सिंगो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहसहित स्थानीय निर्वाचनमा केन्द्रित हुन एकीकृत समाजवादीको आह्वान

सिंगो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहसहित स्थानीय निर्वाचनमा केन्द्रित हुन एकीकृत समाजवादीको आह्वान

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २६, २०७८

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सिङ्गो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन् । पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टीको सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका हुन् ।

अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरूलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘हाम्रो सम्पूर्ण ध्यान अब निर्वाचनमा केन्द्रित हुनेछ । निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । निर्वाचनको निम्ति नै संगठन, शक्तिको परिचालन, निर्वाचनको निम्ति नै योजनाको निर्माण सिंगो पार्टी पङ्क्ति उपयुक्त ढंगले परिचालन गरेर अगाडि बढाउनुपर्ने आवश्यकता छ । हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी गरिरहेका छौँ र हाम्रो सहमति रहेको छ–निर्वाचनमा पनि हामी मिलेर जान्छौँ ।

सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसका निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैँलाई हुनुपर्‍यो । ठिक मूल्याङ्कन गर्नुपर्‍यो ।’ अध्यक्ष नेपालले दुई पटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अब पनि त्यसै गरेर अघि बढ्ने योजना रहेको पनि दोहोराए । राष्ट्रिय सभा निर्वाचनमा पनि सत्तारूढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उनले स्मरण गराए ।

त्यस्तै, बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी पङ्क्तिलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवसरवादको गुट भएको आरोप लगाए । नेता खनालले भने, ‘एमाले अवसरवाद गुटमा सीमित भइसक्यो । त्यो गुटले क्रान्तिको बाटो समात्न सकेको छैन । अहिले अलमल्ल परेर बसिरहेको छ । अब हाम्रो क्रान्तिको लक्ष्य वैज्ञानिक समाजवाद नै हो । त्यसको लागि सम्पूर्ण शक्ति एकताबद्ध बनाएर लानुपर्छ ।

एमाले भने अझै जबजको लक्ष्य भन्दै बसिरहेको उनले आरोप लगाए । ‘कमरेड मदन भण्डारीले ०४९ सालमा पुँजीवादी जनवादी क्रान्तिको अवधारणाको रूपमा अगाडि सार्नुभएको हो । अव जबजलाई लिएर समाजवादी क्रान्तिको बाटोमा जानुपर्छ’ उनले भने, ‘तर, त्यो गुट अझै प्रतिगमनको दिशा त छँदै थियो । अहिले त राजनीति र वैचारिक रुपमा पश्चगामी र दक्षिणपन्थी भासमा पनि फसिसक्यो ।’

बैठकमा राजनीतिक प्रतिवेदनका अतिरिक्त सम्पर्क मञ्च सञ्चालन निर्देशिका र मोर्चा सङ्गठन सञ्चालन निर्देशिका पनि छलफलका लागि प्रस्तुत गरिएको थियो । बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन र मञ्च सञ्चालन निर्देशिका र मोर्चा सङ्गठन सञ्चालन निर्देशिका माथि छलफल गरी सुझाव प्रस्तुत गर्न केन्द्रीय सदस्यहरूलाई नौ वटा समूहमा विभाजन गरिएको तथा समूह छलफल जारी रहेको पार्टीका महासचिव डा.बेदुराम भुसालले जारी विज्ञप्तिमा उल्लेख छ । समूह छलफलका निष्कर्षहरू बिहीबारको बैठकमा प्रस्तुत गरिने बताइएको छ ।