वैदेशिक रोजगारीमा हड्डी घोटेर कमाएको पैसा अनुत्पादक, अनुपयोगी र बेकारका शीर्षकहरूमा खर्च !

वैदेशिक रोजगारीमा हड्डी घोटेर कमाएको  पैसा अनुत्पादक, अनुपयोगी र बेकारका शीर्षकहरूमा खर्च  !

हरि अधिकारी  |  दृष्टिकोण  |  फाल्गुन ३०, २०७८

यस पटक आन्तरिक पर्यटकका रूपमा गण्डक प्रदेशका पोखरा, बागलुङ र पर्वतका केही स्थानहरूको भ्रमण गर्दा ती क्षेत्रहरूमा थप खडा गरिएका पर्यटन उद्योगलाई बढावा दिने विविध प्रकारका संरचनाहरूले मनलाई आनन्दित तुल्याए । पोखरामा पर्यटकहरूको मनोरञ्जनका लागि केही वर्षदेखि प्याराग्लाइडिङ, लाइट एयरक्राफ्ट फ्लाइङ, एयरसाइकिलिङ, जीपलाइन रोलिङ जस्ता साहसिक क्रीडा–साधनहरू संचालनमा आइरहेकामा यस वर्ष फेवाताल किनाराको पामेदेखि सराङ्‍कोटसम्म केबुलकारको लाइन थप भएर पहाडकी रानी पोखराको पर्यटन उद्योग प्रवर्द्धनका दिशामा एउटा नयाँ आयाम थपिएछ । पदयात्राका लागि विख्यात सराङ्‍कोटसम्म केबुलकार लैजान आवश्यक थियो वा थिएन भन्ने कुरामा भने वाद विवाद गर्न नसकिने भने होइन ।

त्यसबाहेक पोखरा उपत्यकाको आसपास दृश्यावलोकनका लागि सराङ्‌कोट, काहुँकोट टावर, फेवा तथा बेगनास ताल समूह, फूलबारी गुम्बा, पोखरा नगरमा रहेको विन्ध्यवासिनी देवीको मन्दिर र फेवातालमाथि रानीवनमा स्वर्गीय मीनबहादुर गुरुङको प्रयासबाट बनेको विश्व शान्ति स्तूप (जापानी बौद्ध विहार) आदि आकर्षक स्थानहरू थिए । यसै साल भुम्दीकोटको थुम्कोमा विशाल शिव प्रतिमा निर्माण गरिएपछि पोखरा क्षेत्र भ्रमणमा जाने हिन्दु धर्मावलम्बी आन्तरिक पर्यटकहरूका लागि थप गन्तव्यस्थल उपलब्ध हुने भएको छ ।

जाहेर छ, यी स्थानहरूमा पर्यटकहरूलाई पुर्‍याउन सम्भव हुने विन्दुसम्म सडक पुर्‍याइएको अथवा पुर्‍याउने जमर्को गरिएको छ । यसले तत्‌तत् क्षेत्रमा भौतिक पूर्वाधार निर्माणले पनि केही गति लिएको देखिन्छ । पर्यटकहरू उल्लेख्य संख्यामा आउन थालेपछि रानीवन र पुम्दी–भुम्दी क्षेत्रमा साना र मझौला आकारका रिसोर्ट्स, गेस्ट हाउस, रेस्टुराँ र क्याफे आदि पनि ठूलो संख्यामा बनेका छन् ।

आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्ने प्रकारका आकर्षक भौतिक संरचनाहरूको निर्माण गर्ने सन्दर्भमा पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारले थोरै समयमा ठूलो फड्को मारेको देखियो । कुश्मामा केही वर्ष अघिसम्म बजारको पूर्वी डिललाई पारिपट्टिको गाउँ कटुवाचौपारीसँग जोड्ने त्यतिबेला निकै लामो र अग्लो मानिएको एउटै मात्र झोलुङ्‌गे पुल रहेकामा अहिले त्यो सानो पहाडे बजारलाई उत्तर–पूर्व, पूर्व, दक्षिण–पूर्व र दक्षिण दिशाबाट गरी ५ वटा झोलुङ्‌गे पुलहरूले जोडेका छन् । यी झोलुङ्‌गे पुलहरूका अतिरिक्त कुश्माबाट दक्षिणतिर पारिपट्टिको बलेवा गाउँसम्म विद्युतीय परिवहन पनि संचालनमा ल्याइएको छ ।

करिब ५०० मिटर लम्बाइको तारमा २ वटा गोन्डोला लगातार वारपार गर्ने यो प्रणालीले नियमित यात्रुहरूलाई सुविधा त उपलब्ध गराएको छ नै, साथै, देशका विभिन्न भू-भागका आन्तरिक पर्यटकहरूलाई पनि कुश्मा पुग्न र कालीगण्डकी नदीमाथि हालिएको त्यस विद्युतीय पुलमा यात्राको आनन्द लिन हुटहुटी लगाइरहेको देखिन्छ । त्यस विद्युतीय पुलको परिकल्पनाकारहरूको मनमा त्यसको व्यावसायिक सफलतालाई लिएर सुरुमा रहेको संशय त्यसले छोटै अवधिमा कमाएको लोकप्रियताबाट पूरै मेटिइसकेको छ भनिन्छ ।

पर्यटन र मनोरञ्जनको क्षेत्र त आफ्नै हो, छँदै छ नि ! देशभित्र नै उत्पादन बढेर प्रशस्त आमदानी हुनथाल्यो, जनतासँग धक फुकाएर खर्च गर्ने धन भयो भने आन्तरिक पर्यटनको क्षेत्र पनि स्वतः फस्टाइहाल्छ,

कुश्मा क्षेत्रका व्यवसायीहरूले त्यहाँ बनेका झोलुङ्‌गे पुलहरूमध्ये कुश्मालाई बलेवासँग जोड्ने एउटा पुलमा देशकै दोस्रो बन्जी जम्पिङ प्रोजेक्ट पनि संचालनमा ल्याएका छन् । सिन्धुपाल्चोक जिल्लामा भोटेकोसी नदीमाथि धेरै वर्ष पहिलेदेखि बन्जी जम्पिङ साइट संचालनमा छ । कुश्मामा संचालित बन्जी जम्पिङ गणतन्त्र चीनको अधीनमा रहेको टापु राज्य मकाउको साइटपछिको संसारकै दोस्रो अग्लो बन्जी साइट हो भनेर प्रचार गरिएको छ । ‍पर्वतारोहण, उच्च पहाडी क्षेत्रको पदयात्रा, पक्षी अवलोकन, वन क्षेत्र र वन्यजन्तुको अवलोकन–अध्ययन र भिन्न सांस्कृतिक सम्पदाको अध्ययनका लागि विश्वभरि नाम चलेको नेपालमा अब संसारकै दोस्रो अग्लो बन्जी जम्पिङ साइट संचालनमा आएपछि यो सुन्दर हिमाली देश साहसिक क्रीडा–कौतुक मनपराउने विश्वभरिका पर्यटकहरूको प्रिय गन्तव्य बन्न सफल भएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । कुश्मेलीहरूले बन्जी जम्पिङ साइटको नजिकै जीपलाइन रनिङ स्किम पनि संचालनमा ल्याएका छन् । साथै, एउटा विद्युतीय लिंगे पिङ पनि चलाएका छन् ।

कुश्माभन्दा आकार–प्रकारमा केही ठूलो बागलुङ बजारमा भने कुश्माले हालका वर्षहरूमा पर्यटकीय भौतिक संरचना निर्माणका सन्दर्भमा मारेको फड्कोसँग तुलना गर्न सकिने त्यस्तो उल्लेख्य कुनै उपलब्धि हासिल गरेको देख्न पाइएन । तर, सम्पूर्ण धवलागिरि क्षेत्रका अधिकांश मानिसहरूको आस्थाको केन्द्र रहँदै आएको बागलुङ कालिका भगवती मन्दिर परिसरको समयानुकूल पुनर्निर्माण र संरक्षणका दिशामा भने बागलुङवासीहरूले प्रशंसनीय काम गरेको सुखद अनुभव भयो यस पटक त्यहाँ पुग्दा ।

केही वर्ष अघिसम्म स्याहार नपुगेको परित्यक्त जस्तो लाग्ने कालिका मन्दिर परिसर अहिले सफा सुग्घर, सुव्यवस्थित र बढीभन्दा बढी समय त्यहीँ बिताउन मन लाग्ने किसिमको बनाइएको रहेछ । बागलुङ बजार जाने सडकदेखि मन्दिरसम्म पुग्ने बाटोमा ढुंगा बिछ्याएर त्यसलाई सफा र चित्ताकर्षक बनाइएको रहेछ । त्यस बाटोको दायाँ–बायाँ पानी ट्याङ्‌की र धाराहरूका साथै कालिकाका भक्तजनहरूले चढाएका घण्टहरूलाई पंक्तिबद्ध राखिएको रहेछ ।

सबैभन्दा उल्लेख्य कुरो, कालिका मन्दिरको प्रवेशद्वारभित्र कुनै पनि किसिमका पसलेहरू, मगन्तेहरू र यात्रुहरूलाई दिक्क पार्ने अरू प्रकारका तत्त्वहरूलाई पूरै रोकिएको रहेछ । यसबाहेक कालिका मन्दिरको परिसरलाई घेर्ने जंगल क्षेत्रको राम्रोसँग संरक्षण गरिएको रहेछ ।

गण्डक क्षेत्रका पोखरा, कुश्मा र बागलुङ इलाकामा आन्तरिक पर्यटन उद्योगलाई प्रोत्साहन गर्दै देशको अर्थतन्त्रलाई गति दिने दिशामा भएका यी गतिविधिहरूको चर्चा गरिरहँदा मेरो मनमा उठेको एउटा सन्देहलाई पनि प्रबुद्ध मित्रहरूसँग शेयर गर्न चाहन्छु । त्यो सन्देह हो- सेवा लिने वर्गको क्रयशक्तिमा पूर्णतः निर्भर हुनुपर्ने यस्ता आर्थिक गतिविधिहरूको दिगोपनालाई लिएर कत्तिको विश्वस्त हुन सकिन्छ ? यस प्रश्नको सकारात्मक उत्तर आउन गाह्रो छ । अर्काको खल्तीमा भएको र उसको मर्जीबमोजिम खर्चिने पैसामा निर्भर कुनै पनि उद्योग–व्यवसायलाई भरपर्दो मान्न सकिँदैन । कुनै निर्यातयोग्य अथवा देशभित्र पनि आमजनको दैनिक आवश्यकतासँग जोडिएका उत्पादनहरूमा आधारित उद्योग-व्यवसायप्रति जति ढुक्क भएर भर पर्न सकिन्छ, बजारमा मौद्रिक तरलता ठीकठाक रहेका बेलामा मात्र चल्ने व्यवसायमा त्यति ढुक्कसँग भर गर्न सकिँदैन ।

पर्यटन, तीर्थाटन, मनोरञ्जन, आखेटन, गेम्स, स्पोर्टस्, बिलासी सरसामानको उपभोग आदि व्यसनहरूमा खर्च गर्न मानिसहरूका हातमा दैनिक रूपले अत्यावश्यक हुने शीर्षकहरूमा खर्च गरिसकेर पनि पुग्ने मात्रामा पैसा हुनुपर्छ । त्यसो हुन देशका अधिकांश मानिसहरू भरपर्दो र पर्याप्त आमदानी हुने रोजगारीसँग जोडिएको हुनु अनिवार्य हुन्छ, जुन आजको नेपालमा लगभग अनुपलब्ध स्थिति हो भन्दा अत्युक्ति हुँदैन । आज नेपालको मुद्रा बजारमा जुन पैसा चलनचल्तीमा आइरहेको छ, त्यसको ठूलो हिस्सा वैदेशिक रोजगारीमा गएका सबै तहका नेपालीहरूले विप्रेषण गरि पठाएको पैसाले ओगटेको छ ।

खेद र चिन्ताको विषय के पनि भएको छ भने, वैदेशिक रोजगारीमा गएका नेपालीहरूले अर्काको मुलुकमा हड्डी घोटेर कमाएको पैसा अधिकांशतः अनुत्पादक, अनुपयोगी र बेकारका शीर्षकहरूमा खर्च भइरहेको देखिन्छ । देशमा भित्रिइरहेको विप्रेषणको अंकमा जोखिमको हदसम्म ह्रास नआएकाले अहिले झट्ट हेर्दा हाम्रो अर्थतन्त्र ठीकठाक देखिइरहेको मात्र हो । नेपालीहरूलाई उल्लेख्य मात्रामा रोजगारी दिने मुलुकहरूमध्ये एउटामा मात्र पनि कुनै मानव–सिर्जित अथवा प्राकृतिक विपत्ति आइलाग्यो र त्यहाँबाट उल्लेख्य संख्यामा नेपाली कामदारहरू फर्किनुपर्‍यो भने हाम्रो सम्पूर्ण अर्थतन्त्र नै तासको घर भत्किएझैँ तहसनहस हुन सक्छ । त्यसले निम्त्याउने राजनीतिक प्रलयको आयतनको त झन् कल्पनासम्म पनि गर्न सकिँदैन ।

यसो लेखिरहँदा मैले देशका पर्यटन क्षेत्रसँग जोडिएर उद्योग व्यवसाय गरिरहेका उद्यमीहरूलाई हतोत्साह गर्न वा तर्साउन खोजेको भने बिलकुलै होइन । मेरो भनाइ केचाहिँ हो भने, देशमै बसेर केही गरौँ भन्ने उत्साह बोकेका उद्यमीहरूले लकीरको फकीर भएर एउटै क्षेत्रमा हामफाल्नुभएन । लगानीको क्षेत्रमा विविधता नल्याई देशको उद्योगधन्दा फस्टाउन सक्दैन । अहिले रेमिट्यान्सबाट आउने पैसा देखेर त्यसलाई आफूतिर तान्ने होडमा मध्यमवर्गीय नेपालीहरूलाई आकर्षित गर्ने खालका उद्योग– व्यवसायहरूमा हात हाल्नेहरू गलत नै त साबित नहोलान् तर तिनको व्यवसाय जहिले पनि जोखिमको दायरामा रहिरहेको हुन्छ भन्ने कुरा पनि एउटा तीतो यथार्थ नै हो । कथंकदाचित तिनीहरूको व्यवसाय डुब्यो भने तिनका लागि करोडौँ रुपैयाँ लगानी गर्ने बैंकहरू समेत डुब्ने छन् । यदि ठूलो परिमाणमा त्यस्तो दुर्घटना भयो भने त्यसले पूरा देशको अर्थतन्त्रलाई नै डुबाएर छाड्नेछ ।

कुनै पनि देश दाल–चामलदेखि सियो–धागोसम्म आयात गर्ने स्थितिमा पुग्नु भनेको त्यस देशका जनता र तिनका नेता दुवैथरिका लागि गम्भीर र सोचनीय स्थिति हो । साथै, त्यस परिस्थितिले उद्योग-व्यवसाय र त्यसका लागि आवश्यक लगानीलाई लिएर त्यस देशका नीति-निर्माता र शासक-प्रशासकहरूको अल्पदृष्टि वा पूर्ण अन्धोपनाको पोल पनि खोल्छ । हाम्रो देशको अहिलेको हालत भनेको त्यस्तै हो । हाम्रो देश निर्यातयोग्य वस्तुहरूको उत्पादनको सूचकांकमा लगातार कमजोर हुँदै आएको छ, जसले गर्दा हाम्रो सबैभन्दा बढी व्यापार हुने देश भारतसँगको व्यापार घाटा कहालीलाग्दो अवस्थामा पुगेको छ ।

निर्यात कम्ती भएपछि हाम्रो धरातलीय आम्दानी कम्ती हुने नै भयो । अर्काको मुलुकमा गएर गरिने कमाइमा कति दिन भर पर्ने हो भन्ने प्रश्न नै आजको अहं प्रश्न बनेको छ । त्यसैले हाम्रा नीति-निर्माताहरू, व्यावसायिक संगठनहरू, अर्थशास्त्रीहरू र उत्साही उद्यमी-व्यवसायीहरू सबैले आत्ममन्थन गर्दै प्राथमिकताक्रम निर्धारण गरी सकेसम्म विकासका पूर्वाधार केन्द्रित र निर्यातमुखी उद्योग-व्यवसाय संचालनमा ध्यान केन्द्रित गर्नु आवश्यक छ । त्यसपछि आयात कम गर्ने वस्तुमा आधारित उद्योग स्थापना गर्न जोड दिनु पनि त्यत्तिकै जरुरी छ ।

पर्यटन र मनोरञ्जनको क्षेत्र त आफ्नै हो, छँदै छ नि ! देशभित्र नै उत्पादन बढेर प्रशस्त आमदानी हुनथाल्यो, जनतासँग धक फुकाएर खर्च गर्ने धन भयो भने आन्तरिक पर्यटनको क्षेत्र पनि स्वतः फस्टाइहाल्छ, सबैलाई चेतना भया !

(आईएनएसडटन्युजबाट)