युक्रेनबाट युद्ध प्रभावित नेपालीकाे उद्धार सकियाे, ५८४ नेपाली सुरक्षित गन्तव्यमा

युक्रेनबाट युद्ध प्रभावित नेपालीकाे उद्धार सकियाे, ५८४ नेपाली सुरक्षित गन्तव्यमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २६, २०७८

रुस-युक्रेन युद्धबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएकाे छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाए ।

खड्काले अन्य देशको तुलनामा नेपालीहरूको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताए ।

युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली पोल्याण्ड, स्लोभाकिया, हँगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावालगायत देशमा पुगेका छन् ।

पछिल्लो तथ्यांकअनुसार पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावामा नेपाली पुगेका हुन् । हालसम्म ५८४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।

राजदूत खड्काका अनुसार ३ जना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ । उनीहरू भारतको नयाँ दिल्ली हुँदै नेपाल आउने तयारीमा छन् । युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमतिपत्र लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ । 

करिब ३८ जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दे आएकाले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमा रहेका छन् ।

उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले युक्रेनकाे युद्धमा परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठूलो सहयोग गरेकाे बताए ।