धनुषाका स्थानीय तहको काम: निर्माणाधिन अस्पताल शिलान्यासमै सीमित

धनुषाका स्थानीय तहको काम: निर्माणाधिन अस्पताल शिलान्यासमै सीमित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २७, २०७८

जनकपुरधाम ।  तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशका करिब चार सय स्थानीय तहका एकसाथ आधारभूत अस्पताल शिलान्यास गरेका थिए । 

२०७७ मंसिरमा एकै साथ विभिन्न चार सय स्थानीय तहमध्ये धनुषाका स्थानीय तहमा पनि शिलान्यास गरिएको थियो । तर ती अस्पताल शिलान्यासमै सीमित भएका छन् ।

सबैला, धनुषाधाम,  क्षीरेश्वरनाथ, शहीद नगर, विदेह, मिथिला विहारी, हंशपुर नगरपालिका तथा औरही, बटेश्वरलगायतका गाउँपालिकाले १० देखि १५ शैयाका सुविधा सम्पन्न अस्पताल निर्माणका लागि शिलान्यास गरेका थिए । 

धनुषाधाम नगरपालिकाले १५ शैयाको अस्पतालका लागि फाउन्डेसन तयारी गरे पनि बाँकी स्थानीय तहले काम नै गर्नसकेका छैनन् । ‘पहिलो चरणको काम सम्पन्न भई ठेकेदारहरूको भुक्तानीसमेत भइसकेको छ, दोस्रो चरणको कामका लागि बजेटको सुनिश्चितता भएसँगै अस्पतालको कामलाई गति दिन्छौं,’ धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले भने ।

सबैला नगरपालिका मेयर विजयशंकर साहले झन्डै १० करोडको लागतमा निर्माण हुने अस्पतालका लागि जग्गाको व्यवस्थापन गरी शिलान्यास भएको बताए । ‘अस्पतालको डिपीआर तयार भयो तर मोबिलाइजेसनको रकम नै स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले नपठाउँदा काम अगाडि बढ्न सकेको छैन । त्यसैले अहिले शिलान्यास गरेर त्यतिकै छाडेका छौ,’ उनले भने ।

हंशपुर नगरपालिकाले १० शैयाको अस्पताल निर्माणका लागि पटक–पटक टेन्डर गरिसकेको छ । तर मेयर र प्रमुख प्रशासकीय अधिकृत बीचको विवादका कारण काम अगाडि बढ्न सकेको छैन । ‘अस्पताल निर्माणका लागि तीन महिनाअघि नै टेन्डर निकालिसकेका थियौं । तर प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भए । नयाँ आएका प्रशासकीय अधिकृतले पुनः अर्को टेन्डर गरे । त्यो पनि भएन । फेरि नयाँ टेन्डर गरियो । एउटै योजनाको तीनपटक टेन्डर गरियो । तर काम भने हुन सकेन,’ नगरपालिका मेयर रामज्ञान मण्डलले भने ।

क्षीरेश्वर नगरपालिकाले १५ शैयाको अस्पताल निर्माणका लागि जग्गाको व्यवस्थापन गरेको छ । तर जग्गाको विषयमा नगरपालिका कार्यपालिकामै विवाद भएकाले अहिलेसम्म टेन्डरसमेत हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले बताए । 

बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतमाथि नै अख्तियारमा मुद्दा परेपछि काम रोकिएको छ । शहीद नगर नगरपालिकाको पनि उस्तै अवस्था छ । मेयर उदय बरबरियाले सुरुमा जग्गासम्बन्धी विवादका कारण अस्पताल निर्माणमा ढिलाइ भएको बताए । ‘भर्खर टेन्डर भई सम्झौता गरेर काम अगाडि बढाएका छौ । पहिलो चरणको काम सम्पन्न भएपछि मात्रै दोस्रो चरणको काम गर्छौं,’ उनले भने ।