नेपाली मोटर स्पोर्ट्समा हाल सम्मकै ठुलो प्रायोजनको सम्झौता पत्रमा हस्ताक्षर

नेपाली मोटर स्पोर्ट्समा हाल सम्मकै ठुलो प्रायोजनको सम्झौता पत्रमा हस्ताक्षर

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २७, २०७८

काठमाडौँ । एफ वान स्कुलहरूमा को नेपाली भर्सनको लागि नेपाल अटो मोबाइल्स एसोसिएसन (नासा नेपाल) ले हाल सम्मकै सबैभन्दा ठुलो नेपाली प्रायोजकको रुपमा काठमाडौँ इन्जिनियरिङ कलेज, कालीमाटीलाई पाएको जनाएको  छ ।

नासा नेपालका अध्यक्ष दशरथ रिसालका अनुसार नेपालकै नौलो र आकर्षक मोटर स्पोर्ट्सको डेभलपमेन्ट प्रोग्राम  एफ वान  नेपालका स्कुलहरूमा र स्कुल टु ट्र्याकमा  कलेजको साझेदारी सम्झौता हालै सम्पन्न भएको छ, जुन नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा ठुलो रकम र दीर्घकालीन महत्व राख्ने बताउनु भएको छ । 

स्कुल टु ट्र्याक नेपाली युवा विद्यार्थीहरूलाई लक्षित गरिएको मोटर स्पोर्ट्सको आधारभूत तालिम कार्यक्रम हो, जसमा विज्ञान, इन्जिनियरिङ र व्यवस्थापन क्षेत्रका २०० जना विद्यार्थीहरूलाई सहभागी गराइने छ र ती मध्ये ८० प्रतिशत सहभागी महिला हुनेछन् । 

सन् २०२२ भरीमा सम्पन्न गरिने लक्ष्य रहेको यस कार्यक्रममा कलेजले १५ लाख नगद, तालिम सेन्टरको व्यवस्थापन र ५० विद्यार्थीको संयोजन गर्नेछ भने अन्य विद्यार्थी अन्य कलेजहरूबाट सहभागी गराइने समझदारी भएको  छ । 

कुल २ करोड ४ लाख अनुमानित खर्च लाग्ने सो कार्यका लागि मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ एफआईए, अन्य सहयोगी संस्थाहरू तथा आन्तरिक स्रोतबाट जुटाइने कार्यक्रम रहेको छ । 

विश्वमै लोकप्रिय फर्मुला वानको प्रारम्भिक विधा एफ वान स्कुलहरू, जुन १९ वर्ष भित्रका युवा माझ सञ्चालन गरिने कार्यक्रम रहेको छ  । नेपालमा यस इभेन्ट महत्त्वको बारेमा प्रकाश पार्दै  अध्यक्ष रिसालले अभियानका अधिकांश सहभागी महिला र इन्जिनियरिङ क्षेत्रका हुनेछन् । इन्जिनियरिङ, विज्ञान, साहस तथा सिर्जनात्मक प्रयोगको संयोजन यो  मोटर स्पोर्ट्स रहने छ 

यस अभियानमा मूलतः   फर्मुला वानको अनलाइन भर्सनको ज्ञान, सर्किट डिजाइन र त्यसको सिद्धान्त,  कार्ट्सको जानकारी र त्यसको प्रयोग,  इभेन्ट म्यानेजमेन्ट र सञ्चार सीप,  नेतृत्व र व्यक्तित्व विकास, अनलाइन रेसिङमा सहभागिता लगायतका कार्य नेपाल अटो मोबाइल्स एसोसिएसनद्वारा विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिका अनुसार  सो अभियानमा काठमाडौँ इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज, काठमाडौँ विश्वविद्यालय, कसमस इन्जिनियरिङ कलेज, एभरेष्ट इन्जिनियरिङ कलेज, जेभियर एकेडेमी, काठमाडौँ कलेज अफ म्यानेजमेन्ट र नाथम कलेज, रवि भवनका विद्यार्थीहरू सहभागी हुनेछन् । 

विगत लामो समय देखि नासा नेपालसँग सहकार्य गर्दै आएको काठमाडौँ इन्जिनियरिङ कलेज नेपालको इन्जिनियरिङ क्षेत्रमा प्रसिद्धि कमाएको शैक्षिक संस्था  रहेको र  कलेजका अध्यक्ष तथा प्रिन्सिपल हिरेन्द्रमान प्रधान तथा नासा नेपालका अध्यक्ष दशरथ रिसालले एक सम्झौता पत्रमा हस्ताक्षर गरी यो साझेदारीको घोषणा गरेको समेत जनाइएको छ । 

नासाका अनुसार  सुशील तुण्डकार, मञ्चन तिवारी, नीरज खड्का तथा मेकानिकल, अटो मोबाइल र इलेकट्रिकल क्षेत्रका विज्ञहरू समेत रहेको टिमले सञ्चालन गर्ने यस अभियानको संयोजन मोटर स्पोर्ट्सको विश्व गभर्निङ बडी फेडरेसन इन्टरनेसनल डेल अटो मोबाइलका विश्व काउन्सिल मेम्बर तथा नासा नेपालका प्रमुख सल्लाहकार गोविन्द भट्टराईले गर्नेछन् ।