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी विमान कम्पनी 'एयरोफ्लोटका फ्लाइट अटेन्डेन्ट'को बैठकका क्रममा कुनै पनि देशले यदि युक्रेनमा 'नो फ्लाई जोन' लागू गरेमा युक्रेनसँगै  रुसविरुद्ध युद्धमा सामेल भएको मानिने उल्लेख गरेका थिए । रुसी राष्ट्रपतिले भने, ‘यो दिशामा कुनै पनि कदम उठाउने कदमलाई हामी त्यो देश पनि युद्धमा सामेल भएको मान्नेछौँ ।’ 

सिधा अर्थ लगाउने हो भने यस्तो स्थान विशेषलाई परिभाषित गर्न सकिन्छ, जहाँ कुनै विमानले उडान नभर्ने सुनिश्चित गरिन्छ । यसको प्रयोग संवेदनशील इलाकाको रक्षाका लागि गरिन्छ । जस्तो राजाको निवास स्थल, खेल आयोजनास्थल या विशेष र ठूलो आयोजना क्षेत्रमा पनि नो फ्लाई जोन क्षेत्र लागू गरिएको हुन्छ । 

सेनाको सन्दर्भमा नो फ्लाई जोनको अर्थ त्यस क्षेत्रमा कुनै पनि विमान जान नसक्नु हो । ताकि कुनै हमला वा निगरानीलाई रोक्न सकियोस् । तर यसलाई सेनाले लागू गर्छ र यहाँ उड्ने कुनै पनि विमानलाई खसाल्न सकिन्छ । 

युक्रेनका राष्ट्रपतिको मागअनुसार नो फ्लाई जोन लागू गर्नुको अर्थ भनेको सैन्य बल, खासगरी नेटोको सेनाले यदि यो क्षेत्रमा रुसका कुनै पनि विमान आयो भने त्यसलाई सिधै आवश्यक परेमा त्यसलाई नष्ट गर्नसक्छ । 

पश्चिमा देश किन गरिरहेका छन् निगरानी ?

यदि नेटोले रुसी एयरक्राफ्ट र हतियारलाई लक्षित गरी आक्रमण गर्‍यो भने अहिलेको युद्ध झनै भीषण हुने आशंका बढ्छ । यसबाट संघर्ष थप व्यापक बन्न सक्छ । नेटोका महासचिव स्टोलटेनबर्गले भनेका थिए, ‘हामीले यस्तो गर्‍यौं भने त्यो सम्पूर्ण संघर्षको आव्हान हुनेछ । जसमा कुनै दोस्रो देश सामेल हुनसक्छ । धेरै मानवीय त्रासदी पनि भयावह बन्दै जानेछ ।’

यसैकारण पश्चिमा देश र संगठनले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाइरहेका भएपनि 'नो फ्लाई जोन'  लागू गरेका छैनन् । यी देशले रुस–युक्रेन युद्धमा नेटोलाई सिधा रुपमा सामेल गराइरहेका छैनन् । उनीहरुले जमिन र हवाई दुवै क्षेत्रमा भौतिक रुपमा साथ दिएर रुसविरुद्ध संघर्ष गरेका छैनन् । पूर्व अमेरिकी वायु सेनाका जनरल फिलिप ब्रिडलोभले 'नो फ्लाई जोन' को मागको समर्थन गर्नु नेटोका लागिमात्रै नभए पूरै संसारका लागि गम्भीर फैसला हुनेछ । उनी भन्छन्, ‘यसो गर्नु भनेको सिधा रुपमा विश्वयुद्धको आव्हान गर्नु हो ।

बेलायतका रक्षामन्त्री बेन वालासले स्पष्ट रुपमा बेलायतले युक्रेनलाई नो फ्लाई जोन लागू गर्ने मागको समर्थन नगर्ने बताएका थिए । किनकि रुसी विमानलाई निशाना साँध्नु भनेको सिधा रुपमा विश्वयुद्धलाई निम्ता दिनु नै हो । अमेरिका पनि युक्रेनका राष्ट्रपतिको यो मागको विपक्षमा छ । 

रुसले ' नो फ्लाई जोन'को विरोध गर्नुमा पनि युक्रेन युद्धमा अरु देशलाई रोक्ने रणनीति हुनसक्छ । यदि संसारमा युद्ध फैलियो भने परमाणु युद्धको खतरा पनि उत्तिकै छ । युक्रेनलाई 'नो फ्लाई जोन'  लागू गर्नु युद्धको विजारोपण गर्नु सरहको अनुमान गर्न थालिएको छ ।