रुपन्देही सुपर लिग: बुद्ध क्रिकेट क्लब ७ विकेटले विजयी

रुपन्देही सुपर लिग: बुद्ध क्रिकेट क्लब ७ विकेटले विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन ३०, २०७८

रुपन्देही ।  भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत  डिभिजन ‘ए’ को सोमबारको खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल–११ क्रिकेट क्लबमाथि ७ विकेटको जित हात पारेको छ ।

टस जितेर व्याटिङ गरेको बुटवल–११ निर्धारित ५० ओभरको खेलमा २०.४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बुद्धका विपीन खत्रीले ८.४ ओभर बलिङ गर्दै दुई मोर्डन राख्दै २४ रन खर्चेर ५ विकेट लिए ।

यस्तै, अमित अग्रहरीले तीन ओभर बलिङ गर्दै १५ रन खर्चेर चार विकेट लिए । बुटवल–११ का लागि अमित श्रेष्ठले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

जवाफी ब्याटिङ गरेको बुद्धले ८.४ ओभरमा तीन विकेटको नोक्सानीमा ५७ रन बनाउँदै जित निकाल्यो । उसका लागि सुरज पौडेलले १७ र अजय त्रिपाठीले ११ रन बनाए । बलिङमा बुटवल–११ का इशान पाण्डेले तीन विकेट लिए । बुद्धका विपिन खत्री म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

मंगलबार न्यु होराइजन क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

१२ चैतसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयमान खेलाडीलाई पाँच हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।