बल्झिइरहने द्वन्द्वको घाउ: बन्दुक छाडेर फेरि चुह्लोचौकोमै उर्मिला

बल्झिइरहने द्वन्द्वको घाउ: बन्दुक छाडेर फेरि चुह्लोचौकोमै उर्मिला

न्युज कारखाना  |  समाज  |  फाल्गुन २५, २०७८

१० वर्षे माओवादी सशस्त्र विद्रोहमा होमिएकी दैलेखको ठाटीकाँध गाउँपालिका- २ टोम्टाल्लाकी उर्मिला थापा (रूपा) अहिले चुलोचौकोमै सीमित छन् । तत्कालीन नेकपा माओवादीले सुरु गरेको विद्रोहले सर्वहारा वर्गको राज्य स्थापना हुनुका साथै सर्वहारा वर्गमाथि हुने थिचोमिचोको अन्त्य हुन्छ भनेर देखाइएको सपना भ्रम रहेको उनको भनाइ छ ।   

देश परिवर्तन गर्छु भनेर हिँड्ने माओवादीका नेताहरू अहिले आफैँ अधिकारको दुरूपयोग गर्दै आफू र आफन्तको हितमा केन्द्रित भएको उनको गुनासो छ । 

विद्रोहमा होमिँदा महिला हिंसाको अन्त्य हुन्छ, बालविवाह, बहुविवाहको अन्त्य हुन्छ, सर्वहारा वर्गको राज्यसत्ता स्थापना भए उत्पीडित नागरिकका दिन आउँछन् भन्ने सपना देखाइएपछि उनी ८ साउन २०५८ मा माओवादी विद्रोहमा होमिएकी थिइन् ।

दुल्लु नगरपालिका माइती घर भएकी उर्मिलाको घर नजिकै प्रहरी चौकी थियो । उनी कक्षा ९ मा पढ्दै थिइन् ।  विद्यालय आउँदा-जाँदा प्रहरीले उनलाई माओवादी कहाँ छन् ? भनेर सोध्ने गर्थे । प्रहरीले माओवादीबारे सोध्न थालेपछि उनलाई माओवादीमा जाने सोचमा पुगिन् । महिला मुक्ति, जातीय मुक्तिका निम्ति लड्नुपर्छ भन्दै माओवादी कार्यकर्ताले उनलाई फकाउन थालेपछि उर्मिलालाई विद्रोहमा होमिन मन लाग्यो ।

तर, आफूलाई देखाएको सपना सपनामै सीमित रहेको उर्मिलाको गुनासो छ । माओवादी विद्रोहताका उनको प्रेरणाले चुह्लोचौकोमा सीमित धेरै किशोरी विद्रोहमा होमिन तयार भए । तर, उनी अहिले आफैँ पीडित र अशक्त छन् । बन्दुक बिसाएर अहिले उनी चुह्लोचौकोमै छन् । 

२०५८ फागुनमा  अछामको मंगलसेन आक्रमण गर्दा सहभागी भएकी उर्मिला सेक्सन भीसीसमेत भएकी थिइन् । विभिन्न स्थानमा भएका आक्रमणमा होमिएकी उर्मिला रुकुमको खारा आक्रमणपश्चात् अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आक्रमणमा भने घाइते भइन् । सो भिडन्तमा बायाँ खुट्टाको हिप हुँदै गोली बाहिर निस्केको उनी बताउँछिन्  ।

उनको उपचार नेपालमा सम्भव नभएपछि भारतको लखनऊ पुर्‍याइयो । उपचार त्यहाँ पनि सम्भव भएन । त्यहाँबाट पनि भारतको पन्जाबको जलनधर पुगेर उपचार गरेको उर्मिला सझिन्छिन् । तर, उपचार भइरहेको भारतीय सेनाले जानकारी पाएपछि उर्मिलालाई राम्रोसँग उपचार नगरी २०६२ सालमा नेपाल ल्याइयो । त्यसपछि नेपालगंज क्षेत्रीय अस्पतालमा राखियो । 

२०६४ सालको संविधानसभा निर्वाचनका बेला उनी उर्मिला दैलेख जिल्ला फर्किइन् । तर, ज्यानको बाजी मारेर लडाइँ गर्दा पनि न देशको न आफ्नै जीवनमा परिवर्तन आउन नसक्दा उनलाई चिन्तित बनाएको बताउँछिन् ।  

‘१७ वटा लडाइँ लडेर अहिले न त कुनै व्यवस्था भयो, न उपचार । अपांग शरीर लिएर चुलौचौकोमै थन्किनुपरेको छ’, उनले भनिन् । एक्लै रहेकी उनलाई कसैको साथ छैन । विद्रोहमा गोली लागेर शारीरिक रूपमा अपांग रहेकी उनलाई आर्थिक संकट रहेको बताउँछिन् ।