प्रधानमन्त्री देउवा र एमाले नेता रावलबीच जुहारी : दिमाग खुस्केको’ कसको हो ?

प्रधानमन्त्री देउवा र एमाले नेता रावलबीच जुहारी : दिमाग खुस्केको’  कसको हो ?

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३०, २०७८

काठमाडौँ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता भीम रावलबीच जुहारी चलेको छ । 

जुहारी यति उत्कर्षमा पुगेको छ की दुवैले एक अर्कालाई ‘दिमाग खुस्केको’ आरोप लगाएका छन् । 

एमसीसीलाई राष्ट्रघाती सम्झौता बताउँदै आएका रावलले यसअघि प्रधानमन्त्री देउवाले विदेशीको दबाब र इशारामा एमसीसी पास गरेको आरोप लगाउँदै आएका थिए

सोमबार किस्पाङ र तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गर्न नुवाकोट पुगेका देउवाले त्यहींबाट रावललाई जवाफ दिएका हुन् । 

‘भीम रावल रक्षामन्त्री भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषद्बाट पारित भई संसदमा ल्याएको, अहिले विरोध गरेर दुई जिब्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको । त्यसबेला दिमाग खुस्केको थियो,’ प्रधानमन्त्री देउवा एमाले नेता रावल माथि खनिएका थिए । 

मिडियामा प्रधानमन्त्री देउवाको उक्त भनाई आउने वित्तिकै नेता रावलले सोमबार नै सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई जवाफ दिएका थिए । 

‘म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ, प्रधानमन्त्री ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘अतः मेरो मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहेन । यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठ बोल्ने प्रधानमन्त्रीको यात त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देश हित विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’

प्रधानमन्त्री देउवाले नुवाकोटमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसीसीका सम्बन्धमा ‘किन रावललाई मात्र टाउको दुख्छ ?’ भनि प्रश्न गरेका थिए । 

रावलले ट्वीटर मार्फत प्रधानमन्त्रीलाई उक्त प्रश्नको जवाफ फर्काएका छन्, ‘नेपालको संविधान, देश र जनतासामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देश घाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जन आवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देश घात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो ।’ 

एमाले नेता रावलले एमसीसीको विषयमा थप छलफल गर्न प्रधानमन्त्री देउवाले चाहेमा आफू तयार रहेको समेत बताएका छन् । उनले प्रधानमन्त्री भएर तुच्छ शब्दको प्रयोग नगर्न पनि चेतावनी दिएका छन् । उनले पदीय मर्यादा जोगाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।