डिभिजन ‘ए’मा बुद्ध क्रिकेट क्लब विजयी

डिभिजन ‘ए’मा बुद्ध क्रिकेट क्लब विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन ३०, २०७८

नेपाल टेलिकम रूपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन ‘ए’अन्तर्गत सोमबार भएको खेलमा बुटवल- ११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जीत निकालेको छ । 

रूपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल- ११ ले निर्धारित ५० ओभरको खेलमध्ये २० दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो । यसका लागि सार्वाधिक अमित श्रेष्ठले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वलिङतर्फ बुद्धका विपीन खत्रीले ५, अमित अग्रहरीले ४ र सुभास भण्डारीले १ विकेट लिए ।

५४ रनको लक्ष्य पाएको बुद्धले जबाफी ब्याटिङमा ८ दशमलब ४ ओभरमै लक्ष्य पार गर्दै जीत निकाल्यो । झिनो लक्ष्य पाएको बुद्धले ३ विकेटको क्षतिमा सहजै जीत निकालेको हो । जीतका लागि सुरज पौडेलले १७, अजय त्रिपाठीले ११ र विपीन रावलले ९ रन बनाए  । बलिङतर्फ इसान पाण्डे एक्लैले ३ विकेट लिए पनि टिमले जीत निकाल्न सकेन । 

सोमबारको खेलमा विपीन खत्री म्यान अफ द म्याच बने । डिभिजन ‘ए’अन्तर्गतको मंगलबारको खेल न्यु होराइजन क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच हुने संघका सचिव संजय गुरुङले जानकारी दिए । 

नेपालकै एक मात्र सुपर लिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हुँदै आएको छ । जिल्लाभित्रका २० टिममध्ये १२ टिमबीच लिगमा प्रतिस्पर्धा गराइँदै छ । लिगमा टप हुने ४ टिमबीच ५ चैतदेखि सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५/५ हजार रुपैयाँ प्रदान गरिने संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्रीले बताए । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार २०० रुपैयाँ प्रदान गरिँदै आएको छ ।