नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’ हुने

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’ हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३०, २०७८

नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअपरेसन एग्रिमेन्ट’ (सहयोग सम्झौता) हुने भएको छ । 

साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणका बेला उक्त सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । 

साउदी विदेशमन्त्री साउद २ दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

मंगलबार नै नेपाल र साउदी अरबका विदेशमन्त्रीबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा कोभिडपछिको विकास निर्माण, अन्तर्राष्ट्रिय फोरममा एकअर्काको साथ, समर्थन र वैदेशिक रोजगारीका विषयमा छलफल हुने जनाइएको छ । 

बैठकमा नै नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर गरिनेछ । यो २ देशबीच गर्न सकिने विभिन्न सहयोगहरू- आर्थिक, सामाजिक, औद्योगिक, सांस्कृतिक, लगानी, वैदेशिक रोजगार सबै क्षेत्र समेटेको अम्रेला सम्झौता हो ।