‘ज्याभ्लिङ थ्रो’ अभ्यासका क्रममा छात्रको निधन भएपछि बन्द विद्यालय १० दिनपछि खुल्यो

‘ज्याभ्लिङ थ्रो’ अभ्यासका क्रममा छात्रको निधन भएपछि बन्द विद्यालय १० दिनपछि खुल्यो

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन २७, २०७८

पाँचथर ।  ‘ज्याभ्लिङ थ्रो’ अभ्यासका क्रममा छात्रको निधन भएपछि १० दिन देखि बन्द भएको पाँचथरको एक विद्यालय खुलेको छ । फागुन १५ गतेदेखि बन्द भएको फालेलुङ २ को  सिद्वकाली मावि दश दिनपछि पठन पाठन सुरु भएको  हो । 

फागुन १५ गते ज्याभ्लिङ थ्रो’ कोे रडले लागेर घाइते भएका १० वर्षीय छात्र अनुषा राईको १६ गते उपचारको क्रममा अस्पतालमा  निधन भएसँगै मृतकका आफन्तले विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरवाही भएको भन्दै आन्दोलन शुरु गरेपछि पठन पाठन ठप्प भएको थियो ।

मृतक छात्रका अविभावक, शिक्षक र जनप्रतिनिधिको भेलामा परिवारका सदस्यलाई गाउँ पालिकाले १२ लाख रुपैंया उपलब्ध गराउने, विद्यालय परिसरमा मृतक छात्रको सालिक निर्माण गर्ने, अभिवाकलाई गाँउ पालिकाले शैक्षिक योग्यता अनुसारको रोजगारी दिने तथा प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले राजिनामा दिने सहमति पछि विद्यालय खुलेको हो ।

वन्द विद्यालय खुलाउन विभिन्न चरणमा सम्बाद गरी सहमति भएको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले जानकारी दिए । केरुङका अनुसार मृतकका परिवारलाई गाउँपालिका अन्तरगतका शिक्षक,कर्मचारी र जनप्रतिनिधिले पाउने तलब–सुविधाबाट कट्टा गरेर १२ लाख रुपैंया राहत उपलव्ध गराइने भएको छ । मृतकका परिवारसँग यस्तो सहमति भएसँगै व्यवस्थापन समितिका अध्यक्ष फणिन्द्र बिष्टले राजिनामा दिएका छन ।