पूर्व छापामारका भाइको बकपत्र: महिलाहरू गरिबीमा पुग्दैमा, अभावमा बाँच्दैमा वेश्यावृत्ति नै गर्छन् हो ?

पूर्व छापामारका भाइको बकपत्र: महिलाहरू गरिबीमा पुग्दैमा, अभावमा बाँच्दैमा वेश्यावृत्ति नै गर्छन् हो ?

केशरमणि कटुवाल  |  लोकरञ्जन  |  फागुन ३०, २०७८

कलाकार प्रकाश सपुतको ‘पिर’ बोलको गीत बजारमा यति बेला चर्चामा छ । यो गीत केही पटक दोहोर्‍याएर हेरेँ । मन अशान्त भयो । मनका पीडा फेरि एक पटक छचल्किएर आयो । 
यसका धेरै विषयवस्तु साँच्चिकै मार्मिक छन् । 

यसलाई सत्य भनौँ भने हजारौँ छापामारको बिचमा हुर्किएको र उनीहरूको वर्तमान पनि देखेकाले वेश्यावृत्तिमा सामेल छन् भन्ने कुरा मान्न यो मन तयार छैन । असत्य हो भनौँ भने हजारौँ छापामारबारे ठोकुवा गर्न सक्ने अवस्था पनि छैन । अर्कोतिर जनयुद्ध लडेका हजारौँ छापामार आज पनि साउदी, दुबई, मलेसिया, कतारजस्ता खाडी देशमा श्रम गरिरहेको यथार्थ आँखै अघि छर्लङ्ग छ ।

संयोग भनौँ या के भनौँ । जनयुद्धले परिवार नै तहसनहस जस्तै भयो । जनयुद्धमा मेरो परिवारले रगत दियो, हामी आफैँले पसिना र आँसु दियौँ । 

यो कठिन युद्ध लडेर पनि माओवादीमा आएको विचलनसँगै धेरै इमानदार नेता कार्यकर्ताले पार्टी छाडे । माओवादी पार्टी एक किसिमले अवसरवादी र चाकडी बाजको कब्जामा पुग्यो । हामी त्यहाँ टिक्न सक्ने अवस्था भएन । 

म आफैँ पूर्व छापामार दिदीको भाइ हुँ । मेरै छिमेकबाट जनयुद्धमा बन्दुक बोकेका दिदीबहिनी र चेलीबेटीहरू आज माओवादीमा छैनन् । तर यो कुरा पनि उत्तिकै सत्य हो कि उनीहरूलाई दुई छाक टार्न वेश्यावृत्तिजस्तो घृणित कार्यमा भने छैनन् । कसलाई के भन्न भन लाग्छ, त्यही भनिदिए हुन्छ ?

 तर जनयुद्धमा आफ्नो श्रम समेत नबुझ्नेहरू लागेका थिएनन् । यदाकदा कोही थिए भने उनीहरूले माओवादको 'स्पिरिट' बुझेनन् वा बुझ सकेनन् । सबैले बुझ्छन् भन्ने जरुरी पनि छैन ।

अहिले जबरजस्ती माओवादी युद्धमा होमिएकाहरूलाई अनपढ र सभ्य समाजमा केही गर्न नसक्ने पात्रका रुपमा उभ्याउने दुस्साहस 'कथित'  बुद्धिजीवीले गरिरहेका छन् । तर यथार्थ त्यस्तो होइन । जो जनयुद्धमा सामेल भए,  तिनीहरू आफ्नो परिवारलाई नेतृत्व गरिरहेका र परिवारको कमाइको मुख्य हिस्सा थिए ।

बरु उनीहरू युद्धमा होमिँदा या मारिँदा त्यो परिवारले असाध्यै ठुलो कष्ट बेहोर्नु परेको र  उठाउनुपरेको विषयलाई बिर्सन हुँदैन ।  । त्यसैले ती सचेत वर्गलाई श्रम गर्न मज्जाले आउँछ र श्रमको मूल्य पनि राम्रोसँग थाहा भएको जमात हो त्यो  । 

यति भइसकेपछि एक पटक माओवादी नेता तिरै फर्किन मन लाग्यो ।

माओवादी नेताले के गरे ?

जनयुद्ध माओवादीका केही नेताको पहलकदमीको उपज थियो । तर आज जनयुद्धको पहल गर्ने धेरै नेताहरू आ–आफ्नो दुनो सोझ्याइन व्यस्त भएको कुरा घाम जतिकै छर्लङ्ग छ ।

 कोही अतिरिक्त क्रान्तिकारी र कोही अतिरिक्त दक्षिणपन्थी बनेर यो आन्दोलनलाई कमजोर पारिरहेका छन् । जनयुद्धको मुख्य नेताका रुपमा जनयुद्धका कार्यकर्ताको व्यवस्थापन, घाइतेको उपचार र अङ्गभङ्ग भएकाहरूको उपचार तथा पुनः स्थापनामा मुख्य भूमिका पनि प्रचण्डको हुन्थ्यो ।

तर उनी शान्ति प्रक्रियापछि अस्थिर प्रकारको नेताको पहिचान बनाइ रहेका छन् । पटक पटक सम्झौता परास्तको आरोप खेपी रहेका छन् ।  सम्झौता भनेकै लेनदेन हो । त्यसैले उनको लेनदेनमा आम जनता र साधारण कार्यकर्ता भन्दा आफ्नै भाइ, भतिजा, छोराछोरी, बुहारी, सम्धीहरू पर्ने नै भए । त्यसैले सबैभन्दा पहिलो व्यवस्थापन नेताको, त्यसपछि सहायक नेताको, उप सहायक नेताको हुँदै हुक्के, चम्चे, बैठके, ढोकेहरूको व्यवस्थापनमै १५ वर्ष बिते । 

अब प्रचण्डलाई गाली गर्दै आफूलाई खुबै ठुलो क्रान्तिकारी देखाउने मोहन वैद्य, नेत्रविक्रम चन्दहरू माओवादी आन्दोलन कमजोर पार्ने अर्का पात्र हुन् । कुरा क्रान्तिका गर्ने तर आफ्नो वरिपरि सबै अवसरवादीले घेरिएर बस्ने, चन्दाको धन्दामा लिप्त हुने, ठुला ठुला गफ गर्ने र क्रान्तिका लागि सिन्को समेत नभाँच्ने काम भयो ।

एक वाक्यमा भन्दा २०६९ सालमा माओवादी पार्टीमा मोहन वैद्यको नेतृत्वमा भएको विभाजन दहमा माछा मार्न हालेको बिखजस्तै हानिकारक साबित भयो । विभाजनले ठुलो मात्रामा नेता र कार्यकर्तालाई विभाजित र निष्क्रिय पार्ने कदमका रुपमा स्थापित भयो ।  

माओवादी खेमामा सामेल नभएकालाई चोट पुर्‍याएका छन् । यो विषय खेदजनक छ । गरिबी, अभावको जीवन बाँचेका सबैलाई हेर्ने दृष्टिकोण यस्तै हुने हो भने सभ्य समाज कागजका गफ मात्रै हुन्छन् । कलाकार समाजको ऐना हो । जसका सिर्जनालाई हेरेर, सुनेर र पढेर हजारौँ, लाखौँले जीवनको लक्ष्य नै परिवर्तन गर्न सक्छन् । यस्तो गहन जिम्मेवारी भएका कलाकारले जनयुद्धका योद्धालाई यौन धन्दासँग जोड्नु आफूलाई पनि अन्याय गर्नु हो ।

अब  डा.बाबुराम भट्टराई र  रामबहादुर थापा बादल नामका दुई पात्रको कुरा गरौँ । आफूलाई निकै ठुलो रणनीति कारका रुपमा देखाउन खोज्ने रामबहादुर थापाको एमालेमा विलय नेपाली राजनीतिकै एउटा भद्दा मजाक हो । जसले जीवनभर परिवर्तन र क्रान्तिको सपना बाँडेर हिँड्छ र व्यवहारमा यथास्थिति र पश्चगमनको मतियार बन्छ भने त्यस्ता पात्रहरूलाई ‘छि’ मात्रै भन्न सकिन्छ । अरु शब्द खर्च गर्नु जरुरी लाग्दैन ।

डा.बाबुराम भट्टराई उर्फ लाल ध्वज भने अलि खतरा छन् । उनी आफैँले जनयुद्ध लडेकाहरू अहिले वेश्यावृत्ति गरिरहेको टिप्पणी गरेर आफ्नो चेतनाको दरिद्रता प्रदर्शन गरेका छन् । यी लाल ध्वज अब ‘द.लाल ध्वज’ मा परिणत भइसकेका छन् । कस्ता पात्र माओवादी आन्दोलनका नेतृत्वकर्ता रहेछन् भन्ने कुरा यिनै लाई हेरे पुग्छ ।

जसले आफूलाई 'मेटाएर यिनीहरुलाई बचाए' आज उनीहरूलाई नै वेश्यावृत्ति गरेको देख्छ भने यस्ता कुपात्रहरू घृणाका लायक पनि हुँदैनन् ।  बाबुराम नाम गरेका व्यक्ति आफैँ अर्थमन्त्री र प्रधानमन्त्री भएका हैनन् ? अनि यिनलाई जनयुद्धका योद्धाको व्यवस्थापन गर्न कसले रोकेको थियो ? के यसको जवाफ प्रचण्ड–बाबुरामहरूसँग छ ? बाबुराम आफैँ माओवादी आन्दोलनमा किन टिक्न सकेनन् ? कति वटा पार्टी फेरे ? यो हामी सबैका अघि छर्लङ्ग छैन र ? 

जनयुद्धमा हजारौँले रगत पसिना, आँसु बगाए । कयौँका काख रित्तो भए र कतिले अभिभावक गुमाए । घाइते र बेपत्ता पारिएकाहरूका पीडामा अहिलेसम्म मलहम लाग्न सकेको छैन । यो यथार्थ हो । र अर्को के पनि यथार्थ हो भने जनयुद्धबाट आएका केही नेताले यो आन्दोलनलाई नै पेवा बनाएका छन् ।

एउटै परिवारबाट आधा दर्जनभन्दा बढी पार्टीको उपल्लो कमिटीमा, श्रीमान्–श्रीमतीदेखि परिवारका हरेक सदस्यहरू सरकारमा, राजनीतिक नियुक्तिमा पुगेका छन् । एउटै ले दोहोर्‍याइ तेहर्याई हसुरेका छन् । यिनीहरुले न हिजो न आज नै आफूलाई यो स्थानमा पुर्‍याउनुको सम्मान गरेका छन्  वा गर्न आवश्यक नै ठानेका छन्  ।

माओवादी आन्दोलनको भ्रष्टीकरण र दलाली करण हुँदै शून्यको दिशातिर जाँदै गरेको कुरा सत्य नै हो । चाहे जसले जे भनेर ढाकछोप गरोस्, माओवादी नेता कार्यकर्ताको व्यवस्थापन र उनीहरूको सपनाअनुसार सही पुनर्स्थापित गर्दै योद्धाको सम्मान गर्न चुककै छ । माओवादी नेताहरू नसच्चिँदा आजको परिणाम आएको हो ।

माओवादी नेताहरू शान्ति प्रक्रियापछि यसरी स्वार्थमा विभाजित भए र जनयुद्धका सपना काँच टुक्रिए झैँ एकै पटक झर्यामझुरुम हुन पुग्यो । 'पिर' गीतमा देखाइएका धेरै कुरा  आउनुमा सबैभन्दा ठुला दोषी त माओवादी नेता नै हुन् । यसमा प्रचण्ड, वैद्य, बाबुराम, बादल, विप्लव सबै धेरथोर जिम्मेवार छन् र उनीहरूले जिम्मा लिनु पर्छ । 

 

कांग्रेस एमालेको भद्दा मजाक

माओवादी छापामारलाई वेश्यावृत्ति गर्दै गरेको, घाइते लडाकुले भट्टी पसल हुँदै यौन प्यास मेटाउन धाएको विषय समेटिएको दृश्यलाई यथार्थ चित्रण र गीत शतप्रतिशत सही भएको तर्क गरिरहेका छन् । यो कथामा देखाइएका कतिपय कुरा सही हुन पनि सक्छन् र नहुन पनि सक्छन् ।

तर वेश्यावृत्तिजस्तो घृणित कार्यमा सामेल हुँदै गरेको देखाइएको दृश्य के आधारमा सही हुन् ? कि माओवादीलाई नीच देखाएकोमा सही लागेको हो ? यो सामान्य लागे पनि यो गम्भीर प्रश्न हो । यो नेपाली राजनीतिमा रहेको विकृत मानसिकताको उपज हो । कुनै महिलाले गरिबीका कारण वेश्यावृत्ति नै गर्छन् भन्ने तल्लो स्तरको सोचबाट यो सिर्जित भइरहेको छ, जुन घातक छ । तत्काल माओवादी छापामार युद्ध र त्यसको नेतृत्वलाई तेज बोध गर्न उद्देश्य पुरा गरे पनि समाजमा भने नकारात्मक सन्देश नै दिएको छ ।

अब प्रसंग जोडौँ बल्खु दरबारको । सामाजिक सञ्जालमा आएका टिप्पणी हेर्दा लाग्छ,  माओवादी छापामार वेश्यावृत्तिमा लागेको प्रसंगले एमाले पार्टी र त्यसका कार्यकर्तालाई सबैभन्दा खुसी दिएको छ र उनीहरू यसलाई माओवादीले यथार्थ पचाउन नसकेको तथा गीतमा रहेका कुरा सही भएको दाबी गरिरहेका छन् । 

केही वर्षअघि बल्खुस्थित एमालेको पार्टी कार्यालयमा झापा आन्दोलनका योद्धा डिगेन्द्र राजवंशीले आत्महत्या गरेका थिए । आर्थिक अवस्था नाजुक भएकै कारण हातमुख जोर्न समस्या भएपछि एमाले पार्टी सरकारमा भएका बेला छोरालाई जागिर लगाउन आएका राजवंशीले आफैँले बनाएका नेताले छोरालाई जागिर नलगाई दिएपछि बिरक्तिएर आत्महत्याको बाटो रोजेका थिए । 

२०२८/०२९ सालको झापा किसान विद्रोहका योद्धा राजवंशीले बल्खुमा पासो लगाएर आत्महत्या गर्नुपर्ने अवस्था के कारण सिर्जना भएको थियो ? उनी पनि यो समाजमा बराबरीको सामाजिक, आर्थिक र राजनीतिक हैसियतका लागि लडेका थिए । तर उनले कहिल्यै पनि त्यो पाएनन् । 

केपी शर्मा ओली, राधाकृष्ण मैनाली, वीरेन राजवंशी, सीपी मैनाली, मोहनचन्द्र अधिकारीहरुका समकक्षी डिगेन्द्र झापा किसान विद्रोह ताका गरामनीको कोल्हाटोलीबाट गिरफ्तार भएर १० वर्ष जेल बसेका थिए ।  त्यति मात्रै होइन २०६३ वैशाख ६ गते दोस्रो जनआन्दोलनका क्रममा चन्द्रगढीमा भएको प्रदर्शनका क्रममा उनको खुट्टामा गोली लागेको थियो ।

यी योद्धालाई एमालेले किन सम्मान गर्न सकेन ? उनको जीवन बचाउन एमालेले के पहल गर्‍यो ? कांग्रेसले २००७ सालमा बन्दुक उठाउँदा योगदान दिनेहरू सबैको जीवन समान हुन सक्यो त ? आखिर सकेन ।

किनकि नेपालका राजनीतिक दलको चिन्तनमा नै समस्या हो । जनताका छोराछोरीलाई ‘युज एन्ड थ्रो’ गर्न कांग्रेस, एमाले र माओवादी केन्द्र सबै उत्तिकै दोषी छन् । तर एउटालाई होचो देखाएर आफूलाई अग्लो साबित गर्ने तल्लो स्तरको सोचका कारण अहिले सामाजिक सञ्जालमा एमाले कांग्रेसका कार्यकर्ता खुसीयाली मनाइरहेका छन् ।

केही वर्ष अघि मात्रै एमालेका कार्यकर्ताले ‘लुट्न सके लुट कान्छा’ बोलको पशुपति शर्माको गीत विरुद्ध अभियान नै चलाएका थिए । यो गीत नेपाली राजनीतिको लुट धन्दालाई व्यक्त गर्ने एउटा प्रतिनिधि गीत थियो । बल्खु दरबारमा डिगेन्द्र राजवंशीले आत्महत्या गर्नुपरेको र पशुपति शर्माले गीत हटाउन बाध्य हुनुपरेको दिनलाई स्मरण गर्ने हो भने एमाले कार्यकर्ताले माओवादी छापामारलाई गाली गर्नु नैतिक धरातल गुमाउनु मात्रै हो । 

अन्त्यमा, नेपालमा वेश्यावृत्ति कानुनी रुपमा वर्जित छ । माओवादी युद्धमा सामेल भएर अहिले अलपत्र जीवन बिताउनुपरेको यथार्थतालाई गीतले केही हदसम्म उठाएको छ । गरिबी, अभाव र भोकसँग लड्नुपर्ने यथार्थलाई माओवादजनले पचाउनै पर्छ । केही नेताले सत्ताको स्वाद चाख्दै मा, पटक पटक मन्त्री हुँदैमा, श्रीमान् श्रीमती नै पालैपालो मन्त्री र सांसद हुँदैमा माओवादी कार्यकर्ताले दुःखै पाएका छैनन् भन्ने सोचमा सत्ताधारी माओवादीहरूमा छ भने तिनीहरूलाई ‘राम मात्रै भन्न सकिन्छ काँध हाल्न कसैले सक्दैन’ र उनीहरूको पतन निश्चित छ ।

रह्यो कुरा अभावमा वेश्यावृत्तिको । कुनै महिलाहरू गरिवीमा पुग्दैमा, अभावमा बाँच्दै मा वेश्यावृत्ति नै गर्छन् भन्ने सोचाइमा  खोट छ । यसकारण यहाँ देखाइएको बिम्ब पनि दण्डनीय छ । यो समाजमै जनयुद्ध लडेका धेरैले स्वावलम्बी भएर सृजनशील रुपमा विभिन्न काम गरेर जीविका चलाएका छन् । माओवादीका विभिन्न खेमामा रहेकाहरूले आफ्नो राजनीति जोगाउन प्रकाश सपुतको विरोध गरेका छन् ।

कतिपयलाई पार्टीमा आफू बफादार भएको देखाउनु पनि छ । तर जसले जनयुद्ध लडे, आज कुनै पार्टीमा नभएर पनि स्वावलम्बी भएर जीवन चलाइरहेका छन्, तिनीहरूमाथि प्रकाश सपुतको यो दृश्यले सबैभन्दा बढी  लाञ्छित र प्रहार गरेको छ । जसले माओवादी आन्दोलनका लागि जीवन अर्पण गरे, जसले हिजो बन्दुक उठाए र आज जीवनको रथ चलाउन विभिन्न पेसा र व्यवसायमा आबद्ध छन्, उनीहरूलाई सबैभन्दा बढी गिज्याएको छ ।

त्यसैले सपुतले सबैभन्दा बढी हिजो माओवादीमा इमान्दारितापूर्वक भूमिका खेलेका र आज कुनै माओवादी खेमामा सामेल नभएकालाई चोट पुर्‍याएका छन् । यो विषय खेदजनक छ । गरिबी, अभावको जीवन बाँचेका सबैलाई हेर्ने दृष्टिकोण यस्तै हुने हो भने सभ्य समाज कागजका गफ मात्रै हुन्छन् । कलाकार समाजको ऐना हो । जसका सिर्जनालाई हेरेर, सुनेर र पढेर हजारौँ, लाखौँले जीवनको लक्ष्य नै परिवर्तन गर्न सक्छन् । यस्तो गहन जिम्मेवारी भएका कलाकारले जनयुद्धका योद्धालाई यौन धन्दासँग जोड्नु आफूलाई पनि अन्याय गर्नु हो । आशा छ, उनले यो अपाच्य दृश्य सच्याउनेछन् ।