मोदी बसेको गुफाको भाडा ९९०

मोदी बसेको गुफाको भाडा ९९०
तस्बिर : एबिपी न्युज डट कम ।

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

काठमाडौं । शनिबार राती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुफाभित्र तपस्याको मुद्रामा बसेको तस्बिर सार्वजनिक भयो ।

तस्बिर सार्वजनिक भएलगत्तै आम सर्वसाधारणलाई कौतुहल भयो- मोदी कुन गुफामा बसेछन् ? तर, धेरैले ठम्याउन सकेनन् । पछि मिडियामार्फत् उनीहरूले गुफाबारे जानकारी पाए । त्यो हो– उत्तराखण्डको केदारनाथ मन्दिरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको रुद्र गुफा ।

प्रधानमन्त्री मोदी शनिबार केदारनाथ मन्दिर दर्शनपछि गुफामा पुगेका थिए । उनले त्यो रात गुफामा पनि बिताएका थिए ।

नेहरू पर्वतारोहण संस्थानले गत अप्रिलमा गुफा निर्माण सुरु गरेको हो । यसमा अहिलेसम्म झण्डै साढे आठ लाख भारू खर्च भएको छ ।

गुफामा सर्वसाधारणले पनि रात बिताउन सक्छन् । त्यसका लागि gmvnl.in वेबसाइटबाट अग्रिम बुकिङ गर्नुपर्छ । यसको बुकिङका लागि ९९० भारू लाग्छ ।

के-के छन् सुविधा ?

समुद्र सतहबाट करिब १२ हजार फिट उचाइमा रहेको यस गुफामा विभिन्न सुविधा छन् । गुफामा बेड, शौचालय, बिजुली, टेलिफोनलगायत सुविधा छन् । यससँगै गुफामा चिया, नास्ता तथा खानाको पनि व्यवस्था छ । तर, यसका लागि थप रकम तिर्नुपर्छ ।

गुफामा बेल (घन्टी) पनि राखिएको छ । गुफामा बस्नेले आवश्यक सामान मगाउन घन्टी बजाउनुपर्नेछ ।

प्रधानमन्त्री मोदी बसेको रात गुफामा सिसिटिभी क्यामेरा पनि लगाइएको थियो । प्रधानमन्त्री मोदीअघि उक्त गुफामा महाराष्ट्रका जय शाह बसेका थिए । उनी त्यहाँ तीन दिन बसेका थिए ।