सभापति तथा प्रधानमन्त्री  देउवाका चुनौती: उपसभापति र महामन्त्रीलाई लगाउने लगाम !

लोकसंवाद टिप्पणी

सभापति तथा प्रधानमन्त्री  देउवाका चुनौती: उपसभापति र महामन्त्रीलाई लगाउने लगाम !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २८, २०७८

२१ फागुनमा मोरङको विराटनगरमा नेपाली कांग्रेसको शेखर कोइराला समूहले एक कार्यक्रम आयोजना गर्‍यो । जुन कार्यक्रममा कोइरालासहित, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल लगायतको सहभागिता थियो । यो कार्यक्रममार्फत कोइराला पक्षका नेताहरुले आगामी निर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन कायम राख्ने कुराको चर्को विरोध गरे । 

उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्ती र गठबन्धनमा रहेका अन्य दललाई हात्तीको कानमा झुन्डिएको चमेरोको संज्ञा दिएका थिए । 

‘कांग्रेस हात्ती हो । कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ । हात्तीको ठुलो कानभित्र ओत लाग्न पाउँ भन्दै केही चमेरोहरू निवेदन दिइरहेका छन्’, गुरुङले भनेका थिए, ‘हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिन्छ भन्ने सपना नदेखे हुन्छ ।’

महामन्त्री गगन थापाले पनि कम्युनिस्टहरुको चर्को आलोचना गर्दै ‘माले, मण्डले र मसाल’ एकै हुन् भन्दै गाली विषको वर्षा बमन गरे । 

कांग्रेसकै जिम्मेवार नेताहरु आफैंले नेतृत्व गरेको सरकारका सहयात्री दलहरूमाथि निम्न कोटीको गालीगलौचमा उत्रिए पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भने अझै गठबन्धनको पक्षमा आफूलाई उभ्याएका छन् । जुन कुरा उनले बिहीबार वीरगञ्जमा आयोजित कार्यक्रममा पनि अभिव्यक्त गरेका छन् । देउवाले स्थानीय निर्वाचनमा गठबन्धनलाई बेवास्ता गर्न नमिल्ने भन्दै केन्द्रदेखि स्थानीय तहसम्म मिलेर जानुपर्ने बताए । 

उनले भने, ‘गठबन्धनका साथीहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ । उहाँहरुलाई बेवास्ता गर्न मिल्दैन ।’ कांग्रेसका शेखर कोइराला पक्षीय नेताहरु गठबन्धन र सहकार्यको विरुद्धमा उभिएका बेला देउवाले भने गठबन्धनमा आवद्ध दलहरुबीच स्थानीयदेखि माथिल्लो चुनावमा तालमेल गर्न छलफल हुने बताए । 

अहिलेको निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहेको भन्दै गठबन्धन बाध्यात्मक रहेको उनको भनाई थियो । अघिल्लो पटक एक्लै लड्दा धेरै ठाउँमा हारेको भन्दै उनले गठबन्धन गरेर स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि आगामी ५ वर्ष सरकार चलाउने गरी अघि बढ्ने उल्लेख गरे । 

कांग्रेस बाहेकका दलहरु जसरी पनि गठबन्धन टिकाउने र त्यसो भएन र कांग्रेस बाहिरिएमा कांग्रेस बाहेक अन्य दल एकैठाउँमा उभिनुपर्ने पक्षमा उभिदै आएका छन् । यसबाट कांग्रेसलाई पनि गठबन्धनमा कायम रहन दबाब परिरहेको छ । तर देउवाले आफ्नो पार्टीभित्रको विवाद र गठबन्धन प्रतिको हेराइलाई कसरी एकरुपता कायम गर्दै आफूलाई सत्तामा पुर्‍याउने गठबन्धन टिकाउँछन्

आफ्नै पार्टीका नेताहरुले गठबन्धन दलका नेताहरुमाथि गालीगलौज र धम्कीपूर्ण भाषण बाजी गर्न थालेपछि देउवाले साझेदार दलहरुको आलोचना नगर्न आग्रह नै गर्ने अवस्थामा पुगे । ‘हाम्रो बोली भाषाले अन–नेसेसरीली चिढ्याउने काम गर्नु हुँदैन’, उनको भनाई थियो ।

सत्ता गठबन्धन आगामी निर्वाचनसम्म लैजानका लागि दलहरु सहमत देखिए पनि कांग्रेसका कोइराला पक्षीय नेताहरु गठबन्धनको विपक्षमा देखिँदै आएका छन् । कांग्रेसका नेताहरु नै गठबन्धनको विपक्षमा उभिएपछि आगामी निर्वाचनमा दलहरु कसरी अघि बढ्छन् भन्ने अन्योल रहेका बेला देउवाले स्पष्ट रुपमा गठबन्धनको पक्षमा आफूलाई उभ्याएका हुन् । यसबाट आगामी निर्वाचनमा सत्ता गठबन्धन कायम रहने सम्भावना समेत देखिएको छ । 

सत्ता गठबन्धन फुटाउन एमाले अध्यक्ष केपी ओली न्वारान देखिको बल लगाएर बसेका छन् । एमसीसी पास गर्न पनि ओलीले सभामुख हटाउने देखि एकीकृत समाजवादीका १४ सांसदलाई गैर सांसद करार गर्नेसम्मका माग तेस्र्याएका थिए ।

यसो गर्नु भनेको अहिलेको गठबन्धन औपचारिक रुपमा समाप्त हुने दिशामा जानु नै हो । ओलीले सत्तामा बसेर जुन बितण्डा मच्चाएका थिए, त्यसलाई रोक्न भन्दै अहिलेको गठबन्धन बनेको नेताहरु बताउँदै आएका छन् । ओलीको बितण्डा रोक्न पनि गठबन्धनलाई एक निर्वाचनसम्म सँगै लैजानुपर्नेमा शीर्ष नेताहरु सहमत देखिँदै आएका छन् । तर नेपाली कांग्रेसका लोकप्रिय भनिएका उपसभापति र महामन्त्रीलाई लगाम लगाउनु सभापति तथा प्रधानमन्त्री देउवा समक्ष चुनौती खडा भएको छ । 

कांग्रेस बाहेकका दलहरु जसरी पनि गठबन्धन टिकाउने र त्यसो भएन र कांग्रेस बाहिरिएमा कांग्रेस बाहेक अन्य दल एकैठाउँमा उभिनुपर्ने पक्षमा उभिदै आएका छन् । यसबाट कांग्रेसलाई पनि गठबन्धनमा कायम रहन दबाब परिरहेको छ । तर देउवाले आफ्नो पार्टीभित्रको विवाद र गठबन्धन प्रतिको हेराइलाई कसरी एकरुपता कायम गर्दै आफूलाई सत्तामा पुर्‍याउने गठबन्धन टिकाउँछन्, त्यो भने हेर्न बाँकी छ ।