वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् जोशीलाई  नगदसहित सम्मान

वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् जोशीलाई  नगदसहित सम्मान

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ ५, २०७६

काठमाडौँ । विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एलबम वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको छ ।

 नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एलबम बजारमा ल्याई विश्व कीर्तिमान कायम गर्ने डा. डीआर उपाध्यायका आज राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ‘अधुरो प्रेम’ उपन्यास र तीन गीति एलबम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक्’ सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि जोशीलाई ५१ हजारको राशि सहित सम्मान समेत गरिएको थियो । 

डा. डी आर उपाध्यायले यस अघि एकै साथ ७ गीति एलबमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिरा कल वल्र्ड रेकर्ड, इन्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेस्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसक्नु भएको छ । 

डा. डीआरलाई आज पनि चार ओटा एभरेस्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ । आज उनले प्राप्त गरेका चार एभेरष्ट वल्र्ड रेकर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र रा रि रु समावेश भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेश भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एलबम जसमा विभिन्न ८ ताल समावेशको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ बिट समावेश गरी तयार परिएको गीतमा रहेका छन् । डा. डीआर उपाध्यायलाई एभरेस्ट वल्र्ड रेकर्डका मथुरा श्रेष्ठले वल्र्ड रेकर्डको प्रमाणपत्र समेत प्रदान गरिसकेको छ ।  

कार्यक्रममा प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी, गीतकार डा. डीआर उपाध्याय, गीतकार सुरेश घिमिरे, अचेत घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठलगायतले आ–आफ्नो विचार राख्नु भएको थियो ।  उक्त अवसरमा सञ्चारकर्मी नरेश भट्टराई, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, सङ्गीतकार सन्तोष श्रेष्ठ, गीतकार सुरेश घिमिरे ‘निश्चिन्त’ र रमेश थापालाई कदर पत्र प्रदान गरिएको थियो । 

एलबममा समोवस गीतका भिडियो पनि देखाइएको कार्यक्रममा गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, दिलीप लामा र कविता सिवाकोटीले प्रत्यक्ष गीत गाएका थिए । सार्वजनिक तीन गीति एलबममा रहेका गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, मेलिना राई, विश्व नेपाली, जुगल डङ्गोल, रमेश श्रेष्ठ, टेकेन्द्र नेपाली, राजन तिमिल्सिना, महेश मुखियालगायतकाको सङ्गीत रहेको छ । त्यस्तै सागर अधिकारी ‘शरद’, अस्मिता अधिकारी, विपिन घिमिरे, दीलिप लामा, कृष्णभक्त राई, बेनुप क्षेत्री, टेकेन्द्र नेपाली, समीर खरेल, कविता सिवाकोटी, महेश मुखिया, सागर संसार राई, रमेश श्रेष्ठलगायतका गायक गायिकाको स्वर रहेको छ ।