मिर्गौला, कलेजो, मुटु लगायतका रोगको नियमित परीक्षण सरकारले निःशुल्क गर्ने मन्त्रीपरिषद्को निर्णय

मिर्गौला, कलेजो, मुटु लगायतका रोगको नियमित परीक्षण सरकारले निःशुल्क गर्ने मन्त्रीपरिषद्को निर्णय

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २७, २०७८

काठमाडौँ । मृत्यु पश्चात् आफ्नो शरीरको अंगदान घोषणा गर्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरूले पनि सोही निर्णय कार्यान्वयन गर्नुहुने भएको छ ।

आज सम्पन्न मन्त्री परिषद् बैठकमा यस्तो निर्णय भएको हो । स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी मन्त्री खतिवडाले यस्तो घोषणा गर्नुभएको थियो । मन्त्रीलाई साथ दिँदै मुख्य सचिव शंकरदास वैरागीले पनि अंगदान गर्ने घोषणा गर्नुभएको थियो । यस्तै मन्त्रीपरिषद् बैठकले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई समेत स्वीकृत गरेको छ ।

सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको छ । यसैगरी ५० वर्ष भन्दा माथि उमेर समूहका नागरिकहरूको मिर्गौला, कलेजो, मुटु लगायत अन्य रोगसम्बन्धी परीक्षणहरू सरकारले नियमित रुपमा वर्षको एक पटक निःशुल्क रुपमा गर्ने निर्णय पनि गरेको छ । यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो ।